सुष्मिता बैंकक गएकी थिइन्, घरकी सानी छाउरी ‘विसी’ ले खाना खाइन।
सुष्मिताका आमाबाबु यताबाट तारन्तार फोनमा भनिरहन्थे, ‘तेरो कुकुरलाई खाना ख्वाउन तैं आइज! हामीले दिएको फिटिक्कै खाँदैन।’
आज खाला, भोलि खाला भन्दा–भन्दै तीन दिन बित्यो।
भिडियो कल गरेर देखाएपछि खाला कि!
सुष्मिताले ‘आइडिया’ फुराइन्। घरमा भिडियो कल गरिन्। विसीलाई नजिकै डाकिन्। मायालु स्वरमा बोलाइन्, ‘विसी ...।’
झोक्राएर एक कुनामा धुम्म बसिरहेकी विसी आफ्नो नाम सुन्नेबित्तिकै जुर्मुराई। पुच्छर हल्लाउँदै कम्प्युटरनजिक आई। डेस्कटपको स्क्रिनमा मुख लगी। र, जिब्रोले स्क्रिन चाट्न थाली, जहाँ सुष्मिता बोलिरहेकी थिइन्।
सुष्मिता मान्छेलाई झैं सम्झाउन थालिन्, ‘विसी! म पर्सि तिमीलाई भेट्न आउँछु। ल, खाना खाऊ त।’
उताबाट सुष्मिता बोलिरहँदा विसी चनाखो भई।
त्यस रात विसीले खाना खाई।
‘कुकुरहरू साह्रै भावनात्मक हुन्छन्,’ सुष्मिता भन्छिन्, ‘जसरी हामी लामो समयदेखि संगतमा रहेको मान्छेसँग छुट्टिँदा दुःखी हुन्छौं, उनीहरू पनि त्यस्तै दुःखी हुन्छन्। आफ्नो स्याहार गर्ने नहुँदा खानै खाँदैनन्। छुट्टिनुपर्दा आँखाभरी आँसु पार्छन्। रुन्छन्। मान्छेजस्तै।’
कुकुरको यो स्वभावसँग परिचित २४ वर्षीया सुष्मिता रञ्जितले चार वर्षदेखि यही पेसा अपनाएकी छन्– कुकुर फकाउने। अर्थात्, कुकुर प्रशिक्षक।
उनी आफूले पालेको मात्र होइन, अरूका कुकुर पनि फकाउन सक्छिन्। ऊ केमा रमाउँछ, के गर्दा खुसी हुन्छ, उसले के गर्न सक्छजस्ता स्वभाव पहिचान गरेर कुकुरलाई काम लगाउन सक्छिन्।
सुष्मिता र प्रवीण बज्राचार्य मिलेर कुकुरलाई तालिम दिने र हेरचाह गर्ने संस्था खोलेका छन्। सानेपा, रिङरोडबाहिर उनीहरूको ‘के नाइन डग्स ट्रेनिङ एन्ड केयर सेन्टर’ छ, जहाँ एकतले घरको छतदेखि आँगनसम्म कुकुरै कुकुर हुन्छन्। ती कुकुरले एक सातादेखि अधिकतम दुई महिनासम्म सुष्मितासँग खेल्न पाउँछन्। तालिम सकिएपछि विदा हुन्छन्।
अघिल्लो साता हामी सुष्मिताको केयर सेन्टर पुगेका थियौं। आँगनमा बारिएको एउटा ठूलो क्षेत्र थियो, जहाँ एउटा कुकुर मात्र थियो। नचिनेका मान्छे देखेर लगातार भुकिरहेको कुकुर सुष्मिता आएको चाल पाउनेबित्तिकै कुइँकुइँ गर्दै चुइँकिन थाल्यो।
सुष्मिताले बारभित्र हात छिराइन्। कुकुर उफ्रियो। हात चाट्यो।
‘भर्खरै दुई दिन भयो, यसलाई यहाँ ल्याएको,’ सुष्मिताले जानकारी गराइन्, ‘अरूसँग घुलमिल हुन पाएको छैन। एकैचोटि मिसाउँदा एकअर्कालाई आक्रमण गर्ने डर हुन्छ, त्यसैले एक्लै छोडेको। केही दिनपछि उसलाई समूहमा घुलमिल गराउनुपर्छ।’
पिँढीमा लहरै राखिएको जालीभित्र दुइटा साना छाउरा थिए। एउटा डरले काम्दै थियो, सुष्मितालाई देख्नेबित्तिकै उसको डर हट्यो।
सुष्मिताले हातभरी रोटीका टुक्रा ल्याइन्। सबै कुकुरलाई एक–एक टुक्रा दिँदै टाउको मुसारिन्। कुकुरसँग अभिवादन गर्ने उनको तरिका हो यो।
छत चढ्ने सिँढीको आडैको खोरभित्र तिनटा कुकुरलाई रोटीका टुक्रा बाँड्दै सुष्मिताले भनिन्, ‘यीचाहिँ सडकमा हुर्किएका कुकुर हुन्। हामीले यिनलाई सडकमा भेटेर ल्याएको।’
सुष्मिता विकासे कुकुरहरूको हेरचाह मात्र गर्दिनन्, सडकमा भेटिएका बेवारिसे छाउराको उद्धार पनि गर्छिन्। दुई–तीन महिना केयर सेन्टरमा राखेर तालिम दिइसकेपछि पाल्न चाहनेलाई पठाइदिन्छिन्।
‘तालिम दिएपछि यी कुकुर पनि विकासे कुकुरजस्तै हुन्छन् त?’
‘शंकै मान्नुपर्दैन,’ सुष्मिताले हाम्रो जिज्ञासा मेटाउने प्रयास गरिन्, ‘सडकमा हुर्किएका र घरमा हुर्किएकामा केही मात्र भिन्नता हुन्छन्। सडकमा हुर्किएका आफ्नो ज्यान आफैं पाल्न सक्छन्। तिनमा जंगलीपना अलि बढी हुन्छ। कारण, उनीहरूले माया पाएका हुँदैनन्। खाना खान लागेको वा बच्चासँग भएका बेला उनीहरू नजिक गयो भने सडकका कुकुर आक्रमण गरिहाल्छन्। घरमा पालेका कुकुर त्यस्ता हुँदैनन्। तर, हामीले माया दिन सक्यौं भने सडकका कुकुर पनि विकासेजस्तै चकचके, मायालु बन्छन्।’
सडकका मात्र होइन, हरेक कुकुरमा जंगली व्यवहार हुने सुष्मिता बताउँछिन्। ‘कुकुरलाई जंगली जनावर ब्वाँसोको प्रजाति मानिन्छ, त्यसैले उसमा जंगली व्यवहार त हुने भइहाल्यो,’ उनी भन्छिन्, ‘त्यो व्यवहार हटाउन सकिन्छ। त्यसका लागि तालिम दिनुपर्छ।’
यसो भन्दै गर्दा सुष्मिता छतमा थिइन्। बार लगाइएको एउटा खोरभित्र ‘नेपोलियन म्यास्टिभ’ जातका दुई कुकुर थिए, जो निकै अल्छी देखिन्थे। जतिखेरै पसारो परिरहने। तर, आफूले चिनेको मान्छे पाउँदा उसको जाँगर छताछुल्ल हुन्छ। लडिबुडी गर्छ। गाला चाट्छ। मात्र चार महिनाका ती कुकुर देख्दा डाँगोभन्दा साना थिएनन्।
छतको खुला ठाउँमा करिब एक दर्जन कुकुर थिए, जसमध्ये अधिकांश साना छाउरा थिए। सुष्मिता छतमा पुग्नेबित्तिकै छाउराहरूले घेरा हाले। सुष्मिताका खुट्टामा पन्जाले टेक्दै उफ्रिएर माथि चढ्न खोजे। सबभन्दा अग्लो डेभिल उफ्रिँदा त टाउको बराबरी पुग्थ्यो।
सुष्मिताले रोटी दिँदै भनिन्, ‘डेभिल, जम्प।’
ऊ उफ्रियो।
आफूले अह्राएको मान्नेबित्तिकै सुष्मिताले उसलाई फेरि अर्को टुक्रा रोटी दिइन्। अरू छाउरा लोभिए। हातको रोटी लुछ्न आए। सुष्मिता उभिइन्। सबैलाई एक एक टुक्रा रोटी दिँदै भनिन्, ‘पर गएर बस्।’
सबै पल्लो कुनातिर गए।
एउटा छाउरो अघिदेखि पल्लो कुनामा एक्लै खेल्दै थियो। सबैलाई रोटी दिएको चाल पाउनेबित्तिकै दौडिएर सुष्मितातिर आयो। टुक्रुक्क बसेर रोटीतिर हेरिरह्यो।
‘यी यसलाई रोटी चाहियो,’ उसलाई पनि रोटी दिँदै पर धपाउँदै उनले भनिन्, ‘खान पाएपछि यसले पनि मान्छ।’
‘के कुकुरहरू मान्छेजस्तै भाषा बुझ्छन्?’
‘बुझ्छ,’ सुष्मिताले डेभिल कुकुरलाई अगाडि बोलाउँदै बुझाइन्, ‘कुकुरहरू आफ्नो पूरै नाम भन्दा पछाडिको अक्षरको साउन्डबाट आफूलाई बोलाएको भन्ने ठान्छ। उनीहरू आफ्नो नामले बोलाएकोमा बढी खुसी हुन्छन्। अझ जसलाई बोलाइएको हो, उसैतिर लक्षित भएर बोलाइयो भने त ऊ बढी खुसी हुन्छ। उसले मान्छेले गाली गरेको पनि बुझ्छ। घुर्की लाएको पनि बुझ्छ।’
‘कुकुरहरू खानका लोभी हुन्छन् हो?’
‘लोभी नै चाहिँ नभनौं, आशाचाहिँ गर्छन्,’ उनले भनिन्, ‘उनीहरूलाई पनि मान्छेलाई जस्तै ‘ट्रिट’ चाहिन्छ। जसरी हामीले बच्चालाई कुनै काम लगाउनुअघि आस देखाउँछौं, उनीहरूलाई पनि मन पर्ने खानेकुरा दिएर आस देखाउनुपर्छ। काम मानेपछि फेरि उसलाई मन पर्ने खानेकुरा दिनुपर्छ। यसो गर्दा उसले के बुझ्छ भने ‘काम मानेँ भने मैले मिठो खान पाउँछु।’
सामान्यतया कुकुरले भुकेन, समयमा खाना खाएन, भनेको मानेन भने उनीकहाँ तालिम दिन ल्याइन्छ। उनी कुकुरको स्वभाव हेरी एक सातादेखि दुई महिनासम्म तालिम दिन्छिन्।
‘मान्छेहरू जातअनुसार कुकुरमा विशिष्ट गुण हुने ठानेर किन्छन्,’ उनी भन्छिन्, ‘सबै कुकुरमा भनिएजस्तो स्वभाव नहुनसक्छ। तर, हरेक कुकुरमा एउटै स्वभाव हुन्छ, त्यो हो ऊ आफूलाई मालिक ठान्छ। हामीले उसलाई ‘मचाहिँ तेरो मालिक हुँ’ भन्ने फिल गराउनुपर्छ। तर, कुकुर मालिकहरू यही कुरामा चुक्छन्। उनीहरू कुकुरमाथि क्रूर शासकजस्तो आफूले भनेको मान्नैपर्ने ठान्छन्। कुकुरलाई ‘म तेरो मालिक हुँ, तैंले मैले भनेको मान्नुपर्छ’ भन्ने बुझाएर हामीले चाहेजस्तो स्वभाव विकास गराउन सक्छौं। त्यसका लागि तालिम चाहिन्छ।’
एउटा कुकुर भुक्दै नभुकेपछि मालिकले उनीकहाँ ल्याएछन्। सातादिन बितिसक्दा पनि नभुकेपछि सुष्मिताले एउटा आइडिया लगाइन्। उसलाई उसिनेको अन्डा सबैभन्दा मनपथ्र्यो। सुष्मिताले उसिनेको अन्डा प्लेटभरी राखिन् र कुकुरलाई पर बाँधिन्। कुकुर अन्डा खान तन्किन्थ्यो, तर सक्दैनथ्यो। बारम्बार नसकेपछि कुकुर भुकिछाड्यो। लगातार भुकेपछि सुष्मिताले उसलाई ‘ट्रिट’ स्वरुप अन्डा दिइन्। त्यसपछि ऊ भुक्न थाल्यो।
‘हामी कुकुरबाट आफूले चाहेजस्तो होस् भन्ने अपेक्षा गर्छौं भने सबैभन्दा पहिले उसलाई के मन पर्छ भनेर बुझ्नुपर्छ,’ उनी भन्छिन्, ‘कुकुरलाई सबैभन्दा बढी केही मन पर्छ भने त्यो खाना हो।’
कुकुर प्रशिक्षकका रूपमा चार वर्ष बिताए पनि कुकुरहरूसँग उनको सम्बन्ध बच्चैदेखिको हो।
उनले संगत गरेको पहिलो कुकुर हो, रुबी। जर्मन सेफर्ड जातको सानो छाउरो। तोते बोल्न थालेको बेला बाबुले उनलाई साथी ल्याइदिएका थिए।
रुबी सुष्मितालाई हैरान पार्थी। सुष्मिता पनि के कम! उनी घरि कुकुरको ढाडमा चढ्दै भन्थिन्, ‘घोडा हट्... घोडा हट्...।’
सानो छाउरो रुबी सुष्मितालाई बोक्न सक्दैनथी। पल्टिन्थी। उल्टै सुष्मितामाथि चढ्थी। गाला चाट्थी। घरि विस्तारै टोक्थी। घरि सुष्मिता रुबीलाई लखेट्थिन्, घरि रुबी सुष्मितालाई लखेट्थी। भाग्दाभाग्दै सुष्मिता लड्थिन्, रुबी उनको लुगा दाँतले टोकेर उठाउँथी।
सुष्मितासँग खेल्नुबाहेक गाडीमा कसैको काखमा बसेर घुम्न रुबीलाई साह्रै रमाइलो लाग्थ्यो। यही सोख सुष्मिता र उसको सम्बन्ध तोडिने कारण बन्यो।
एक साँझ रुबी हराई।
कुकुर हराएको केही दिन सुष्मिताको घरमा सन्नाटा छायो। सुष्मिताले केही दिन खानै छाडिदिइन्। उनका बाबुले सोही जातको अर्को कुकुर ल्याए।
सुष्मितालाई सबै जातका कुकुर मन पर्थे। उनका बाबुले भने हरेकपल्ट जर्मन सेफर्ड मात्र ल्याइरहे। ठूलो भएपछि उनले आफ्नै चाहनाको पहिलो कुकुर पाइन्, पग जातको। विसी, त्यही हो।
यही कुकुरले उनलाई प्रशिक्षक बन्ने बाटो देखाइदियो। उनी त्यसलाई अनेक सिकाउँथिन्। विभिन्न वेबसाइट हेरेर सिक्दै भुक् भन्दा भुक्ने, सुत् भन्दा सुत्ने तालिम दिइन्। त्यसपछि आफ्नो कुकुर लिएर प्रवीण बज्राचार्यकहाँ पुगिन्। उनले कुकुरलाई मात्र तालिम दिएनन्, सुष्मितालाई पनि तालिम कसरी दिने भनी तालिम दिए।
फेसन डिजाइनर बन्न चाहेकी सुष्मिता त्यसपछि कुकुर प्रशिक्षणतर्फ ढल्किइन्। र, यसैलाई करिअर बनाइन्।
‘नेपालमा कुकुर पाल्नेको संख्या बढ्दैछ,’ सुष्मिता भन्छिन्, ‘अधिकांशले कुकुर के हो भन्ने नबुझी पालिरहेका छन्। देखासिकीमा कुकुर पाल्ने बढी छन्। उनीहरू कुकुरबाट थुप्रै अपेक्षा राख्छन्, त्यस्तो नपाएपछि कुकुरलाई बाटोमा फालिदिन्छन्। कुकुरबाट आफूले चाहेअनुसारको काम लिन सकिन्छ, तर त्यसका लागि तालिम दिनुपर्छ।’
बच्चा हुर्काउन जति मेहनत र धैर्य चाहिन्छ, कुकुर पाल्न त्यति नै धैर्य चाहिने उनको भनाइ छ। यति हुँदाहुँदै सुष्मिताको अनुभवले भन्छ, कुकुरसँग मान्छेभन्दा केही विशिष्ट गुण हुन्छन्। बरु मान्छे रिसाउँदा चाँडै माफी दिँदैनन्, कुकुरले चाँडै माफी दिन्छन्। एकछिन अघि कुटेको भए पनि उसलाई बोलायो भने पुच्छर हल्लाउँदै आइहाल्छ। ‘उसले आफूमाथि भएको नराम्रो व्यवहार हत्तपत्त बिर्संदैन, तै पनि माफीचाहिँ चाँडै दिन्छ,’ उनी भन्छिन्, ‘कुकुरको पनि मन दुख्छ।’
बच्चा हुर्काउन सक्ने आँट र धैर्य भए जसले पनि कुकुर पाल्न सक्ने उनको भनाइ छ। कुकुरसँग खेल्ने मानिसको रिस चाँडै शान्त हुने उनले आफ्नो अनुभव सुनाइन्।
‘मेरो ममी मसँग रिसाउनुभयो भने कुकुरसँग खेल्न थाल्नुहुन्छ,’ उनी भन्छिन्, ‘अनि एकछिन पछि भन्नुहुन्छ, तेरो रिस यो कुकुरले खाइदियो। कामको अनेक बोझले तनाव दिएका बेला एकछिन कुकुरसँग बसेँ भने सबै हराउँछ। म बिहान–बेलुका गरी झन्डै तीन घन्टा आफ्नै कुकुरसँग खेल्छु। त्यो समय मेरा लागि ध्यानजस्तो हुन्छ।’