म कोरोना संक्रमित भै निको भएको व्यक्ति हुँ। आज कोरोनाले अझ भयावह रुप लिइरहेको वर्तमान अवस्थामा मेरा अनुभवहरु सान्दर्भिक नै हुने ठानेको छु। गत भदौ ९ गते साँझदेखि मलाई घाँटी सामान्य दुखी खसखस गरेको थियो। साथै ज्वरो आएजस्तो अनुभव हुने तर थर्मोमिटरले नाप्दा तापक्रम सामान्य देखिने भयो।
भोलिपल्ट विस्तारै गन्ध थाहा नहुने र अलिअलि श्वास प्रश्वासमा समेत समस्या भएजस्तो लागेपछि भदौ १४ गते पिसिआर परीक्षण गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु गएँ। पिसिआर परीक्षणको नतिजा पोजिटिभ आएको जानकारी पाएपछि म होम आइसोलेसनमा बसेँ।
कोरोनाबाट विश्व नै धेरै आतंकित भएको पृष्ठभूमिमा हाम्रो मुलुक मात्र अक्षुतो रहन सक्ने अवस्था पक्कै होइन। यो समस्याबाट त्रसित भएर भाग्न सक्ने स्थिति नभएकोले सामना गर्नुको विकल्प छैन। तसर्थ सक्दो सचेत, होसियार रहने तर लागिहाल्यो भने निको हुन्छ, धेरै मानसिक तनाब लिने हुँदैन भन्ने भनाइ राख्ने प्रवृत्तिको मान्छे हुँ।
तथापि उच्च रक्तचाप र सामान्य मुटुरोगी समेत भएको कारणले अलिकति झस्किएँ। कुनै पनि दिन मलाई ज्वरो आएन र खाना तथा रुचिमा कुनै समस्या भएन। तर पातलो दिशा हुने र श्वास-प्रश्वासमा समस्या भने केही दिन मलाई देखियो। त्यसैले, मैले आफूलाई सहज बनाउन देहाय बमोजिमका कार्यहरु गरेँ।
- कोरोना सम्बन्धी समाचारहरु नै धेरै प्रशारण हुने हुँदा मानसिक रुपमा बढी आतंकित बनाउने हुनाले बिहानको एक घण्टा बाहेक सबै समाचारहरु हेर्न तथा सुन्न बन्द गरेँ।
- सोचाइलाई अन्यत्र मोड्नका लागि विभिन्न टेलिभिजन च्यानलहरुबबाट प्रशारण हुने वा रेकर्डेड मनोरञ्जनात्मक कार्यक्रहरु मात्र लगातार हेरेँ।
- आफन्त र साथीहरुबाट बारम्बार सोधपुछ हुन थालेपछि मानसिक तनाव हुने भएकोले आफ्नो मोबाइल फोन बन्द गरेँ र कल डाइभर्ट गरेँ।
- व्यक्तिगत सम्पर्कका आधारमा चिकित्कसहरुसँग सल्लाह गरी केही औषधीहरु जस्तै अजिथ्रोमाइसिन, इनेक्स, भिटामिन सी/बी कम्प्लेक्स र आयुवेर्दिक औषधीहरु नियमितरुपमा सेवन गरेँ।
- नियमित रुपमा तातो नुन बेसार-पानी पिउने र बाफ लिने काम गरेँ।
- सबैभन्दा ठूलो कुरा आत्मबल नै भएकोले सामान्यरुपमा निको हुन्छ भन्ने विश्वास गरेँ।
भदौ २९ गते पुनः पिसिआर टेस्टको लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु गएँ। नतिजा नेगेटिभ आयो। त्यसपश्चात म कार्यालय जाने लगायत सामान्य दैनिकीमा फर्किएँ। तर यसबीचमा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई अनुगमन गर्नका लागि बनेको मापदण्ड/स्वास्थ्य प्रोटोकलहरु जे जति छन्, सो बमोजिम नियमित अनुगमन वा सोधपुछ अभिलेखन कहाँ कुन निकायबाट हुनुपर्ने हो, सो भने भएको पाइएन।
तसर्थ, आजको विश्वव्यापी कोरोनाको कहरको वास्तविकतालाई आत्मसात गर्नुको विकल्प नभएकोले सचेत रहौं तर आतंकित नबनौँ। चिन्तन गरौँ, चिन्तित नबनौँ। आत्मबल बलियो बनाऔँ। शारीरिक दूरी कायम गरी हातको सरसफाइमा ध्यान दिऔँ।
जटिल लक्षण देखिएका बिरामीहरु तुरुन्तै अस्पतालको सम्पर्कमा जाऔँ तथा लक्षण नदेखिएकाहरु न्यूनतम मापदण्ड पालना गरी होम आइसोलेसनमा बसौँ। सुनेको भरमा नजानी नजानी जथाभावी तथा अनावश्यक औषधीहरु सेवन नगरी चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गरौं। संचार माध्यकबाट त्रासदीपूर्ण एवं आतंकित बनाउने समाचारहरुलाई प्रचार प्रसार नगरौं र चुस्त सूचनामूलक समाचार मात्र प्रशारण गरौँ।
कोरोनाका कारण हाम्रो मुलुकमा मृत्युदर एक प्रतिशतभन्दा कम भएकोले यसलाई ठूलो आतंक वा त्रासदीका रुपमा प्रचार प्रसार गर्ने काम बन्द गरौँ। निको भएका मानसिहरुलाई कोरोना जित्ने योद्धाको रुपमा चित्रण नगरौँ। सबैभन्दा ठूलो कुरा आत्मबल नै भएकोले सामान्यरुपमा रोग लागेपछि निको हुन्छ भन्ने मान्यता राखी आत्मबल बढाऔँ।
नेपाल सरकारबाट तर्जुमा भै लागू भएका स्वास्थ्य मापदण्ड/स्वास्थ्य प्रोटोकलहरु कार्यान्वयमा सम्बन्धित निकायहरु गभ्भीरतापूर्वक लागौँ भन्ने अनुरोध म गर्न चाहान्छु।