भनिन्छ, विगतका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढ्नुपर्छ, सच्चिएर हिँड्नुपर्छ। पढाइन्छ त्यही, समयको ख्याल नगर्नु आत्मानुशासन नहुनु हो र अनुभव नै बहुमूल्य साक्षात ज्ञान हो।
हो, वास्तवमा समय र अनुभवका हिसाबले त्रिभुवन विश्वविद्यालय आफैमा एउटा खुला किताब हो। पूर्वाधार र जनशक्तिका हिसाबले अरुभन्दा यसका ढ्ड्डा मोटा छन्। पहुँच र विद्यार्थी सङ्ख्याभारका आधारमा पनि पाना चौडा र आयातन भारी छ। तर विडम्बना! सो किताब पठनीय बन्न भने सकिरहेको छैन।
यथास्थितिवादी चरित्र र समय निरपेक्ष अभ्यासले आलोच्य बनिरहँदा त्यसप्रतिको विकर्षण क्रमशः विस्तारित छ। र सँगसँगै रुमलिएका छन् त्रिवि अन्तर्गतका अध्ययन संस्थान पनि।
विश्वका कैयौं विकशील राष्ट्रहरू आफ्नो शिक्षा र स्वास्थ्य क्षेत्रमा कति अध्ययन सर्वेक्षण गरेर दूरदर्शी निर्णय लिन्छन्। सर्वसुलभ सहित गुणस्तरीय बनाउन उच्च स्तर कानुनी तहबाटै प्रतिबद्ध हुन्छन्। सोहीअनुसार विज्ञस्तरबाट नीति तथा कार्यक्रम ल्याउँछन् र कार्यन्वयन गर्छन्। प्राथमिकता र प्रभावकारिता दुवैमा अब्बल छन्। कोरोनाको प्रभाव तिनलाई पनि छ अझ बढी प्रताडित होलान्। र पनि उनीहरू प्रगतिशील छन्। समयको बर्बादीबाट सचेत छन्।
यता हामी भने सधैँ पर्ख र हेर नीतिमै अभ्यस्त छौँ। न हामीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन सकेका छौँ न परिपाटी सुधार्न नै खोजेका छौँ। पटक-पटक एउटै समस्या भोगेर पनि पाठ सिकेनौँ हामी। थाहा छैन, हाम्रो नेतृत्वमा खोट छ या नीतिमा। तर प्रदर्शन गरिरहेछौँ एउटै- प्राज्ञिक अक्षमता र, मर्कामा परिरहेछौ उहीँ एकै- हामी विद्यार्थी!
कोरोना पहिलो लहरको सुरुआतमा हामी जहाँ थियौँ आज पनि उहीँ अवस्थामा छौँ। हिजोको त्यही अदूरदर्शी निर्णयले कति समस्या थुपारेको छ भन्ने कुरा पात्रो फेर्नेलाई अक्कल नहुँदो रहेछ। त्यसकारण निर्णयकर्तालाई पात्रो हेर्नेको अनुभव दृष्टिगत गराउन चाहेँ।
०७६ चैत्रमा चलिरहेको परीक्षा आज जसरी नै अकस्मात रोकिएको थियो। त्यसपछि झन्डै ६ महिना जति त हामी इन्तु न चिन्तु भएरै चुपचाप बितायौँ। केही विकल्प सोचेनौँ। पठनपाठन ठप्प पार्यौँ र एक्कासी परीक्षा लिनेबेला मात्रै मुख खोल्यौँ। अरु त कुरै छाडौँ त्रिवि ईन्जिनियरिङ अध्ययन संस्थान पनि कुनै प्रविधिबारे अनविज्ञ भएझैं वा केही पनि सम्भव नदेखे झैँ साउनसम्म मस्त रहेको कुरा विदितै छ। त्यसपछि बल्ल विद्यार्थीको चर्को दबाबमा अनलाइन कक्षा सुचारु गराइएका थिए।
सङ्क्रमण दर ओरालो लागेपछि र लकडाउन खुलेपछि क्रमशः परीक्षाहरू संचालन गराइए। तर त्यतिन्जेल शैक्षिक पात्रो मात्रै संशोधन नभई विद्यार्थीका भावी योजना समेत केरमेट हुन पुगे। स्वीकार नगरे पनि समयावधि ६ महिना अबेर भैसकेको हो। ईन्जिनियरिङ अध्यन संस्था (ईअसं)को हकमा पनि फारम भर्नेको क्रमानुसार परीक्षार्थीलाई प्राथमिकता नदिइनु र नतिजा प्रकाशनमा ढिलाइ गर्नुले कैयौं विद्यार्थीले कति अवसर गुमाउन अभिशप्त भए। वैशाखमा चलिरहेको परीक्षा रोक्दा फेरि तिनै परीक्षार्थी मारमा परे।
नित्य सम्पादन झैँ समयमै नहुँदा असर पर्नु नपर्ने विद्यार्थी पनि लोकसेवाको अवसरबाट वञ्चित हुन पुगे। प्रत्यक्ष प्रभाव परीक्षा दिनेलाई देखिए पनि परीक्षा स्थगनले समग्र संस्थागत काम पछि धकेलिने र सो विधाका सबैलाई असर गरेको हामीसित ताजा अनुभव छर्लङ्ग छन्।
अहिले पनि चलिरहेको ईअसंको परीक्षा स्थगन गराइएको छ। फेरि पनि यिनै रोकिएकालाई झन् पछि धकेल्ने काम कसैबाट कतै नहोस्। एउटै समस्याको भागिदार पटकपटक विद्यार्थी नपरुन्। विगतबाट पाठ सिकेर सच्चिनु अपरिहार्य छ।
विकल्पका बारेमा त स्वयम् ईअसंको परीक्षा शाखा तमाम बखान गर्न सक्छ तर कार्यान्वयनमा जाँदा उहीँ पुरानै शैली, भौतिक उपस्थितिमै हो। अखिर ढिलो हुने विद्यार्थीलाई नै हो। सम्बन्धित विश्वविद्यालय त्रिवि र संस्थानलाई त कार्यतालिका मात्रै फेरिनु हो। समस्याको गाम्भीर्यता बुझ्दथे त समय र स्वास्थ्य दुवै दृष्टिकोणले सतर्कता अपनाउँथे होला।
सरकारले पनि पहिलाजस्तो ठोस निर्णय नलिएको अवस्थामा त्रिविले कि विकल्प दिन सक्नुपर्छ कि त चलिरहेको परीक्षा सक्न दिनुपर्थ्यो। अन्तिम समयमा संस्थागत व्यवस्थापन कमजोर हुनाले विद्यार्थी मारमा पर्नु आपत्तिजनक छ। त्रिविको स्थगन निर्णय अमूल्य समयको बर्खिलाप अनुत्तरदायी अभ्यासको पुरानै निरन्तरता हो।
यसो त अहिलेको कोभिड सङ्कटले कस्तो रुप लिन्छ? कतिन्जेल असर गर्छ? ठ्याक्कै आकलन गर्न सकिने अवस्था छैन। तर पनि शैक्षिक क्षेत्रमा निरन्तरता दिन त्रिविले तदारुकता देखाउनु अपरिहार्य छ। पहिले झैं हाइसन्चो बस्न सायद नीतिगत र नैतिक दुवै दृष्टिकोणले अनुचित छ।
सरकारले पनि शिक्षा क्षेत्रका विभिन्न विज्ञ संलग्न उच्च स्तरीय संयन्त्रको गठन गरी परिणाममुखी नतिजा दिनु आवश्यक छ। हुन त फरक-फरक दलका अलग-अलग वाद बोक्नेहरू पालो-पालो सरकारमा आए तर कोही पनि शिक्षा स्वास्थ्य लगायत समग्र त्रिवि सुधारमा गम्भीर नबन्नु दुःखद् पक्ष छ। के यो विषय सोचनीय छैन र?
सम्माननीय कुलपति ज्यूलाई सविनय अनुरोध छ। हो हामीलाई तपाईंले एक कार्यक्रममा भने झैँ नेपालमा 'अक्सफर्ड' चाहिएको निश्चय नै होइन तर हामीलाई शिक्षालाई रोजगारसित जोड्ने समाजवादी नयाँ गोरेटो जरुरत छ। समयसापेक्ष त्रिवि सुधार समग्र विद्यार्थीको एकै आवाज हो।
आशा छ, अघिल्लो सरकारका कमीकमजोरी यसपालि दोहोरिने छैनन्। नेतृत्वमा इच्छाशक्ति मात्रै भयो भने हाम्रै पालामा भोलिको दिन उज्यालो अवश्य हुनेछ।