स्विट्जरल्यान्डका पूर्व टेनिस खेलाडी हेन्ज गनथार्ड भन्थे, ‘उनी ५० वर्षसम्म टेनिस खेल्न सक्छिन्।’
उनले ३७ मै छाडिन्।
संसारभर उनका प्रशंसकको आसा यसैमा अल्झिएको छ, मार्टिना हिंगिस यसपटक पनि कोर्टमा फर्किऊन्, पहिले दुईचोटिजस्तै।
स्विट्जरल्यान्डकी मार्टिनाले शनिबार सिंगापुरमा भएको प्रतियोगितापछि तेस्रोपटक संन्यास घोषणा गरेकी छन्। यसअघि उनले दुईपटक घोषणा गरे पनि त्यसलाई विश्रामका रूपमा लिएर पुनः फर्केकी थिइन्।
‘म आफ्नो करिअरको उत्कर्षमै थामिन चाहन्छु, न कि ओरालो झरेका बेला,’ शनिबार अन्तिम प्रतियोगितापछि मार्टिनाले भनिन्।
यसअघि दुईचोटि संन्यास लिँदा उनको करिअर धर्मराउँदो थियो। सन् २००३ मा २२ वर्ष छँदै उनी थामिन चाहन्थिन्। त्यतिबेला भर्खरै उनको कुर्कुचा भाँचिएको थियो। उनी त्यसैको पीडामा थिइन्। १६ वर्ष उमेरमै एकल ग्रान्ड स्लाम जितेकी उनले यो उपाधि फेरि नजितेको चार वर्ष नाघिसकेको थियो।
करिअर ‘ओरालो झरेको बेला’ कोर्टबाट विदा लिन उनको स्वभावले दिएन।
उनी २००५ मा कोर्ट फर्किइन्।
सुरुआतमै हार व्यहोरेकी मार्टिनाको ‘कमब्याक’ सुखद हुने आस धेरैलाई थिएन। तै उनले आफ्नो दम देखाउन छाडिनन्।
एक वर्षमा थुप्रै खेल खेलिन्। थुप्रै जितिन्। उनको लोकप्रियता फेरि चुलियो। उनी एकलतर्फ संसारकै छैठौं उत्कृष्ट खेलाडी भइन्।
[caption id="attachment_102194" align="alignnone" width="826"]
मार्टिना। तस्बिरः ट्यामी कोलिन्स डटकम[/caption]
यही उत्कर्षबीच २००७ नोभेम्बरमा मार्टिनाले दोस्रोपटक संन्यास लिन खोजिन्।
त्यहीबेला उनको शरीरमा कोकिनको मात्रा फेला पर्यो। उनी दुई वर्ष प्रतिबन्धित भइन्।
उनको स्वभावअनुसार यो पनि संन्यास निम्ति उपयुक्त समय थिएन।
२०१३ मध्यमा मार्टिनाको अप्रत्याशित ‘कमब्याक’ भयो, जुन उनको उचाइ सुहाउँदो थिएन। त्यतिबेला उनका समकालीन खेलाडी ठूल्ठूला एकल प्रतियोगितामा भिड्न थालेका थिए। उनी भने युगल (डबल) मा छिर्दै थिइन्।
कुनै समय ‘इन्टरनेसनल टेनिस हल अफ फेम’ पहिचान बनाएकी मार्टिना टेनिस दुनियाँकी ‘स्टार’ त थिइन्, सुपरस्टार थिइनन्। यस्तोमा युगल खेलले उनको 'सुपरस्टारडम' फर्काउने आसा धेरैलाई थिएन। टेनिसमा युगल खेलले खासै प्राथमिकता पाउँदैन। यो थोरै दर्शकमाझ खेलिन्छ। मूलधारका टेलिभिजन च्यानल युगल खेललाई वास्तै गर्दैनन्।
मार्टिनाले भने यति सानो दायराको खेलमै आफ्नो वर्चश्व कायम गर्न सफल भइन्। त्यसयता उनले २० वटा युगल ग्रान्ड स्लाम उपाधि जितिन्।
[caption id="attachment_102193" align="alignnone" width="826"]
मार्टिना। तस्बिरः गेट्टी इमेजेज[/caption]
‘मलाई लाग्छ, एकल खेलमा भन्दा म युगलमै पोख्त थिएँ,’ मार्टिना भन्छिन्।
एकलतर्फ मार्टिनाको करिअर सानै उमेरमा सुरु भएको थियो। १४ वर्ष उमेरमा त उनी ज्युरिक ओपनमा सहभागी भएर व्यावसायिक खेलाडीको दर्जामा पुगिसकेकी थिइन्।
‘चेसमा जुन स्थान युवा खेलाडी बबी फिसरको थियो, टेनिसमा मार्टिनाको उचाइ त्यस्तै थियो,’ मार्टिना व्यावसायिक खेलाडी हुनुअघि स्विट्जरल्यान्डकी राष्ट्रिय महिला प्रशिक्षक रोय सोग्रिनले भने।
उनले १५ वर्ष उमेरमा हेलेना सुकोभासँग साझेदारी गरी विम्बल्डन महिला युगल जितेकी थिइन्। यति कम उमेरमा ग्रान्ड स्लाम जित्ने उनी पहिलो खेलाडी हुन्। त्यसपछि १६ वर्ष उमेरमा जब उनले अस्ट्रेलियन ओपन जितिन्, उनी एकलतर्फको खेल जितेर पहिलो वरियतामा पुग्ने बीसौं शताब्दीकै सबभन्दा कम उमेरकी खेलाडी बनिन्।
मार्टिनाले पहिलोपटक खेल जीवनबाट विदा लिने घोषणा नगरुञ्जेल टेनिस जगतमा उनको दबदबा थियो।
उनको खेलजीवन जति चर्चित रह्यो, प्रेमजीवन उति विवादित।
सन् २००१ मा उनी स्पेनी गल्फर सर्जियो गार्सियासँग सम्बन्धमा रहिन्। यो सम्बन्ध एक वर्ष मुश्किलले टिक्यो। पछि चेक टेनिस खेलाडी राडेक स्टेपानेकसँग प्रेममा परिन्। यो सम्बन्ध पनि २००७ मै टुंगियो।
मार्टिनाको नाम पूर्व टेनिस खेलाडी इभो हिउवर्गर र जुलियन अलोन्सोसँग पनि जोडियो। २०१० मा भने उनले फ्रान्सका २४ वर्षीय थिबाल्ट हटिनसँग बिहे गरिन्। २०१३ मा स्विस पत्रिकालाई दिएको अन्तर्वार्तामा भने उनले थिबाल्टसँग छुट्टिसकेको बताएकी थिइन्। त्यसयता उनी खेल व्यवस्थापक स्पानियार्ड डेभिड टोसास रोससँग सम्बन्धमा रहेको बताइएको छ।
[caption id="attachment_102188" align="alignnone" width="825"]
सन् ११९७ मा फोर्ड अस्ट्रेलियन ओपनको महिला फाइनलमा जितेपछि ट्रफि उचाल्दै मार्टिना। तस्बिरः गेट्टी इमेजेज[/caption]
मार्टिनासँग खेल्ने कौशल मात्र थिएन, छुट्टै ‘स्टाइल’ पनि थियो।
उनले आफ्नो स्टाइल १९९७ मा लिन्ड्से डेभेनपोर्टसँगको खेलमा देखाएकी थिइन्। न्यूयोर्कको म्यानहटनमा उक्त खेल सुरु हुनुअघि मार्टिनाले लिन्ड्सेलाई भनेकी थिइन्, ‘तिमी आफू पहिले टुट्न चाहन्छौ या म सम्हालूँ भन्ने चाहन्छौ?’
खेलपछि भने यी दुवै खेलाडी हाँस्दै हाँस्दै कोर्टबाट बाहिरिएका थिए।
१९९९ को खेलमा फ्रान्सेली खेलाडी एमिली मरेस्मोलाई पनि उनले तीखो बचन लाएकी थिइन्। एमिली समलिंगी थिइन्। उनलाई मार्टिनाले भनेकी थिइन्, ‘आधा पुरुष’।
त्यसै वर्ष उनी फ्रेन्च ओपनमा स्टेफी ग्राफसँग पराजित भइन्। उनका समर्थक कोर्टमै रोए। त्यसपछि उनले एकलतर्फ फ्रेन्च ओपन कहिल्यै जितिनन्। एकलतर्फका ग्रान्ड स्लाममा भने तीनचोटि विजयी भइन्।
१९९७, १९९८ र १९९९ मा अस्ट्रेलियन ओपन जितेकी मार्टिना २००१, २००२ र २००३ मा फाइनलसम्म पुगिन्। उनको पहिलो संन्यास घोषणा त्यही बेला भएको थियो।
१९८० सेप्टेम्बर ३० मा चेकोस्लोभाकिया (हाल स्लोभाकिया) मा जन्मेकी मार्टिनाले दुई वर्ष उमेरमा टेनिस खेल्न सुरु गरेकी हुन्।
उनी जन्मेका बेला चेकोस्लोभाकिया मूलकी अमेरिकी टेनिस खेलाडी मार्टिना नवरातिलोवाको चर्चित थिइन्। हिंगिस परिवारले छोरीलाई पनि उनै खेलाडीको नाउँ दियो। छोरी टेनिस खेलाडी नै होस् भन्ने परिवारको चाहना थियो, खासगरी आमाको। उनको यो विश्वास मार्टिनाले १२ वर्ष उमेरमै यथार्थ बनाइदिइन्, फ्रेन्च ओपन टुर्नामेन्ट जितेर। यसमा १८ वर्षसम्मका खेलाडीले भाग लिन्थे।
उनकी आमा मेलानी मोलिटर चेकोस्लोभाकियाका प्रतिष्ठित खेलाडी थिइन्, जो आफ्नी छोरी सबै खेलमा पोख्त भएको हेर्न चाहन्थिन्। मार्टिनालाई पहिलोचोटि टेनिस सिकाउने उनै हुन्। घोडचढी लगायत अन्य खेलकुद गतिविधिमा पनि मार्टिना सक्रिय होऊन् भन्ने उनको चाहना थियो। उनी आफ्नी छोरीको कतिसम्म फिक्री लिन्थिन् भने, कुनै खेलमा सानो घाउ, चोटपटक लागे पनि उनलाई सह्य हुन्थेन।
मार्टिनापछि नयाँ टेनिस स्टार जन्माउन प्रशिक्षक रिचर्ड विलियम्सले निकै प्रयास गरे। आखिरमा उनकै दुई छोरी सेरेना र भेनससँगै अमेरिकी खेलाडीद्वय जेनिफर क्याप्रियाटी र डेभेनपोर्टले मार्टिना युग अन्त्य गरे।
[caption id="attachment_102191" align="alignnone" width="825"]
मार्टिना र उनकी आमा मेलानी। तस्बिरः गेट्टी इमेजेज[/caption]
रिचर्ड आफ्नी छोरीहरूलाई मार्टिनाजस्तै बनाउन चाहन्थे। नयाँ खेलाडी जन्माउन चाहिने अनुभव र दक्षता कम भए पनि उनको प्रतिबद्धता कम थिएन। उनले ढिलै भए पनि आफ्ना दुई छोरीलाई मार्टिनाको टक्करमा पुर्याइछाडे।
यी तीन खेलाडीबीच संयोग के भने, यिनको स्कोर एक अंक मात्र अगाडि–पछाडि रह्यो। मार्टिनाले सिंगल खेल्न छाडे पनि उनी भेनसभन्दा एक अंकले अगाडि थिइन् भने सेरेनाभन्दा एक अंक पछाडि।
विलियम्स दिदी–बहिनीको खेलको ताकत र व्यक्तित्वले मार्टिनालाई युगलतर्फको खेलमै ख्याति पाउनुपर्छ भनी विश्वस्त बनायो।
‘सेरेनाको इच्छाशक्तिलाई कसैले परास्त गर्न सक्दैन,’ मार्टिनाले एकपल्ट भनेकी छन्, ‘सेरेनामा जुन भोक छ, त्यो स्तरसम्म अरू कोही खेलाडी पुग्न सक्दैन।’
मार्टिना पटक–पटक संन्यास घोषणा गरे पनि खेलजीवनमा फर्किरहिन्। हरेकचोटि आफ्नै बूताले नयाँ पहिचान बनाउन सफल भइन्।
दोस्रो संन्यासपछि कोर्टमा फर्किंदा उनलाई धेरैले ‘सानो पोखरीमा ठूलो माछा’ भनेका थिए। मार्टिनाले भने यसबाट आफ्नो अवमूल्यन भएको ठानिनन्। बरु हरेक प्रतियोगितामा कलात्मक खेल प्रदर्शन गरिन्। र, अरूले भनेजस्तै सानो पोखरीमा पौडिने ठूलो माछाको दर्जामा स्थापित भइन्।
दुईपटक संन्यास घोषणा गर्दा उनको करिअर काला बादलले घेरिएको थियो, यसपालि झलमल्ल चम्किएको छ।
डब्लुटिएको महिलातर्फ युगल खेलमा ताइवानकी चाङ युङ–जानसँग साझेदारी गर्दै उनी फाइनलसम्म पुगिन्। र, नम्बर एक स्थानमा पर्न सफल भइन्।
स्वभावअनुसार उनको संन्यासको उपयुक्त समय यही हो।
‘फर्केर हेर्दा आजभन्दा २३ वर्षअघि मैले पहिलोपटक व्यावसायिक टेनिस खेल्न सुरु गरेकी थिएँ भनेर पत्याउन मुश्लिक पर्छ,’ मार्टिनाले आफ्नो फेसबुकमा भनेकी छन्।