प्रहरीले विभिन्न गैरकानुनी तरिकाले एटिएम कार्ड प्रयोग गरी पैसा चोर्ने एक बुल्गेरियन नागरिकलाई विदेशी मुद्रासहित पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जले बिहीबार एटिएम कार्डबाट विभिन्न व्यक्तिको पैसा चोरी गर्ने बुल्गेरियन नागरिक स्टेफनोभलाई सत्र हजार दुई सय पचास अमेरिकी डलरसहित पक्राउ गरेको हो।
शुक्रबार पत्रकार सम्मेलन गरी ब्युरोले स्टेफनोभले आधुनिक प्रविधि प्रयोग गरी एटिएमबाट पैसा चोरीको घटनाबारे जानकारी दिएको हो।
बुल्गेरियन नागरिक स्टेफनोभले ठमेल क्षेत्रमा विभिन्न बैंकका एटिएम बुथमा पसी हिडेन क्यामेरा र कार्डबाट डाटा कपी गर्ने र डिभाइस गोप्य रुपमा जडान गरी डाटा स्किमरको माध्यमबाट आफ्नो कार्डमा सारेर पुनः एटिएम बुथमा गई रकम निकाल्ने गरेको पाइएको ब्युरोले जनाएको छ।
अनुसन्धान ब्युरो प्रमुख डिआइजी नवराज सिलवालले नयाँ प्रविधि प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने गरेको पाइएको बताए।
प्रहरीले बुल्गेरियन ती नागरिकको साथबाट १७ हजार २ सय ५० अमेरिकन डलर, २५ थान अबैध एटिएम कार्ड, म्याग्नेटिक स्ट्रिप रिडर राईटर, हिडन क्यामेरा, स्किमरलगायत सामान बरामद गरेको छ।
विभिन्न बैंकका ग्राहकको मोबाइलमा एसएमएस अलर्टमार्फत रकम निकालेको भनी सूचना आएपछि सम्बन्धित बैंकको उजुरीका आधारमा ब्युरोले अनुसन्धान थालेको थियो। ती नागरिक अक्टोबर ७ का दिन नेपाल आएर ठमेलस्थित होटल जगतमा बसेको प्रहरी अनुसन्धानले देखाएको छ।
उनीविरूद्ध बैकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कारबाही थालिएको प्रहरीले जनाएको छ।
ब्युरोका अनुसार इन्भेष्टमेन्ट बैंकका ग्राहकको पैसा चोरी भएको सूचना आएपछि त्यसका एटिएम बुथ निगरानीमा राखिएको थियो। बैंकबाट प्राप्त सिसिटिभी रेकर्डमा शंकास्पद हुलियाका आधारमा ती नागरिक फन्दामा परेका थिए।
‘उनले एटिएम बुथमा पसेर हिडेन क्यामरा जोड्ने र कार्डबाट एटिएम नम्बर कपी गर्ने उपकरण जोडेर फर्किँदा रहेछन्,’ सिलवालले भने, ‘जाँदा फरक पहिरनमा, आउँदा फरक पहिरनमा हुलिया बदलेर आउजाउ गरेको पाइयो र समात्न सकियो।’
यो घटनाले एटिएमबाट पैसा चोरी गर्ने नयाँ काइदा पनि सार्वजनिक गरेको छ। एटिएम कार्ड प्रयोग गरेर पैसा निकाल्नेहरूलाई सचेत हुन ब्युरोले सुझाएको छ। ‘एटिएम बुथमा छिरेर पैसा निकाल्दा कतै वरपर हिडेन क्यामरा भए नभएको यकिन गरेर मात्र कार्ड प्रयोग गरेको राम्रो,’ सिलवालले भने, ‘बैंकले पनि आफ्नो एटिएममा नयाँ प्रविधि विकास गरेर ग्राहकको रकम सुरक्षित गर्नुपर्छ, आफूले गर्दै नगरेको कारोबारबारे मोबाइलमा एसएमएस आएनमा तत्काल खबर गर्नुहोला।’
पक्राउ परेकासँगै रहेका अर्का व्यक्ति भने आफ्नो देश फर्किसकेको ब्युरोले जनाएको छ। उनीहरूले इङ्ल्याण्ड, अमेरिका तथा युरोपियन मुलुकका विभिन्न व्यक्तिको एटिएम कार्ड नम्बर पत्ता लगाएर नेपाल आई यहाँका बैंकबाट रकम निकाल्ने गरेको अनुसन्धानमा खुल्न आएको छ। ‘के कति चोरी भएको छ हामी पक्राउ परेकाबाट बुझिरहेका छौं,’ सिलवालले भने।