झापा अर्जुनधारा तीनपैनीका ११ वर्षीय लक्ष्मण सिवाकोटी गत असोज १५ गते विर्तामोड एकमा मृत अवस्थामा भेटिए।
सोही दिन आफ्ना फुपुका छोरा मनिषको बुवाले विदेशबाट पठाएको जुत्ता लिन उनी सुधिर पोखरेलको घर गएका थिए। तर, अचानक हराएपछि पोखरीमा डुबेको अवस्थामा उनको शव फेला पर्यो। टाउको, हात र शरिरका विभिन्न भागमा चोट देखेपछि परिवारले हत्या गरिएको भन्दै ३ जनाविरुद्ध जाहेरी दिए।
अनुसन्धानका लागि प्रहरीले सुधिरसहित उनका परिवारका अन्य सदस्यहरू सन्तोष र समिरलाई नियन्त्रणमा लियो। प्रहरीले म्याद थपेर अनुसन्धान अघि बढाउँदै गर्दा बालकका परिवार र स्थानीयले प्रहरी अनुसन्धानमाथि खोट लगाए। परिवारले वैज्ञानिक अनुसन्धानको माग गरे।
शुक्रबार बिहान १० बजेदेखि आन्दोलनमा उत्रिएका आक्रोशित स्थानीयले अनारमनी नजिकै इलाका प्रहरी कार्यालयमा तोडफोड गरे। प्रहरीले हवाइ फायर र दर्जनौँ अश्रु ग्यास छोड्यो। तर, स्थिति अझै सामान्य भएन । अनारमनीका रहेको सडक डिभिजन कार्यालयभित्र पसेर उनीहरूले स्कोरपियो, कार र एक्जाभेटरमा आगजनी गरे।
कार्यालयमा रहेको सिलिण्डर निकालेर आगो बाल्न थाले। प्रहरीले बोलाएको दमकल पनि सडक कार्यालयभित्र छिर्न सकेन। त्यसपछि घटनास्थलमा प्रहरीको साथै सशस्त्र प्रहरी खटिसकेको थियो। प्रहरीले स्थिति सामान्य बनाउन भन्दै गोली चलायो। प्रदर्शन उत्रिएकाहरूले पनि प्रहरीमाथि ढुंगा बर्साए।
स्थानीय प्रशासनले कर्फ्यू घोषणा गर्यो। सोही क्रममा प्रहरीको गोली लागेर चारपानेका नरेश थापाको मृत्यु भएको हो। अर्का एक जना मणी नेपाली भने गम्भीर घाइते भएका छन् । अन्य ४ जनालाई गोली लागेको छ। उनीहरूको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
यो पनि पढ्नुहोस्:
उनीहरूको आक्रमणबाट सशस्त्र प्रहरीका एसपी रमेश सुवेदी घाइते भएका छन् । उनको पनि अस्पतालमा उपचार भइरहेको छ। १४ जना नेपाल प्रहरीले र एक दर्जन सशस्त्र प्रहरीपनि घाइते भएका छन् । प्रहरीले भने अनारमनीका केही दिनअघि सडक विस्तार गरिएको र त्यस क्रममा स्थानीयको अवरोध आएका कारण सोही रिस पोख्न उनीहरूले बालकको मृत्युलाई हतियार बनाएको आरोप लगाएको छ।
स्थानीय प्रशासनले सडक विस्तार गर्न प्रहरी नै खटाएको थियो । त्यसबेला मेयरको घरमा समेत तोडफोड गरिएको थियो। सडक विस्तारको बदला लिन स्थानीयले बालकको मुद्दालाई उचालेको प्रहरीको निश्कर्ष छ, प्रहरी उच्च अधिकारीले सेतोपाटीसँग भने, ‘होइन भने सडक डिभिजनभित्र छिरेर, सडक विस्तारमा प्रयोग भएका सवारी साधन किन जलाइयो ?’
गृह मन्त्रालयले घटनाका सम्बन्धमा शनिबार छानबिन समिति झापा पठाउँदैछ।