सर्वप्रथम त म नेपाली भएकोमा मलाई गर्व लाग्छ र म आफूलाई धेरै भाग्यमानी ठान्छु। जाहाँ जुनसुकै देश जाँदा पनि मेरो नाम जेसुकै होस् तर पहिला अन्य देशको नागरिकले ए बाहादुर भनेर बोलाउँदा शीर उच्च हुन्छ। म आज झन्डै पाँच सात वर्षदेखि परदेशी भूमिमा ४५°/५०° तातो घाम पसिना बगाएर पसिनासँग पैसा साटेर आफ्नो र परिवारको भोक मेटाउने कोशिसमा लागिरहेको छु।
म जस्तै पसिनासँग पैसा साटेर परिवार पाल्ने युवाको जमात सायदै कम छैन परदेशमा, लाखौं नेपाली छन्। अहिले यो कोभिड-१९ (कोरोना भाइरस) ले गर्दा विश्व नै त्रसित भयको बेला हाम्रो देश नि यस भाइरसबाट चोखो रहन सकेन। अझ भन्नु पर्दा परदेशमा रहने हामी नेपाली त झन् यसको चपेटामा पर्यौँ।
कति नेपाली दाजुभाइ दिदिबहिनीले यही भाइरसको कारण परदेशमै ज्यान गुमाउनु पर्यो त कति अझै भाइरससँग लडिरहनु भयको छ भने कतिको यही कारणले आफ्नो रोजिरोटी गरि खाने जागिर नै टुट्यो र बरोजगार भै बस्नु पर्ने बाध्य भयो। कतिपय भिजिट भिसामा आएर बस्नेहरु यहाँ यही अवस्थाले गर्दा अलपत्र पर्नु भएको छ।
आफ्नो देश फर्कुँ भने पनि फर्कने कुनै बाटो छैन, सबैतिर बन्द छ। लामो समयदेखि धेरैलाई यही समस्या छ। फर्कन बाटो छैन, गरि खान जागिर छैन अनि जागिर नभएसी गोजीमा दाम छैन। गोजीमा दाम नभएसी बस्ने रुम छैन। यस्तो अवस्थामा पनि आफ्नो देशको नागरिकलाई आफ्नो देश फर्काउने मेरो देशको हैसियत छैन।
फरि हैसियत छैन भनुँ भने पनि कसरी भनौँ, खर्बौका बजेट भाषण हुन्छन्, अर्बौ रुपयाँका घोटाला हुन्छन्, लाखौँ लाख घुस खाँदा खाँदै कति भष्टचारी त रङ्गे हात पक्राउ पनि परेको सुनिन्छ। तर आफ्नो नागरिकलाई आफ्नो देश फर्काउन सरकारसँग आँट छैन। सुनेको छु, अब समस्यामा परेको नेपालीलाई विमान चार्टर गरेर उद्धार गरिदै छ रे अनि कुन देशबाट कति भाडादर पनि तोकियो रे।
अनि यो भाडा दर हेर्दा लाग्छ मेरो देशले मलाई अब अन्तिम पल्ट लुट्दै छ। हुन त सरकारले सोचेरै यो कदम चालेको हुनु पर्छ। अब परदेशबाट जसरी नि आफ्नो देश फर्किन्छन्। यही मौका हो, यिनीहरुलाई लुट्ने भनेर यो अवस्थामा हामी भाडा दर जतिसुकै महङ्गो भएनि फर्कनु बाध्य हुन पर्नु अवस्था छ।
उहीँ त होनि, खाए खा नखाए घिच भनेजस्तो भाछ अहिले पर्देशमा हामी नेपालीहरुको अवस्था। ए सरकार साच्चिकै उद्धार गर्ने मनासय थियो भने यस्तो योजना बन्ने थिएन। टिकट काट्ने अवस्था नि छैन कतिपय हामी नेपालीको। अब कसरी फर्कुँ म आफ्नो देश र कसरी भेटुम्ला म मेरो परिवारसँग सरकार?
बरु फेरि हामीलाई नेपाल फर्केसी उही आफ्नै देशमा पछि मिलाई-मिलाई लुट् तर अहिले यो महामारीको बेला नलुट्। बरु पछि हामीले नेपालमा सास फेर्ने र सास लिने गरेको त्यस्का कर लागाइदे र लुट्। प्रति व्याक्ति नेपालको सीमा भित्री श्वास फेरेका र श्वास लिएको वर्षको १०० को उठाउ तर अहिले यो अवस्थामा छुट गर सरकार। मेरो अपिल यहि हो सरकार।
जेरी बा 'आकाश'
स्याङ्जा हाल युएई।