२०१२ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री नियुक्त भएपछि उनले भारतसँग लगभग आत्मनिर्भरको अवस्थामा रहेको विदेश नीति तोड्न ठूलै कसरत सुरु गरे। यसका लागि अमेरिकासँग सहयोगको प्रस्ताव पनि राखेका थिए। अमेरिका नेपाललाई विभिन्न क्षेत्रमा सहयोग त गर्न चाहन्थ्यो। तर, भारतलाई चिढ्याउन चाहन्थेन।
यस्तो अवस्थामा टंकप्रसादलाई नेपालको विकासमा अमेरिकी सहयोग जुटाउन गाह्रो परिरहेको थियो। उनले ‘मिडिया’ को सहयोग लिने मन बनाए। र, त्यतिबेलाको चर्चित पत्रिका ‘समाज’ का एक पत्रकारलाई आफ्नो दुविधाबारे जानकारी गराउँदै ‘ब्रेकिङ न्युज’ दिए।
भोलिपल्ट ‘समाज’ पत्रिकाको प्रथम पृष्ठमा समाचार छापियो, ‘सोभियत संघ (हालको रुस) द्वारा नेपालको विकासमा १० करोड सहायताको प्रस्ताव’।
यो समाचारको प्रभाव यस्तो भयो, अर्को दिन नै तत्कालीन अमेरिकी राजदूत नेपाली प्रधानमन्त्री टंकप्रसाद आचार्यसँग समय लिएर उनलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगे। र, अमेरिकाले नेपाललाई निःसर्त सहयोग गर्ने बचन दियो।
‘समाज’ पत्रिकामा उक्त समाचार ‘ब्रेक’ गर्ने अघिल्लो पुस्ताका पत्रकार मणिराज उपाध्यायको बुधबार बिहान हृदयघातका कारण ९४ वर्षको उमेरमा निधन भयो। बुधबारै पशुपतिमा उनको अन्त्येष्टि गरिएको छ। सटिक विश्लेषण र आफ्नो कुरा राख्न नडराउने यी पत्रकारले पाँच दशकभन्दा लामो आफ्नो सक्रिय पत्रकारितामा यस्ता थुप्रै समाचार ‘ब्रेक’ गरे।
उनी नेपाल पत्रकार महासंघको अध्यक्ष पनि बने। राजनीतिक चाटुकारिताविरूद्ध कडा प्रहार गर्ने मणिराज तीनपल्ट जेल परे। २००७ सालको प्रजातान्त्रिक आन्दोलनताका उनी पहिलोपल्ट जेल परेका थिए। तत्कालीन राजा त्रिभुवन नेपाल छाडेर भारत गएपछि काठमाडौंमा अर्को राजा स्थापना गर्ने खेल सुरु भएको थियो। यसैको विरोधमा ओर्लिंदा उनी छाउनीमा समातिएका थिए। २००७ सालको क्रान्ति सफल भइसकेपछि मात्र उनी छुटेका थिए।
२०१४ सालमा डा. केआई सिंह प्रधामन्त्री हुँदा पनि मणिराज जेल परेका थिए। त्यतिबेला समाचारको विषयलाई लिएर उनलाई २९ दिन जेल चलान गरिएको थियो। आफूलाई पक्राउ गर्न आएका सुरक्षाकर्मीलाई झुक्याउन उनले थुप्रै प्रयास गरेका थिए। तर, पत्रकारितामा प्रवेश गर्नुअघि न्युरोड टिम (एनआरटी) बाट फुटबल खेलाडीका रूपमा प्रसिद्धी कमाइसकेका कारण उनी जोगिन सकेनन्। उनलाई सुरक्षाकर्मीले तुरुन्तै पहिचान गरे।
२००८ सालमा सिंहदरबारभित्र देशको पहिलो लिग फुटबल आयोजना हुँदा उनले एनआरटी टिमको ‘सेन्टर ब्याक’बाट खेलेका थिए। त्यतिबेला रेफ्रीको भूमिकामा रहेका नरशमशेर राणासँग झगडा भएपछि उनलाई जेल चलान गरिएको थियो।
उनलाई जेलमुक्त गर्न एनआरटीका केही खेलाडीको ‘डेलिगेसन’ राजा त्रिभुवनकहाँ पुगेको थियो। त्रिभुवनको हस्तक्षेपपछि उनलाई जेलमुक्त गरिएको थियो। न्युरोड टिम (एनआरटी) स्थापना गर्न उनको योगदान महत्वपूर्ण मानिन्छ।
खेल जीवन परित्याग गरेपछि मणिराज लगायत न्युरोडका जागरुक युवाहरू पशुपतिदेव पाण्डे, लक्ष्मणराज पाण्डे र चुडाप्रसाद शर्मा मिलेर २०१२ सालमा अलग धारको दैनिक पत्रिका प्रकाशित गरेका थिए। जसको नाम जुराइएको थियो, ‘समाज’ पत्रिका।
उत्कृष्ट सम्पादन, फरक विश्लेषण र समाचारका कारण यो पत्रिका छोटो समयमै काठमाडौंमा लोकप्रिय भएको थियो। साँझ प्रकाशित हुने पत्रिका किन्न त्यतिबेला न्युरोडमा भीड लाग्थ्यो।
मणिराजले २०५० सालमा पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यसँग गरेको कुराकानीका आधारमा प्रकाशित ‘श्री आचार्यसितको केही क्षण’ किताबले राम्रो चर्चा बटुलेको थियो।