भर्खरमात्र एसइई दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन भयो। नतिजालाई लिएर अनेक सकारात्मक र नकारात्मक टिकाटिप्पणीहरु भए/भइरहेका छन् तर पनि यो नतिजाले हामी सबैलाई एउटा अन्यौलताबाट मुक्ति दिलाएको छ। विद्यार्थीहरुलाई परीक्षा केन्द्रमै पुगेर फर्कनुपर्दाको जो पीडा थियो, त्यो पीडा बिर्साइदिएको छ।
फेरि यो नतिजालाई लिएर अनेक नकारात्मक टिप्पणी भइरहँदा जो असाध्यै मिहेनेती र आफूलाई अब्बल दर्जाको विद्यार्थीको रुपमा चिनाउन चाहन्थे, उनीहरुको मनोबल घटेर निरुत्साहित हुने अनि नतिजा राम्रो आएका तर पढाइमा खासै अब्बल नभएका विद्यार्थीहरु अतिउत्साहित हुने हुँदा यसले उनीहरुको मनोविज्ञान र भावि सिकाइमा केही असर पार्छ कि भन्ने चिन्ता एकातिर नभएको होइन। तसर्थ, अभिभावकहरुले आफ्ना छोराछोरीको अहिलेको नतिजालाई सामान्य रुपमा लिनुपर्दछ।
औसत पढाइ भएको आफ्नो बच्चाले नसोचेकै जिपिए ल्याएको छ भने उसलाई धेरै खुसी हुने अवसर नदिनुहोला, उचाल्ने काम पनि नगर्नु होला। उसलाई मिहेनतन नगरीकन पाएको प्रतिफलमा खुसी हुन सिकाउनु भयो भने भोलि उसले कुनैपनि मिहेनत गर्ने छैन, वा जति मिहेनत गरेपनि अहिलेको जस्तो नतिजा उसले नपाउन पनि सक्छ।
किनकी हरेक विद्यार्थीले पढाइमा राम्रो गर्छ भन्ने हुँदैन। उसको रुची र क्षमता अर्कै क्षेत्रमा पनि हन सक्छ। उसले मिहेनत नगरीकन फल पाउने अपेक्षा राख्ने छ, अल्छी हुनेछ। अहिले उसले प्रप्त गरेको जिपिए भोलि तपाई र उसको लागि नै भार हुन सक्छ।
अर्को कुरा, तपाईको बच्चा अहिलेको नतिजामा जति राम्रो वा जति कमजोर देखिएको छ, यो नतिजा नै तपाईको बच्चाको क्षमताको अन्तिम मानक होइन। अहिले जुन विद्यालय र शिक्षकले तपाईको बच्चाको मूल्यांकन गरेर पठाउनु भएको छ, त्यो नै तपाईँको बच्चाको क्षमताको अन्तिम मूल्यांकन होइन भन्ने करा बुझ्नहोला।
म पनि एउटा शिक्षक भएको हैसियतले स्वीकार्नु पर्छ कि हामीहरु सबै विद्यार्थीको भित्री क्षमता बुझ्न सक्दैनौँ, कक्षाकोठाभित्र हामीले सोध्ने प्रश्न किताबमा लेखिएको उत्तरको आधारमा मात्र हामीले उनीहरुको जिपिए निर्धारण गर्छौँ। आफ्नो बच्चा के-कस्तो छ, उसको पढाइलेखाई आनी-बानी शील स्वभाव कस्तो छ, त्यो प्रत्येक अभिभावकलाई थाहा नै छ।
यसर्थ अहिले यो नतिजालाई एकातिर राखेर आफ्नो बच्चालाई आफै ग्रेड दिनहोस्। किनकी हरेक बालबच्चाको पहिलो शिक्षक उसका आमाबाबुनै हुन् र यो अधिकार पनि तपाईहरुलाई छ। स्कुल कलेजले लिने धेरै परीक्षाहरु अझै बाँकी छन्। जागिरको लागि दिनपर्ने थप्रै परीक्षाहरु बाँकी छन्।
थाहा छैन जिन्दगीले कति समस्याहरुको पहाड उसको अघि उभ्याउने छ, उसलाई कति ठाउँमा लडनपर्ने छ, कति चनौतीको सामना गनपर्ने छ, उसको अहिलेको बानीले कस्तो चरित्र निर्माण हुनेछ? परीक्षामा नसोधिएको यस्ता थप्रै प्रश्नहरु अझ बाँकी छन्।
जिन्दगीले ठाउँठाउँमा उसको परीक्षा लिनेछ, त्यो परीक्षामा कस्ता प्रश्न आउन सक्छन् र त्यसको जवाफ कसरी दिने त्यो कुरा सिकाउँदै गर्नस् किनकी ती कुराहरु अहिले तपाईले पढाउनु भएका र अब पढाउने विद्यालय र शिक्षकले कहिलै पढाएनन् र पढाउने छैनन् सायद।
तपाईका बाल-बच्चाको उज्ज्वल भविष्यको कामना सहित शुभआशिर्वाद।