प्रधानमन्त्रीलाई चिठी
आदरणीय प्रधानमन्त्री ज्यु,
नमस्कार!
सञ्चै हुनुहुन्छ? आशा गर्छु अहिलेसम्म सञ्चै हुनुहुन्छ होला। हजुरको कुर्सी पनि आरामै होला। हजुर जुन देशको प्रधानमन्त्री भएर कुर्सीमा बस्नु भएको छ, त्यो देश बिरामी छ। कोरोनाले मात्रै हैन, मानसिक रोगले पनि।
हुन त म यही रोग लागेर देश थालिएको थाहा पाउने डाक्टरी गरेको व्यक्ति हैन। स्नातकोत्तर गरेर सरकारी जागिर खान भनी लोक सेवा परीक्षा कुरेको तर पटक-पटक परीक्षा स्थगित भएर भविष्यको अन्यौलता देखेर निराश छु।
नागरिकता बनाएपछि काठमाडौँ कहाँ हो भनेर पाइलै नहालेका पनि राहदानी विभागमा लाइन लागेको १७/१८ वर्षका युवाहरू देखेकी छु। पासर्पोट बनाउन लाइन लागेका युवा अनि लोकसेवाको जाँच दिएर सरकारी जागिरे बन्ने सपना बोकेको म जस्ताको मानसिक अवस्था बारे कहिल्यै सोच्नु भएको छ?
लोक सेवाको परीक्षा स्थगित, बढ्दो उमेर कमाउनु पर्ने बाध्यता। यी सबै नहुँदा युवाको मनस्थिति कस्तो हुन्छ कहिले सोच्नु भएको छ?
विदेश जान भनेर हानिएर आएको युवा सहरमा बस्दा गेष्ट हाउसबाट ठगिन सुरु भएर म्यानपावर कम्पनीले धुरुक्कै रुवाइदिन्छ। त्यसमाथि काम दिने कम्पनीले त एउटा भनेर अर्को काम लगाइदिएको सुनिएकै छ। कहिलेसम्म ठगिने हामी युवा?
के हामी ठगिन जन्मिएका हौँ प्रधानमन्त्री ज्यु? के तपाईंहरूले राजनीति गर्नुभएको ठगै ठग जन्माउन हो त? हिजो जेलको चिसो छिँडीमा बस्दा तपाईंले कस्तो देशको परिकल्पना गर्नुभएको थियो प्रधानमन्त्रीज्यू?
प्रधानमन्त्री ज्यु, हाम्रो देशले विदेशमा श्रमिक चाहियो भनेर कामदार पठाउँछ। ती कामदारहरू यस्ता हुन् कि जसको हैसियत कथित दासहरूको भन्दा कम छैन। बितेका चार महिनामा देशमा आउने रेमिटेन्स घटेको विवरण आउँदा सरकार अलि बढी चिन्तित भएको देखियो। तर प्लास्टिकमा ममचाको किमाजस्तै भएर आएको लासहरू आउँदा सरकारको ओठ कहिल्यै थर्थराएको पाइएन।
थाहा छ हजुरलाई, अस्तीभर्खर पुसको अन्त्यतिर एउटा समचार आएको थियो नि, १० वर्षअघि आमाको लास आयो भनेर किरिया गरेको छोराले फेरि त्यही आमा मरेकै भनिएको देश साउदी जाँदा आफ्नी आमालाई भेटे नि। कसको क्रिया गरेका थिए तिनले? अनि विदेशी सरकारले जनावरको मासुलाई मान्छेको लास भनेर पठाउँछ कि मान्छे नै भनेर, हाम्रो सरकारले कहिल्यै सोधेको छ? लास पठाउँदा साथैमा पासपोर्ट हुन्न भनेर।
तपाईंहरू किन प्रश्न गर्न सक्नुहुन्न? फेरि रेमिटेन्स घट्छ, बेरोजगारी बढेको तथ्यांक विदेशमा पठाउँदा हुँदै नभएको इज्जतमा दाग लाग्छ भनेर हो? म तपाईंको पार्टीको कार्यकर्ताभन्दा पहिले यो देशको नागरिक हुँ।
शिक्षित व्यक्ति भन्छन् अचेल मलाई, डिग्री पास गरेकाले। तर म मरेँ भने देशले शिक्षित व्यक्ति गुमाएको महसुस गर्दैन। महसुस गर्छ त केबल एउटा भए नि शिक्षित बेरोजगार घटेको। स्त्रीको मृत्यु भएको हैसियतले समाजले भने मेरो आत्महत्यामा मेरो चरित्रमाथि प्रश्नको कात्रो ओडाइदिनेछ।
तपाईंलाई रेमिटेन्स घटेको सोधान्तर स्थिति नकरात्मक भएको कुरा थाहा छ होला। हामीजस्ता स्वदेशमै अवसरको खोजी गरी विदेश नगइकन २६/२७ उमेरसम्म जागिरको भौतारिरहेका युवा अवसरको खोजीमा आफ्नो समय बर्बाद गरेका छौँ। आफ्नो सुन्दर सपनालाई देशमै साकार गर्ने उद्देश्यले तीन दशक पुग्न लागिसक्दा आर्थिक रूपमा अगाडि बढ्न नसकेको व्यक्तिले भविष्यमा आफ्नो आधारभूत आवश्यकता कसरी पूरा गर्न सक्ला?
मैले आफूलाई नागरिक भएको महसुस चुनाव आउने बेला मात्रै गर्छु। मतदान सकिएको बेला बुच्चै। किन सरकार भएको प्रत्याभूति दिन सक्नुहुन्न? किन रोजगार र आफ्ना नागरिकको सुरक्षाको लागि तथ्य र तथ्यांक राख्नमा ध्यान दिनुहुन्न? आफ्ना देशका नागरिक कहाँ-कहाँ छन्? कुन-कुन अवस्थामा छन्? किन रेकर्ड राख्दैन सरकारले?
आफ्नो नागरिक मारिँदा किन सम्बन्धित देशमा सोधपुछ गर्दैन सरकारले? भारतमा कति नागरिक जान्छन् थाहा छ सरकारलाई? भारतमा कति नागरिक मारिए? कति नागरिक जेलमा सडे थाहा छ सरकारलाई?
इलामका दुर्गाबहादुर तिम्सिना ४० वर्ष जेल बसे। २०६५ सालमा हेमराज बञ्जाडे मारिए। उनीहरूबारे सरकारले कुनै विवरण माग्यो? राजनीति गर्नेलाई मन्त्री बनाउन र 'लुटेर' देश तन्नम बनाउन हामीले तपाईंहरूलाई जिताइरहनु पर्ने?
सरकार भएको महसुस दिनुस्, दिनहुँ बढेको आत्महत्या दर हेर्नुस्। समय छोटो छ प्रधानमन्त्री ज्यु, रोजगार र नागरिकको जीउधन सुरक्षामा ध्यान दिनुस्।