महोत्तरीको भिट्टामोड–जलेश्वर–जनकपुर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी धनुषाको जनकपुर उपमहानगरपालिका २१ कुर्थाका २५ वर्षीय जितेन्द्र महासेठको मृत्यु भएको छ।
ज ५ प ३२२० नम्बरको मोटरसाइकलमा चढी भिट्टामोडबाट जलेश्वरतिर आउँदै गरेका उनी जलेश्वर–२ स्थित भिट्टामोड –जलेश्वर–जनकपुर सडकखण्डका कलभर्टको खाल्डोमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए।
सडक जीर्ण भएका कारण महासेठको मृत्यु भएको भन्दै जलेश्वरका स्थानीयले तत्काल सडकको मर्मत सम्भार,मृतक परिवारलाई क्षतिपूर्ति र सडक ठेकेदारलाई कारवाहीको माग गर्दै भिट्टामोड –जलेश्वर– जनकपुर सडक अवरुद्ध गरेका छन्।
बिहान आठ बजेदेखि गरेको सडक अवरुद्धका कारण भारतबाट जनकपुरका लागि आउने पर्यटक बस र सो सडक खण्डमा चल्ने बस बन्द भएपछि यात्रुहरू अलपत्रमा परेका छन्।
निर्माणधीन सडक हालै आएको बाढीले ठाउँ/ ठाँउमा बगाएकाले सडकमा ८ फिटसम्म गहिरो खाल्डो बनेको तर हालसम्म ठेकेदारले मर्मत सम्भार नगरेका कारण दुर्घटना भएको हो। स्थानीय प्रशासन र ठेकेदार दुवैले स्थानीयको गुनासोलाई नसुनिदिएपछि बाध्य भएर स्थानीयहरूले सडकमा टायरबाली अवरुद्ध सडक अवरुद्ध गरेका छन्।
नेपाल सरकारले १८.५६ किमिको सो सडक प्योकेज नम्वर १ अन्तर्गत जिरोमाईलदेखि ९ किलामिटर सडक श्री प्रतिभा वाई पि जे.भीलाई ४३ करोड ५४ लाख ७२ हजार आठ सय चौहत्तर रुपैयाँ र प्योकज नम्वर २ मा ९ किलोमिटरदेखि १८.५६ किलोमिटरसम्म श्री आशिष पप्पु रोशन जेभी ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य सुरू गरेपनि सडकमा रहेका खाल्डाखुल्डी भने अहिलेसम्म पुर्न सकेको छैन ।