लताले पहिलो पटक सुमनाञ्जली फिल्म्स्को निम्ति जनरल नरशमशेरको आग्रहमा माइतीघरका निम्ति टाइटल गीत गाएकी थिइन्, जयदेव यस फिल्मका संगीतकार थिए।
माइतीघर पछि उनले हेमन्तकुमार कालिदास मुखर्जीको संगीतमा म.वी.वि शाहको शब्दमा दोस्रो नेपाली गीत गाइन् ,
आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ
हातमा हात परेको बेला म भन्न सक्दिनँ ...
माइतीघरपछि उनले प्रकाश थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘मेरो देश’ का निम्ति अम्बर गुरूङको संगीतमा गाउने तय भयो, उनी गीत रेकर्डिङको मुहूर्तमा पनि आइन् तर गीत रेकर्ड हुन सकेन। ‘मेरो देशमा’ लताबाहेक फत्तेमान राजभण्डारी, निर्मला श्रेष्ठका स्वर पनि समाहित हुने क्रममा थियो।
बम्बईमा लामो समयदेखि संघर्ष गरिरहेका रञ्जीत गजमेरको संगीत र जीतेन्द्र वर्देवाको शब्दमा ‘मेरो आशले, मेरो भाग्यले पर झन पर छोडिरहेछ ...’ गाउने तय भएको थियो। धर्मा फिल्मस्बाट निर्माण गर्न लागेको पिरती फिल्मको यो गीत पनि उनले गाइनन्।
लताले आफ्नो इच्छाले गायक नारायण गोपालसित युगल गीत गाउने रहर संगीत संयोजक मनोहरि सिंह मार्फत् प्रस्ताव गरेकी थिइन् तर नारायणगोपालले हिन्दी गीत गाउन अस्वीकार गरेपछि यो सत्कार्य पनि रोकियो।
विसं २०५९ सालतिर तत्कालीन राजा ज्ञानेन्द्र शाहको शब्दमा जीवन प्रधानको संगीतमा एउटा गीत रेकर्ड हुने व्यापक हल्ला भए पनि साकार हुन सकेन।
बलिउडमा संगीत भर्दै आएका एक मात्र नेपाली संगीतकार भोलानाथ श्रेष्ठको संगीतमा लताले ‘ये बस्ती, ये लोग मा दिल जलेगा तो जमाने को उजाले होगा…’ गाएकी थिइन्। प्रसिद्ध गायिका पूर्णीमा (सुष्मा श्रेष्ठ) का पिता भोला श्रेष्ठ ललितपुर तजाःफल्चाका निवासी हुन्।
गैर फिल्मी यात्रा
लताले फिल्मबाहेक गैर फिल्मी गीत पनि गाएकी छिन्। त्यसमध्ये मीरा भजन, चला बाही देश, लता सिंग्स् गालिब, ध्यानेश्वर मौली, कोली गीति, गणपति आरती, अभंग तुक्याचे, शिव कल्याण राजा, राम श्याम गुणगान, सज्दा, श्रद्धाञ्जली अनि सादगीमा पनि स्वर भरेकी छिन्।
गजल गायक जगजीत सिंहको संगीतमा गाएको सज्दा र मयूरेशको संगीतमा गाएको सादगी उनका लोकप्रिय एल्बम हुन्।
लता आफैंले पनि संगीत गरेकी छिन्। संगीतकारको रूपमा उनले आफ्नो नाउँ आनन्दघना राखेकी छिन्। संगीतकार आनन्दघनालाई घरमा उनका बाबुले दिएको नाउँ हृदया हो।
लतालाई गिनीज बुक अफ वर्ल्ड रेकर्डस्ले सर्वाधिक गीत गाउने गायिका भनेर घोषणा गरेपछि त्यसमा ठूलो विवाद र आपत्ति जनाइएको थियो। तर पछि लताभन्दा धेरै गीत गाउने गायिकामा आशा भोँसलेको नाम अगाडि आएपछि गिनीज बुक अफ वर्ल्ड रेकर्डस्ले त्यसलाई भूल सुधार गर्नु परेको थियो ।
गायिका लताको सबैभन्दा मनपर्ने राग हंसध्वनि हो। उनको जीवनी लेख्ने राजु भारतनले आफ्नो नयाँ घर बनाएर घरको नाम हँसध्वनि राखेर लताको जीवनी लेखेका थिए, ‘लता मंगेशकर : अ बायोग्राफी’ (सन् १९९५) ।
लताको वारेमा सर्वाधिक मिहेनत गरेर लेखिएको पुस्तकमा सुमन चौरसियाको 'लता समग्र' , डा मन्दार भी बिच्छुको 'लता भ्वाइस अफ द गोल्डेन इरा' अनि यतीन्द्र मिश्रको 'लता सुर -गाथा' चर्चित छन् ।
लताको धेरै कार्यक्रममा उद्घोषक बनेर यात्रा गरेका हरिश भिमानीले पनि उनको जीवनी लेखेका छन्।
धेरै कुरा लेखिएर पनि धेरै कुरा नलेखिएकी एक पात्र हुन् लता।
उहाँमा हार्दिक श्रद्धाञ्जली |