पाटन, बल्खुटोलका बाबुकाजी महर्जनले श्रीमतीका चोली र थैली सम्हालेर राखेका छन्।
तीन वर्षअघि श्रीमतीको निधनपछि यी दुई चिज नै हुन्, जसले बाबुकाजीलाई उनी आसपासै भएको आभाष दिलाउँछ। उनले यसलाई श्रीमतीको चिनो मानेर आफू सुत्ने ओछ्यानसामु भित्तामा झुन्ड्याएका छन्। जबजब उनका आँखा यसमा दौडन्छन्, श्रीमतीसँग बिताएका प्रत्येक सुखद पल साकार भएर आउँछन्।
‘यस्तो लाग्छ, उनी यहीँ छिन्, मेरो आसपास,’ ७६ वर्षीय बाबुकाजीले भने, ‘म उनले दिएका खुसी सम्झेर खुसी हुन्छु।’
सबभन्दा विशेष त, यी चोली र थैली बाबुकाजीले आफैं बुनेका हुन्। सत्तरी वर्षमा कुरुस चलाउन सिकेका उनले पहिलोपल्ट आफ्ना लागि दौरा–सुरुवाल बुने। त्यसपछि श्रीमतीका लागि यही चोली र थैली।
एउटा फुलबुट्टे झोला पनि छ, जुन उनीहरू दुवै मिलेर बनाएका हुन्।
‘यो झोला मैले आधा र उनले आधा बुनेकी हुन्,’ बाबुकाजीले सम्झे, ‘मलाई सुरुसुरुमा फूलबुट्टा भर्न आउँदैनथ्यो। फूलबुट्टा बनाउन उनैले सिकाइन्। उनलाई त्यो झोला बोकेर हिँड्ने ठूलो रहर थियो। मैले भ्याउँदा–नभ्याउँदै उनी छाडेर टाढा गइन्।’
‘अहिले पनि त्यो झोला हेर्दा उनले काँधमा भिरेर सहर डुलिरहेझैं लाग्छ।’
पाटन दरबारक्षेत्रमा गत साता आयोजित तीनदिने ‘ज्यापू संग्रहालय महोत्सव’ को स्वागतद्वारमा धान, मकै, लसुनका झुत्तादेखि कोदाली, कुटो, हँसियाजस्ता कृषिऔजार, भुस्या, धिमेलगायत नेवारी बाजा झुन्ड्याइएका थिए। त्यहीँ खम्बाको पछिल्लो भागमा दुईतिर झुन्डिएका थिए, बाबुकाजीले बनाएका दौरा–सुरुवाल, चोली–थैली र झोलाहरू।
पाटन दरबार स्क्वायरको ठ्याक्कै पछाडि बल्खु टोलमा बाबुकाजीको घर छ। उनले घरको आडैमा आफूले बनाएका यी सामग्री प्रदर्शनीमा राखेका थिए। यी नौला वस्तु होइनन् न त पुरातात्विक महत्वकै। तै उनका यी सिर्जना हेर्न मान्छेको उरुङ थियो। तिनका प्रश्नको जवाफ दिन बाबुकाजीलाई भ्याइनभ्याइ थियो।
सबैको कौतूहलको कारण हो, उनका यी सामान दूध र बिस्कुटका थोत्रा प्याकेटबाट बुनिएका हुन्।
‘मेरो यो सीप मेरी श्रीमतीकै देन हो,’ उनी भन्छन्, ‘मेरो हातमा उनको कला बसेको छ।’
थापाथलीस्थित प्रसूति गृहमा सहायक ‘स्टोरकिपर’ को जागिरबाट करिब ४० वर्षपछि अवकाश पाएका बाबुकाजीले जानेको त अफिसको काम र खेतीपाती मात्र थियो। आठ वर्षअघिको कुरा हो, बाटोमा हिँड्दै गर्दा एक महिलाले डोरीजस्तो केही तानिरहेको देखेछन्। नजिकै गए। हेरे। ती महिलाले प्लास्टिक तन्काइरहेकी थिइन्। सोध्दा थाहा पाए, त्यो दूधको प्लास्टिक रहेछ।
‘के काम लाग्छ बहिनी यसको?’ उनले सोधे।
‘झोला बुन्न,’ ती महिलाले यत्ति जवाफ के दिएकी थिइन्, उनको दिमाग रिँगिन थालिहाल्यो।
सोच्न थाले, ‘काठमाडौंमा कति लिटर दूध खपत हुन्छ होला? पक्कै पनि हजारौं।’
उनी एक्लै भुतभुताउन थाले, ‘त्यसो भए दिनमा दूधका कति प्याकेट खेर गइरहेका छन् त?’
उनलाई लाग्यो, खेर फालिने ती सबै प्याकेट पुनः प्रयोगमा ल्याउने हो भने सस्तो, भरपर्दो र बलियो सामान मात्र बन्दैन, वातावरण पनि सफा हुन्छ।
उनलाई कुरुस चलाउन आउँदैनथ्यो। श्रीमती भने धागोबाट स्वेटर, टोपीजस्ता लुगा बुन्थिन्। उनले अठोट गरे, ‘म श्रीमतीसँग बुन्न सिक्छु र दूधका प्याकेट खेर जान दिन्न।’
बाबुकाजीले श्रीमतीलाई आफ्नो योजना सुनाए। उनी सकारात्मक भइन्।
सुरुमा त उनले ऊनबाटै कुरुस चलाउन सिके।
‘बुढेसकाल लाग्दै गएपछि मान्छेमा सिक्ने चाहना मर्दै जान्छ भन्छन्, तर म त बच्चाजस्तो जिद्दी हुन थालेँ,’ बाबुकाजी भन्छन्, ‘सुरुमा त मलाई कुरुस चलाउने सियो समात्न पनि आउँथेन। जसरी सानो बच्चालाई उसका आमाबाबुले औंला समात्दै कखरा सिकाउँछन्, श्रीमतीले मेरो औंला समातेर कुरुस चलाउन सिकाइन्।’
‘मैले जिन्दगीभर श्रीमतीभन्दा आफू अब्बल हुँ भन्ने भ्रम पालेँ। मसँग यति अहम् थियो, उनीसँग केही सिक्न जरुरी नै ठान्थिनँ। जब मैले कुरुस चलाउन सिकेँ, आफूलाई बच्चाजस्तो अनुभव गरेँ। श्रीमती निदाइरहँदा बिहान म चिमोटेर ब्युँझाउँथेँ, र सिकाइ माग्थेँ। खाना खाने बेलासमेत म छिटोछिटो खान्थेँ र कुरुस चलाउन थाल्थेँ। यसरी करिब एक सातामै मैले कुरुस चलाउन जानेँ,’ उनले भने।
जब कुरुस चलाउन सिके, उनी आफ्नो उद्देश्यतिर फर्किए।
यसबीच दूधको प्याकेटले झोला बुन्न सकिन्छ भन्ने थाहा पाएदेखि नै उनले घरमा आएका दूधका प्याकेट फाल्न दिएका थिएनन्। छरछिमेकबाट पनि जम्मा गरिरहेका थिए।
उनले दूधको बन्द प्याकेट कैंचीले काटेर खोले। तीनचोटि पट्याए। फेरि टुक्राटुक्रा काटे। ती सबै टुक्राको वल्लो–पल्लो छेउ समात्दै तन्काए, जसरी बालबालिका चकलेटको खोल तान्छन्। तन्काएपछि ती प्लास्टिक डोरीजस्तै लामा भए। तिनलाई जोडेर गुजुल्टो पारेपछि ऊनका जस्तै डल्ला बने।
चार–पाँच डल्ला तयार भएपछि बाबुकाजीले सोचे, पहिले आफ्नो लागि दौरा–सुरुवाल बनाउँछु।
उनले लगाइराखेको दौरा–सुरुवाल फराकिलो ठाउँमा फिँजाए। त्यसको लम्बाइ नापे। र, त्यही आकारमा कुरुस चलाउन थाले। बेला–बेला उनको हात लर्बरिन्थ्यो। चलाउँदा चलाउँदै बिर्सिन्थे। एकछिन टोलाउँथे, कतैबाट भेउ नपाएपछि श्रीमती गुहार्थे। श्रीमती हाँस्दै जिस्क्याउँथिन्, ‘यति सानो कुरा पनि बिर्सेको?’
श्रीमतीले हात समाउँदै सिकाइदिएपछि उनलाई पनि लाग्थ्यो, ‘धत्! यति सानो कुरा बिर्संदा पनि हातै नचल्ने।’
उनले सुरुवाल तयार पारिसकेपछि श्रीमतीलाई देखाए। श्रीमती मुर्छा परेर हाँसिन्। ओल्टाइपल्टाई हेर्दा ठाउँ-ठाउँमा थेग्ला-थेग्ला उठेका रहेछन्।
पहिलो काम भएकाले उनले यसलाई औधि सफलता माने। ‘म पहिले जे काम गरिरहेको थिएँ, मलाई त्यति मात्र आउँछ जस्तो लाग्थ्यो,’ उनले भने, ‘तर, कहिल्यै नसोचेको काम पनि आउँदो रहेछ। जागिरबाट तलब पाउँदा होस् या बाली भित्र्याउँदा, त्योभन्दा बढी खुसी मैले सुरुवाल बुन्न सकेको दिन भएँ। श्रीमती पनि आफूले सिकाएको मान्छेले काम पूरा गरेकोमा खुसी थिइन्।’
त्यसपछि उनले दौरा बुने। त्यो पहिलेभन्दा राम्रो भयो।
दौरा-सुरुवाल बुनिरहँदै उनले सोचेका थिए, ‘म श्रीमतीका लागि पनि केही बुन्छु।’
उनको ध्यान श्रीमतीले लगाइरहेको चोलीमा गयो। उनले चोली मागे। भुइँमा फिँजारे। नाप लिए र बुन्न थाले। बुनिसकेर श्रीमतीलाई दिँदै भने, ‘लाऊ यो मेरो उपहार।’
उनले थैली पनि बुने। त्यो पनि श्रीमतीलाई नै दिए।
पहिले कसले कस्तो लुगा लगाइरहेको छ, कस्तो झोला बोकेको छ, कस्तो गहना लगाएको छ, कोठा कसरी सजाइएको छ ख्याल नगर्ने उनी कुरुस चलाउन थालेपछि सबैतिर मिहिन हेर्न थाले। बाटोमा फोहोरको डुंगुर देख्दासमेत कसरी पुनः प्रयोगमा ल्याउन सकिएला भनेर घोरिन्थे।
पाटनदेखि खुमलटार खेतमा काम गर्न जाने र फुर्सद बेला गफ गरेर बिताउने उनी कुरुस चलाउन जानेपछि चाँडै घर फर्कन थाले। छिमेकतिर डुल्न निस्कँदा पनि कुनै काम लिएर मात्र जान्थे। सबैलाई दूध या बिस्कुटको प्याकेट नफाल्नू, मलाई दिनू भन्थे। कतिले त घरसम्मै ल्याइदिन्थे। कति ठाउँमा उनी आफैं पुग्थे।
किराना पसल चलाउने माधव श्रेष्ठले बिस्कुटका खोल र राम नकर्मीले दूधका प्याकेट नियमित घरमै ल्याइदिने गरेको उनले जानकारी दिए।
[caption id="attachment_100485" align="alignnone" width="1200"]
खेर गएका प्लास्टिक बुन्ने सिप सिकाउँदै बाबुकाजी। तस्बिर सौजन्य: व्यक्तिगत एल्बम[/caption]
‘हामी बूढाबूढी काम पर्दाबाहेक कमै गफ गर्थ्यौं ,’ बाबुकाजीले सम्झे, ‘कुरुस चलाउन थालेपछि म श्रीमतीसँग सल्लाह गर्न थालेँ। मेरो दिमागमा यस्तो उपाय आयो, कसरी काम गर्ने होला भनेर सल्लाह माग्थेँ। उनी सल्लाह दिन्थिन्। उनी एकातिर कुरुस चलाउने, म अर्कातिर दूधको प्याकेट काट्दै, तन्काउँदै सामान बुन्न थाल्ने।’
उनलाई त्यतिबेलासम्म सादा चिज मात्र बुन्न आउँथ्यो। बुट्टा हाल्न जान्थेनन्। श्रीमतीसँग सोध्थे। कहिलेकाहीँ श्रीमतीले बुनेको हेर्थे र त्यस्तै बनाउन प्रयास गर्थे। उनले एकदिन श्रीमतीका लागि बुट्टेदार झोला बुन्न सुरु गरे। झोला बुन्दै गर्दा श्रीमतीले भनेकी थिइन्, ‘म बोक्छु है यो त।’
उनले झोलामा भिर्ने तुना हाल्न भ्याएका थिएनन्। काम नतुरिँदै ७३ वर्षको उमेरमा श्रीमती बितिन्।
उनी नितान्त एक्लो भए। उदास। बेचैन। व्यग्र।
‘श्रीमती छँदा म सल्लाह गर्दै कुरुस चलाउँथेँ,’ उनले भने, ‘उनी गएपछि कुरुस चलाउनै मन लाग्न छाड्यो। एकदिन अचानक सोचेँ, कसैको यादमा जीवन बर्बाद गर्नुभन्दा उसैले दिएको उपहारसँग किन नरमाउने? मलाई लाग्यो, श्रीमती नहुँदा एक्लो नहोस् भनेरै भगवानले मलाई बूढेसकालमा पनि सिक्ने जाँगर दिए। त्यही भएर भगवानले उनलाई कुरुस चलाउने सीप दिएका रहेछन्।’
आजका अन्य समाचारहरूवाम गठबन्धनभित्र प्रतिनिधि सभाका १३ र प्रदेशका २८ सिटमा कुरा मिल्न बाँकीश्रीमतीले सिकाएको सिपलाई दिनरात अभ्यास गर्न थालेपछि उनको उदासी हट्यो। उनी व्यग्र त हुन्थे, तर श्रीमतीको विछोडमा होइन, उनलाई बढीभन्दा बढी खुसी दिन सक्छु कि सक्दिनँ भनेर। उनी अचेल श्रीमती नभएको पीडामा डुबेर बस्दैनन्, बरु उनीसँग बिताएका खुसीका पल सम्झेर रमाउँछन्।
‘बूढेसकालमा साथीले छाडेर गएपछि मान्छे एक्लो अनुभूति गर्छ, तर कुरुस चलाउन थालेपछि मैले कहिल्यै एक्लोपन महसुस गरेको छैन,’ बाबुकाजीले भने।
एकचोटि उनी तन्ना बुनिरहेका थिए, पहिले श्रीमतीले सिकाएको बुट्टा हाल्ने तरिका नै बिर्सिएछन्। जति दिमाग खियाए पनि सम्झिन सकेनन्। तीन दिनसम्म उनी त्यही बुट्टाका लागि प्रयास गरिरहे। सकेनन्। एक महिनापछि झट्ट सम्झना भयो।
त्यही तन्ना एक जापानी नागरिकले १७ हजारमा किनेको उनले बताए।
टेलिभिजन छोप्ने रुमाल, दौरा–सुरुवाल, स्वेटर, करुवा, बत्ती छोप्ने रुमाल लगायत उनले झन्डै सयभन्दा बढी सामान तयार पारिसकेका छन्। ‘मैले पैसाको लागि काम गरेको हैन,’ उनी भन्छन्, ‘मैले जति मोलमा यी सामान बेच्छु, हिसाब गर्ने हो भने त ज्याला पनि उठ्दैन। मेरो चाहना सबैले आफ्नो घरमा उत्पादन भएको फोहोर पुनः प्रयोगमा ल्याऊन् भन्ने हो।’
कुरुस चलाउन थालेपछि उनलाई स्मरणशक्ति बढेको पनि अनुभव हुँदैछ। कुनै सामानमा नयाँ बुट्टा दिएको दिन उनी रमाउँछन्। अचेल त सामान मात्र बनाउँदैनन्, ठाउँ–ठाउँमा तालिम पनि दिँदै हिँड्छन्। नेपालगन्ज पुगेर उनले महिला समूहलाई दुई दिनसम्म दूधको प्याकेट जम्मा गर्ने, धुने, काट्ने, तन्काउने, गाँठो पार्ने, उन्ने तरिका सिकाएछन्। छिमेकतिर पनि सिकाउँदै हिँड्छन्।
‘म चाहन्छु, यो काम सरकारले नै गर्नुपर्छ,’ बाबुकाजी भन्छन्, ‘अहिले त गाउँ–गाउँमा स्थानीय सरकार बनेका छन्। यस्ता कुरा बालबालिकालाई सिकाउनुपर्छ। ताकि, उनीहरूले वातावरण यसरी सफा राख्न सकिन्छ भनेर बुझून्। घरै बस्ने बूढाबूढीका लागि त यो काम एकदमै फाइदाजनक छ। उनीहरू घरैमा रमाउन सक्छन्।’
उनले यही कुरा ज्यापू संग्रहालय महोत्सव क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पनि सुनाए। ‘उहाँ सकारात्मक हुनुभएको छ,’ उनले भने, ‘टोल-टोलमा समूह बनाएर तालिम दिन बोलाउँछु भन्नुभएको छ।’
‘एउटा कुरा लेखिदिन मिल्छ?’ उनले छुट्टिने बेला भने।
‘भन्नुस् न।’
‘यो काम सरकारले नै गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘हामी आफैंले टोलटोलमा समूह बनाएर गर्न सक्छौं। म एक पैसा नलिई सिकाइदिनसक्छु। हातको सीप हो, जति बाँड्यो उति बढ्छ। मैले यसो गरेँ भने मेरी श्रीमती आफ्नो सीप सबैलाई फैल्याएकोमा झन् खुसी हुन्छिन्।’
यति भन्दै उनले आफ्नो सम्पर्क नम्बर दिए, ‘०१-५५४४२६१।’