बिर्तामोडको शान्ति सुरक्षाको अवस्था सामान्य भएपछि झापा प्रशासनले ४ दिनदेखि लगाएको कर्फ्यू ५५ घण्टापछि पूर्ण रुपमा हटाएको छ।
गत शुक्रबार दिउँसो १ः३० बजेबाट लागू गरेको बिर्तामोडको कर्फ्यू पूर्ण रुपमा हटाइएको झापाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।
आइतबार बेलुका बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोहिदिनको राति ९ बजेबाट कर्फ्यू सोमबार बिहान ९ बजेसम्मलाई हटाएको थियो। पुनः सोमबार बिहान बैठक बसेर मध्यान्ह १२ बजेसम्मलाई कर्फ्यू हटाइएको थियो।
१२ बजे पश्चात् अर्को निर्णय गरेर दिउँसो ३ बजेसम्मलाई कर्फ्यू हटाइएको थियो। प्रजिअ तिवारीले सेतोपाटीसँग भने कर्फ्यू जारी राख्नुपर्ने अवस्था नभएकाले पूर्ण रुपमा हटाइएको हो।
झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का ११ वर्षिय बालक लक्ष्मण शिवाकोटीको मृत्यु नभई हत्या भएको भन्दै परिवार र सर्वसाधारणले शुक्रबार गरेको प्रदर्शन हिंसात्मक बनेपछि झापा प्रशासनले शुक्रबार १ः३० बजेबाट कर्फ्यू लगाइएको थियो। प्रदर्शनका क्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का नरेश थापाको प्रहरीको गोली लागेर मृत्यु भएको छ। अन्य ८ जना गम्भीर घाइते छन्।
घाइतेको बिर्तामोडको बीएण्डसी अस्पताल र काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेको छ। बिर्तामोडमा उपचार गराइरहेका घाइते खतरामुक्त छन् भने काठमाडौंमा उपचारत घाइतेको अवस्था भने जटिल बन्दै गएको छ।