कोभिड-१९ संक्रमणको दोस्रो लहरका कारण यतिखेर नेपालको स्वास्थ्य क्षेत्र भयावह अवस्थामा पुगेको छ। देशको कुनाकाप्चाका बस्तीबस्ती, टोलटोल, गल्लीगल्लीमा यसको संक्रमण फैलिसकेको छ ।
सरकार सञ्चालकको निरीहताका कारण सरकारी स्वास्थ्य सेवा असफल भइसकेको घोषणा हुन मात्र बाँकी छ। ठूला अस्पतालले कोभिड संक्रमित बिरामीको नयाँ भर्ना गर्न नसकिने सूचना निकालिरहेका छन्।
कुनै अस्पतालले त अक्सिजन अभावका कारणले उपचाररत बिरामीको अब थप उपचार गर्न नसकिने भनेर सूचना दिइरहेका छन्। देशका सबैजसो अस्पतालमा अक्सिजन (अहिलेको अवस्थामा कोभिडका बिरामीलाई अत्यावश्यक मानिएको), कोभिड परीक्षण (आरटि-पिसिआर) गर्ने किट, रेम्डिसिभिर मेडिसिनलगायत कोभिड नियन्त्रण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्रीको अहिले हाहाकार भएको छ।
देशका विभिन्न अस्पतालमा सेवारत डाक्टर, नर्स, स्वास्थ्यसेवाका कर्मचारी, स्वास्थ्य क्षेत्रमा काम गरिरहेका विज्ञहरूको एउटै भनाई छ - स्थिति नियन्त्रण बाहिर गइसक्यो।
राजधानी बाहिरका कतिपय अस्पतालमा अक्सिजन अभावका कारण नागरिकले अनाहकमा मृत्युवरण गर्नुपरिरहेको समाचार छापाहरूमा छ्याप्छ्याप्ती निस्किरहेका छन्।
यस्तो जटिल परिस्थितिमा नागरिकले भरोसा गर्ने भनेकै आफ्नो देशको सरकारसँग हो तर विडम्बना, अहिलेको सरकारले यस्तो महामारीको बेला नागरिकप्रतिको कर्तव्य पूरा गर्नुको साटो कर्तव्यच्यूत भएर हात उठाएको उसको व्यवहारले देखाएको छ । तर पनि ऊ कत्ति पनि नलजाइ भन्दैछ, ‘सब ठिकठाक छ । आइसियु बेड अझै खाली छ, एचडियु भइरहेछ, अक्सिजन वितरणमा कोटा निर्धारण गरेका छौं।’
यस्तो महामारीको बेलामा एउटा बिरामीले अक्सिजन पाउनका लागि मन्त्रालयको सिफारिस, सिडिओको सिफारिस लिनुपर्ने अवस्था निर्माण भएको छ। अस्पतालमा डाक्टरले बिरामीका आफन्तलाई भन्छन् - आधा घण्टाभित्र अक्सिजनको व्यवस्था नभए तपाईंको बिरामीको अवस्था जटिल हुनसक्छ । अनि उसले मन्त्रालयको सिफारिस लिने कि, सिडिओको सिफारिस लिने कि, नेताको भनसुन गराउने कि, के गर्ने भन्ने रनभुल्लमा पर्दापर्दै बिरामीको अवस्था नाजुक भैसकेको हुन्छ।
अहिलेको परिस्थिति यस्तो छ। सरकारले यो महामारी नियन्त्रणको लागि जसरी पूर्वतयारी गर्नुपर्थ्यो, त्यो गरेन। नागरिक समाज, राजनीतिक दल, सांसद, देशका प्रबुद्ध वर्ग, स्वास्थ्य सेवाका कर्मचारी, स्वास्थ्य विशेषज्ञलगायत सचेत नागरिकहरूले सरकारलाई दिएका सुझाव सुनिएन, सुनिएन मात्रै होइन, लत्याउने काम गरियो । देशको स्वास्थ्य क्षेत्र अहिले निकै दयनीय अवस्थामा आइपुगेको छ।
दिनानुदिन संक्रमणदर बढ्दो छ, मृत्युदर बढ्दो छ, संक्रमित नागरिकहरूको छट्पटाहटसँगैको चित्कार कसैले सुन्ने अवस्था छैन। संक्रमित व्यक्तिको परिवारको छट्पटीमा कोही कसैले मल्हमपट्टी लगाउन सकेको स्थिति छैन।
एउटा नागरिक अस्वस्थ भएपछि जतिसक्यो छिटो अस्पताल गएर आफ्नो उपचार गराउन पाउनुपर्ने अधिकार हुँदाहुँदै, त्यो हुन नसकेर उसको आफ्नो उपचारका लागि सामाजिक सञ्जालमार्फत उपचारको याचना गर्नुपर्ने दयनीय अवस्था सिर्जना भएको छ।
यस्तो कहालीलाग्दो परिस्थितिमा हामी नागरिक आफैं अग्रसर भई यो निर्दयी सरकारको कुनै पनि भरोसा नराखिकन यो महामारी नियन्त्रण तथा रोकथामका लागि उच्च आत्मबलका साथ मेरो पनि कर्तव्य छ र म पनि कुनै योगदान गर्न सक्छु भनेर आगामी केही हप्ताका लागि ‘संक्रमणपछिको उपचार भन्दा संक्रमित नै नहुने गरी रोकथाम’ भन्ने मूल नाराका साथ रोकथामका उपायहरूको अवलम्बन गर्नका लागि कडाभन्दा कडा ‘सेल्फ लकडाउन’ मा बसेर योगदान गरौं।
सकेसम्म घरबाट बाहिर ननिस्कौं, निस्कनै परेमा २ मिटरको भौतिक दूरी कायम गरौं, मास्कको अनिवार्य प्रयोग गरौं, घर फर्केपछि राम्रोसँग साबुनपानीले हातगोडा धोऔं, सामान्य हिंडडुललाई बन्द गरौं । आफ्नो छरछिमेक, टोल, वस्तीमा कोही संक्रमित भएमा थप उपचारका लागि सहजीकरण गरौं ।
विपत्तिको समयमा नआत्तिऔँ, होसियारी अपनाऔँ ।