अलि पहिलेका नेपाली फिल्मले काठमाडौं देखाउनुपर्यो भने धरहरा, पशुपतिनाथ, स्वयम्भू र रत्नपार्क देखाउँथ्यो। अरु नदेखाए पनि रत्नपार्कचाहिँ अधिकांश फिल्ममा देखिन्थे। काठमाडौंको बिम्ब भनेकै रत्नपार्क हुन्थ्यो। उपत्यकाभरबाट आएका सवारी साधन मिसिने र बाँडिने रत्नपार्कमा फिल्मले गाउँबाट आएको पात्रलाई ओराल्थ्यो। र, उसको काठमाडौंका संघर्ष सुरु गराउँथ्यो।
फिल्मको पात्रजस्तै अनेक पात्रहरुको गन्तव्यको आउ–जाउ गर्ने केन्द्र मात्र होइन, रत्नपार्क कथै–कथाको केन्द्र पनि हो। यात्रु त छँदैछ, रत्नपार्क धेरैका लागि गुजाराको थलो हो। धेरैका लागि सस्तो बजार हो। अझ, रत्नपार्कभित्रको बगैंचालाई व्यवस्तित बनाएपछि धेरै प्रेमील जोडीका लागि ‘डेटिङ स्पट’ पनि हो रत्नपार्क।
यात्रा हुने भएपछि गति हुने भइहाल्यो। रत्नपार्कमा सवारी साधन मात्र होइन, अनेक पात्रहरु गतिशील भइरहन्छन्। किनबेच, आउजाउको दृश्य त धेरैले देखिराखेकै हो। साँझ–बिहान भने त्यहाँ एउटा दृश्य देखिन्छ, जुन धेरैले याद नगरेका हुनसक्छन्।
त्यो हो, मजदुर मण्डी।
बिहान ७ बजेपछि रत्नपार्कको शान्ति बाटिकाको पश्चिमपट्टि आकाशे पुल छेउमा करिब ३–४ सय मजदुर जम्मा हुन्छन्। गफिँदै, जिस्कँदै, ठेकेदार पर्खंदै गरेको अवस्थामा। झुपडीमा बस्ने उनीहरु महल बनाउँछन्। झुपडीमा बसिरहेका आफ्नो परिवारको गुजारा टार्न उनीहरु यसरी भेला हुन्छन्। पर्खिरहेका उनीहरुलाई लिन ठेकेदार आउँछन् र आवश्यक परेजति मजदुर लिएर जान्छन्।
कोही रङ लगाउने, कोही मसला मोल्ने, कोही इँट्टा बोक्ने त कोही मार्बल पुछ्ने, उनीहरुले गर्ने काम यस्तै ह्न्। उनीहरुले जानेको पनि यत्ती हो। व्यवसाय गर्न साहुले ऋण् पत्याउँदैनन्। जागिर खाउँ, पढाइ छैन। गफिँदै, जिस्किँदै गरेका उनीहरुलाई देख्दा लाग्छ, उनीहरुसँग केही गुनासो छैन।
‘सधैं काम पाइयो भने त अधिकृतले भन्दा राम्रो कमाउँछौं नि सर,’ आफूलाई हेल्पर बताउने वीरगञ्जका रामशरण रजतले भने, ‘दिनको एक हजार कमाउँछु। अधिकृतको तलब पनि त्यही तीस हजार त हुन्छ रे नि हैन?’
तर, उनी सधैं अधिकृतको बराबरीमा कमाउन सक्दैनन्। कारण, सधैं काम पाइँदैन। ‘सिजनमा कामको मारामार, बेसिजनमा सुख्खाराम,’ अर्का मजदुरले थपे।
मजदुरले दिनको एक हजार मात्र कमाए पनि मिस्त्रीको भने २५ सयसम्म दैनिक कमाइ हुन्छ।
एकातिर उनीहरुलाई कामको अभाव छ, अर्कातिर मिस्त्रीहरुको पनि अभाव रहेको उनीहरुले बताए। ‘सिपालु मिस्त्री विदेश गएपछि अलि जान्ने लेबरले नै मिस्त्रीको काम गर्छन्। लेबर गरिरहेको मजदुरले एकैचोटी मिस्त्रीको काम गर्नुपर्दा काम बिग्रिँदो रहेछ। ठेकेदारले यसैलाई बहाना बनँएर समयमा पैसा नदिँदा उनीहरुलाई गुजारा चलाउन मुस्किल पर्छ।
मजदुर मण्डीमा अधिकांश निर्माण मजदुर भेटिन्छन्। जसमा २५ वर्षका देखि ६५ वर्षसम्मका हुन्छन्। महिला पनि भेटिन्छन् त्यहाँ।
तीमध्ये एक हुन्, सीता अधिकारी। सहकर्मीहरुले मायाले बोलाउने नाम, सीता दिदी।
[caption id="attachment_102534" align="alignnone" width="826"]
सीता अधिकारी।[/caption]
६० वर्षीया सीता दिदीले मजदुरी गर्न थालेको ३२ वर्ष भयो। सुरुमा ज्यामी कामबाट मजदुरी सुरु गरेकी उनी अहिले मार्बल घोट्ने काम गर्छिन्। सुरुवाती दिनमा बीस रुपैयाँबाट थालेकी उनी अहिले काम हेरी ८ सयदेखि १३ सय रुपैयाँसम्म पारिश्रमिक थाप्छिन्।
उनका श्रीमान गाडी चलाउँछन्। तर, कमाइजति रक्सीमै खर्चिने भएकाले परिवार चलाउने जिम्मा उनैको काँधमा छ। जेठा छोरा पनि गाडी चलाउँछन्, कान्छा छोरा भने उनैसँग मजदुरी गर्न हिँड्ने उनले जानकारी दिइन्।
‘गर्न सके त कामको अभाव हुँदैन,’ उनी भन्छिन्, ‘यत्तिका वर्षदेखि चिनेका दिदी–बहिनी दाजु–भाइहरु छन्, एउटा न एउटाले त बोलाइहाल्छ।’
पहिलेदेखि नै वचत गर्ने बानी भएकाले उनले १४–१५ वर्षअघि मजदुरीकै कमाइले आफ्नै गाउँमा घडेरी पनि किनेको बताइन्। सबैथोक राम्रै चल्द थियो। एकदिन सीतालाई नराम्रो झट्का लाग्यो। जेठा छोराले गाडी किनेका थिए। तर, घाटा लागेछ। २३ लाख ऋण तिर्ने जिम्मा सीताकै भागमा प¥यो। त्यसपछि उनले १४ लाखमा त्यो जग्गा बेचिन्।
अहिले उनलाई ठूला ठेकेदारहरुले काठमाडौं बाहिरका काममा समेत लैजान्छन्। बाहिर जाँदा खाना–खानासमेत दिई दैनिक १३ सय ज्याला दिँदा रहेछन्। ‘भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुपर्छ, भाग्यमा विश्वास गरेको भए म आज पनि अरुकै भरमा बाँचिरहेको हुन्थेँ,’ सीता भन्छिन्।
सीताजस्तै अर्का पात्र हुन्, मकवानपुरका श्यामकुमार बानियाँ।
[caption id="attachment_102535" align="alignnone" width="826"]
श्यामकुमार बानियाँ।[/caption]
तीस वर्षीय उनी १७ वर्षको छँदा आमाले धर्ती छोडिन्। आमा बितेसँगै आठ कक्षा पढ्दै गरेका श्यामको पढाइमा पनि ठेस लाग्यो। त्यसपछि काम खोज्दै राजधानी आइपुगे। सुरुमा उनले एउटा स्कुलमा पियनको काम गरेछन््। सात वर्ष अरुको काम गरेपछि उनलाई आफ्नै व्यवसाय गर्ने रहर जाग्यो। त्यसपछि हरिसिद्धीमा सानो ¥याकमा पसल राखे। विदेश बस्ने दाजु र उनी मिलेर चितवनको पिठुवामा सात लाख रुपैयाँको जग्गा किने। त्यतिखेरै कसैले भनेछ, युनिटी नेवर्किङमा लगानी गरे राम्रो फाइदा हुन्छ। उनले त्यसै गरे। युनिटीले उनको दुई लाख डुबाइदियो। दुई लाख घाटा लागेपछि उनको पसल पनि डुब्यो। र, उनी आइपुगे मजदुर मण्डी।
उनी यहाँ यसरी बस्न थालेको दुई वर्ष भयो। ‘यो काम पनि छोड्दैछु,’ उनले भने, ‘अब फेरि आफ्नै काम गर्छु। गाउँ फर्किन्छु र बाख्रापालन र खेतिपाती गर्छु।’
श्यामका जस्तै अनेक कथा छन्, यहाँका मजदुरका। सिजनका बेला दिनहुँ काम पाए पनि सिजन नहुँदा हातखाली बस्नुपर्ने उनीहरुको गुनासो छ।
‘तर, यहाँ पनि विभेद छ,’ श्यामले सुनाए, ‘साना ठेकेदारको काम गर्ने मजदुरलाई मात्र हो, कामको समस्या हुने। ठूला ठेकेदारकोमा काम गर्नेले दिनहुँ काम पाउँछ। तर, पैसाचाहिँ तिनीहरुले थोरै दिन्छन्। ठूला ठेकेदार झन् ठग हुन्छन्।’
श्यामका भनाइमा साना ठेकेदारसँग काम गर्दा भन्दा ठूला ठेकेदारसँग काम गर्दा ज्याला थोरै पाइन्छ। तर, नियमित काम हुने हुँदा थोरै ज्याला भए पनि मजदुरहरु ठूला ठेकेदार नै ताक्छन्।
साना हुन्, या ठूला कतिपय ठेकेदारहरु मजदुरको पारिश्रमिक नदिई बेपत्ता हुँदा रहेछन्। नियमअनुसार काम गरेको दिन नै पारिश्रमिक दिनुपर्ने भए पनि कतिपय ठेकेदार ‘एकमुस्ठ’ दिउँला’ भन्दै काम सकिएपछि सम्पर्कबिहिन भइदिने श्यामले बताए।
‘हामी ठेकेदारलाई पनि त अप्ठ्यारो होला भन्दै १०÷१२ दिनसम्म एक पैसा पनि लिँदैनौं,’ उनले भने, ‘तर, उनीहरु भागिदिन्छन्।’
तर पनि केही मजदुरहरु ठेकेदारसँग केही गुनासो गर्दैनन्। बरु उल्टै भन्छन्, ‘व्यवहारले हामीलाई जस्तै ठग्यो होला, भाग्यो विचरा!’
सबै तस्बिरहरुः नारायण महर्जन/सेतोपाटी