झापाको विर्तामोडमा लागु भएको निषेधाज्ञा ८० घन्टा पछि आज राति ९ बजेदेखि हट्ने भएको छ। जिल्ला सुरक्षा समितिको वैठक पछि सेतोपाटीसँग कुरा गर्दे झापाका प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले विहान ९ बजे सम्मका लागि निषेधाज्ञा हटाउने निर्णय भएको बताए।
झापाका प्रमुख जिल्ला अधिकारी तिवारीले सर्वसाधरणको आवश्यकतालाई ध्यानमा राखेर सोमबार विहान ९ बजेसम्मका लागि निषेधाज्ञा हटाईने बताए। भोलि विहान ९ वजेपछि विर्तामोड र आसपासको क्षेत्रको सुरक्षा अवस्था हेरेर त्यसपछिको निर्णय स्थानीय प्रसाशनले लिने पनि उनले जानकारी दिए।
गएको शुक्रबार दिउसो साढे १ वजे देखि लागु भएको निषेधाज्ञा ८० घन्टापछि हटाईएको हो । निषेधाज्ञाका कारण विर्तामोड आसपासका कलकारखाना, पसल, विद्यालय, गैह्र सरकारी तथा गैह्र सरकारी कार्यलय ३ दिन देखि ठप्प भएका थिए निषेधाज्ञाको असर विर्तामोड लगायत आसपासका स्थानियबासीका भान्सा कोठा सम्म परेको थियो । स्थानियले दैनिक उपभोग्य वस्तु खरिदका लागि बजार सम्म जान सकेका थिएनन्।
अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा झडप भएपछि तीन दिनदेखि विर्तामोडको शान्तिसुरक्षा भड्किएको थियो। विर्तामोडमा हिंसा भड्किएपछि मुत्तिचौकको पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्ता बजारसम्मको क्षेत्रमा झापा प्रशासनले निषेधाज्ञा घोषणा गरेको थियो।