आज सबैभन्दा धेरै कोभिड-१९ ले गर्दा समस्याग्रस्त क्षेत्र भनेको वैदेशिक रोजगार क्षेत्र हो। लाखौँ युवाहरूलाई स्वदेशमा रोजगारी नहुँदा विदेशमा रोजगारी दिलाईदिने वैदेशिक रोजगार क्षेत्र आज आफै बेरोजजगार बन्ने स्थिति आएको छ।
सधैँभरी राज्यको आँखामा चुभेको क्षेत्र हो वैदेशिक रोजगार। हाम्रो जस्तो गरिब देशमा रोजगारी नहुँदा लाखौँ युवाहरू विदेशीनु पर्ने आफ्नो बाध्यता आफ्नै ठाउँमा छ।
आज वैदेशिक रोजगारले गर्दा गाउँको मुहार फेरिएको छ। खरको छानो टिनमा परिणत भएको छ। आम-नेपालीका सन्तानले सरल तरिकाले उच्च शिक्षा हासिल गरेका छन्।
राम्रो लगाउन र मिठो खानलाई समस्या परेको छैन। वैदेशिक रोजगारले जिवनस्तर उकासेको छ। वैदेशिक रोजगारले गर्दा धेरै क्षेत्रमा टेवा पुगेको छ।
आफ्नो निजी खर्चमा संचालन हुँदै आएको वैदेशिक रोजगार कम्पनीलाई राज्यले कहिले पनि सम्मान गर्न सकेन। बरू सधैँभरी दोषी नजरले मात्र हेर्यो र व्यवहार गर्यो। सधैँभरी दलाल र ठगको बिल्ला मात्र भिराउने कोशिस गर्यो।
देशमा रोजगारी सिर्जना गर्न नसक्ने अनि युवाहरू म्यानपावरले गर्दा विदेशीए भन्ने मानसिकता सरकारले राख्दा अर्बौ रूपैयाँ रेमिटान्स नेपाल भित्राउने वैदेशिक रोजगारलाई राज्यले सौतनी व्यवहार गरेको छ। कहिले शून्य लागत त कहिले धरौटी वृद्धि गरी सरकारले वैदेशिक रोजगार क्षेत्रलाई तहसनहस बनायो।
अनेक कानुनी झमेला झिकी व्यवसायलाई त्रसित बनायो। हामी व्यवसायी आफ्नो दु:खलाई बिर्साएर फेरि उठ्ने कोशिस गर्दै थियौँ फेरि हाम्रो व्यवसायीलाई कोभिड-१९ ले उठ्नै नस्कने गरी लडाउने निश्चित भयो।
कोभिड-१९ ले पूरा देश कलकारखाना होटल, पर्यटन आदि समस्या ग्रसित बनाउँदा सरकारको आँखा सबैतिर पर्दा, वैदेशिक रोजगार क्षेत्रलाई फेरि ती आँखाले देखेन। राज्यले फेरि पनि यो क्षेत्रको दु:खलाई महशुस गर्न सकेन।
हाम्रो मुख्य गन्तव्य मुलुक खाड़ी देश कोभिड-१९ ले गर्दा ग्रसित छ। लाखौँ नेपाली युवाहरूको रोजगारी गुम्ने खतरा छ। लाखौँ युवाहरूलाई रोजगारी दिने व्यवसायीलाई त सम्मान गर्न सकेन सरकारले, समय आएको छ लाखौँ युवाहरूको पसिनालाई सम्मान गरेर फर्कन चाहनेलाई मापदण्ड पूरा गरेर सकुशल आफ्नो देश नेपाल फर्कने व्यवस्था मिलाइयोस्।
सामाजिक दुरी कायम राखौँ। लकडाउनको पूर्ण पालना गरौँ। बाचे फेरि व्यवसाय गरौँला।