‘आमा, म ट्रेकिङ जान्छु है?’
‘कहाँ?
‘अन्नपूर्ण सर्किट, २१ दिनको ट्रेक हो।’
आमा एकछिन बोलिनन्, अनि सोधिन्, ‘को–को जाने?’
‘एक जना विदेशी लिएर।’
पूर्व पाँचथरबाट बिहे गरेर रसुवा, बेत्रावती आएकी उनकी आमा हिमाली पदयात्राको जोखिमसँग परिचित थिइन्। जिन्दगीका अनेक कष्ट झेलेर मजबुत भएकी थिइन्। र, सधैं चाहन्थिन्, छोरी पनि त्यस्तै मजबुत होस्।
एकछिन सोचमग्न भइन्।
‘जा,’ अनुमति दिँदै, हौस्याउँदै भनिन्, ‘लामो यात्रा हो, ख्याल राख्नू।’
हामीकहाँ यसै पनि एक्लै पदयात्रामा निस्कने महिला कम छन्। कोही निस्किहाले यात्राभरि अनेक प्रश्नको उत्तर दिँदै हिँड्नुपर्छ।
ऋतु ग्याम्दान तामाङले भने पदयात्रा होइन, पदयात्रीका गाइड बन्न कम्मर कसेकी थिइन्।
यो दस वर्षअघिको घटना हो।
त्यस दिन विदेशी महिलालाई बाटो देखाउँदै २१ दिन अन्नपूर्ण सर्किट पदयात्रामा निस्केकी ऋतु आज सफल गाइड र पर्यटन व्यवसायी बनेकी छन्। सँगसँगै, यो क्षेत्रकै प्रतिनिधित्व गर्ने संगठनको नेतृत्व तहमा पुगेकी छन्। उनी सोमबार ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) को केन्द्रीय सदस्य निर्वाचित भईन्।
‘काम नपाएर त्यत्तिकै बसिरहेका बेला समय काट्न पदयात्रामा लागेँ, गर्दै जाँदा यसैमा मन बस्यो,’ २६ वर्षीया ऋतुले भनिन्।
यो क्षेत्रमा उनको मन बसेको त्यत्तिकै होइन।
जुन बेला उनी विदेशी पर्यटकलाई हिमाली क्षेत्रका जोखिमपूर्ण बाटा देखाउँदै थिइन्, यो क्षेत्रमा महिला उपस्थिति नगन्य थियो।
‘म थाकेर पछि पर्न चाहिनँ, यसो गर्दा पदयात्रामा काम गर्ने सपना देखेका दिदीबहिनीले बाटो बिराउँथे,’ उनले भनिन्, ‘यही सोचले मलाई कहिल्यै थाक्न दिएन। भोकभोकै दिनरात हिँड्नुपर्दा बरु म एक्लै रुन्थेँ, सुरु गरेको काम बीचमै छाडिनँ। म यो समाजलाई ‘गाइड बन्न खोजेकी केटी हारेर फर्की’ भन्ने मौका दिन चाहन्नथेँ।’
उनले त्यो मौका दिइनन् पनि, बरु पदयात्रामा लाग्न चाहने महिलाको निम्ति प्रेरणा बनिन्।
पर्यटन व्यवसायी शिव लामिछाने महिला गाइडको प्रवेशले यो क्षेत्रकै मुहार फेरिएको बताउँछन्।
‘विदेशी पर्यटकलाई हप्तादेखि महिना दिनसम्म देशका गामठाम घुमाउँदै हिँड्नु चानचुने काम होइन, त्यसमाथि महिलाले गर्नु आफैंमा विशेष हो,’ ऋतुलाई तालिम र सहयोग गरेका लामिछानेले भने, ‘यसले विदेशीहरूमाझ नेपालको पर्यटन क्षेत्र र महिलालाई हेर्ने दृष्टिमै परिवर्तन आएको छ।’
उनका अनुसार पश्चिमी देशबाट आउने पर्यटकले नेपाली समाज र महिलाप्रति छुट्टै धारणा बनाएका हुन्छन्। नेपालजस्तो गरिब एसियाली देशका महिला निर्णय गर्न स्वतन्त्र हुँदैनन्, पारिवारिक–सामाजिक जकडमा बाँधिएका हुन्छन् भन्ने उनीहरूको मान्यता हुन्छ। सामान्यतया यो मान्यता सही पनि हो। धेरै महिला अझै जकडमै छन्– कति परिवारले कोरेको, कति समाजले त कति आफैंले। ती सबैका निम्ति प्रेरणा हुन सक्छिन्, ऋतु र उनीजस्तै महिला गाइड।
‘नेपाली महिला भन्नेबित्तिकै गृहिणीको छवि बनाएर आउने विदेशीले यहाँ पदयात्रामा सघाउने र बाटो देखाउने गाइड नै महिला पाउँदा त्यो सोच बदलेर जान्छन्,’ लामिछानेले भने, ‘यो नेपाली पर्यटन क्षेत्रको निम्ति ठूलो प्लस–प्वाइन्ट हो।’
यो ‘प्लस–प्वाइन्ट’ बनाउन ऋतु र अन्य महिलाको ठूलो मिहिनेत परेको छ।
ठमेलमा डेढ महिनाको निःशुल्क तालिमपछि अन्नपूर्ण सर्किट यात्रामा निस्केकी हुन्, ऋतु। त्यो तालिमले उनलाई पर्यटकसँग कसरी व्यवहार गर्ने, कसरी बोल्ने, हिमाली क्षेत्रको भौगोलिक अवस्था, पदयात्रामा पर्यटकलाई दिनुपर्ने सेवा लगायत ज्ञान दियो, तर पदयात्रा भनेको बन्दकोठाभित्र सिकिने विषय होइन। कठिन भूगोलमा लडिबुडी नखेलेसम्म मान्छे गाइड बन्दैन, जसरी एकचोटि नपछारिई साइकल सिकिँदैन।
‘त्यो मेरो लागि चुनौतीपूर्ण यात्रा थियो, तालिममा सिकेको कुरा म व्यवहारमा उतार्दै थिएँ,’ उनले भनिन्, ‘सोचेजस्तो हुन्न रैछ, न खानाको ठेगान, न बासको।’
उनी जति हौसिएर यो क्षेत्रमा लागिन्, त्यति नै छिट्टै दिक्क पनि भइन्।
‘म पहिलो ट्रेकमै रोएँ,’ भनिन्, ‘थाहा पाएको कुरामा पनि तयारी नपुगेर साह्रै दुःख पाएँ। चक्लेट बोकेर हिँड्नुपर्छ भन्ने थाहा थियो, तर बोकिएनछ। भोकभोकै बस्नुपर्यो।’
पदयात्राको उत्कर्ष याममा सितिमिति कोठा नपाइने र पर्यटकसँग एउटै कोठामा सुत्नुपर्ने बाध्यताले उनको सकस बढाउँथ्यो। केटैकेटाको भीडमा थोरै महिला गाइड हुनुले पनि उनको आत्मविश्वास बेलाबेला डगमगाउँथ्यो।
उनले आफूलाई कमजोर भने हुन दिइनन्।
यो क्षेत्रमा महिलाले भर्खरै पाइला चाल्दै गरेका बेला आफू बीचैमा आत्तिएर ‘गलत नजिर नबसाल्ने’ उनले अठोट गरिन्।
नतिजा, सबैसामु छ।
‘विदेशीले जस्तोसुकै प्रश्न सोध्न सक्छन्, उत्तर दिन तयार भएर बस्नुपर्छ। कति उत्तर आउँदैन भने मिलाएर बोल्न सक्नुपर्छ,’ यो क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई सुझाव दिँदै ऋतुले भनिन्।
‘हामीले पर्यटकलाई दिने मुख्य सेवा भनेकै उनीहरूले सोधेका प्रश्नको सही जवाफ हो।’
उनी जति–जति अभ्यस्त हुँदै गइन्, दिनरात घुमी हिँड्ने यो काममा उति रमाउँदै गइन्। आत्मविश्वासले जरा हाल्यो। गाइडका रूपमा ऋतुको कद हलक्कै बढ्यो।
पहिलो पदयात्रामा टुटेफुटे अंग्रेजी बोलेर काम चलाएकी ऋतु विदेशी लवजअनुसारै अंग्रेजीमा कुरा गर्छिन्। आफ्नो फरासिलो स्वभाव पर्यटकले मन पराउने उनको अनुभव छ।
‘पर्यटन यस्तो क्षेत्र हो, जहाँ फरासिला मान्छे लामो समय टिक्छन्,’ उनले भनिन्, ‘संसार जानेबुझेका विदेशीको संगत र आफ्नै गामठाम डुलेर फरक–फरक संस्कृतिबारे जान्न पाउँदा मान्छेको सोच नै फराकिलो हुँदो रहेछ। म आफैं पनि एकदमै सकारात्मक भएकी छु।’
‘हामीकहाँ धेरै केटी यस्ता छन्, जो समाजले कोरेको सीमाभित्र खुम्चिएर बसेका छन्। आफूलाई यसरी जति बाँध्यो, आत्मबल उति खिइँदै जान्छ। म त्यो सीमामा बसिनँ। आफूले चाहेको काम गरेँ र चाहेको जिन्दगी बाँचिरहेकी छु। यो स्वतन्त्रता र आत्मबल मलाई मेरो पेसाले दिएको हो,’ ऋतुले भनिन्।
यो पेसामा लागेपछि कतिपय अवस्थामा ‘नो’ भन्न गाह्रो पर्ने उनको अनुभव छ।
‘गेस्ट (पाहुना) लाई खुसी पार्न कहिलेकाहीँ उनीहरूसँगै बसेर रक्सी पिइदिनुपर्छ। तपाईंको इच्छा नहोला, तर बाध्यतामा गर्नैपर्छ। कोही डिस्को जाउँ भन्छ, लिएर जानैपर्छ। उनीहरू आफ्नो जीवनशैली जबर्जस्ती लाद्न खोज्छन्, कतिपय बेला मन मारेर पनि ‘यस’ भन्नुपर्छ,’ रितुले भनिन्।
यति हुँदाहुँदै प्रत्येकले आफ्नो सीमा आफैं तय गर्नुपर्ने उनको बुझाइ छ।
उनको विचारमा महिला गाइडको निम्ति सुरक्षा सबभन्दा ठूलो सरोकार हो। पर्यटकसँग व्यवहार गर्दा आफ्नो सुरक्षामा सम्झौता गर्न नहुने उनी बताउँछिन्।
‘रंग गोरो र कालोले केही फरक पर्दैन। प्रत्येक मान्छेको स्वभाव फरक हुन्छ,’ उनले भनिन्, ‘सबैको दिमाग र हाउभाउ बुझेर आफ्नो सुरक्षा आफैं खोज्नुपर्छ।’
ऋतुले गाइडका रूपमा करिब ६ वर्ष काम गरेपछि ठमेलमै ‘नेपाल फिमेल गाइड कम्पनी’ खोलेकी छन्। त्यो कम्पनी खोलेको तीन वर्ष बितिसक्यो। आफ्नो कम्पनीमा उनी महिला गाइडलाई नै प्राथमिकता दिन्छिन्।
महिला पर्यटक र महिला गाइड भए यात्रा सहज हुने उनको बुझाइ छ। त्यसो भन्दैमा पुरुषलाई घुमाउन उनी अप्ठ्यारो मान्दिनन्।
दुई जना विदेशी पुरुषको गाइड भएर अन्नपूर्ण आधारशिविर जाँदाको अनुभव सुनाउँदै उनले भनिन्, ‘एक जना बुवाको उमेरका थिए, मलाई छोरीजस्तै व्यवहार गरे। अर्को भर्खरका केटा थिए, मलाई साथीजस्तै ठाने। उनीहरू दुवैसँग काम गर्दा राम्रो ‘फिल’ भयो,’ भनिन्, ‘महिला गाइड भए पनि उनीहरूले असहज मानेनन्।’
अचेल विदेशी पर्यटकको रोजाइमा पुरुषभन्दा महिला गाइड नै बढी पर्ने उनको अनुभव छ।
‘यसको कारण छ,’ उनले भनिन्, ‘महिलाहरू स्वभावैले धेरै जिम्मेवार, संवेदनशील, दयालु र सहयोगी हुन्छन्। नयाँ ठाउँमा लामो र जोखिमपूर्ण यात्रा गर्दा विदेशीहरू यस्तै सहयात्री खोज्छन्।’
पर्यटन व्यवसायमा काम गर्दा गर्दै स्नातकसम्म पढेकी रितुलाई धेरै पढ्न नसकेकोमा भने कहिलेकाहीँ पछुतो हुन्छ। देश घुमेर जति सिकिन्, त्यो किताबी पढाइभन्दा धेरै ठूलो हो भन्ने पनि उनले बुझेकी छन्। र, यसमा उनी गर्व गर्छिन्।
दसवर्षे यात्रामा ३० भन्दा बढी जिल्ला पुगिसकेकी ऋतु भन्छिन्, ‘यो पेसाबाट मैले के पाएँ, के गुमाएँ तौलन चाहन्नँ। सबभन्दा ठूलो कुरा स्वतन्त्रता पाएँ। म स्वतन्त्र महिला हुँ, मलाई यसैमा खुसी छ।’
https://youtu.be/gd_A_A-KFIw
सबै तस्बिरहरू:नारायण महर्जन /सेतोपाटी