कोरोनाभाइरस महामारीले नेपाल पनि विगत ४० दिनदेखि लकडाउनमा छ। संक्रमितका संख्या वृद्धि भइराखेका छन्। लकडाउनको समय अझै पाँच दिन बाँकी छ। संक्रमित भेटिएमा सरकारले थप लकडाउन गर्न सक्छ।
यस्तो बेला विद्यार्थीहरू घरमै छन्। विद्यालयदेखि विश्वविद्यालयसम्मका पठनपाठन र परीक्षा स्थगित छ। शैक्षिक क्षेत्र प्रभावित बनेका बेला इन्टरनेटको माध्यमबाट पनि शिक्षण सिकाइ क्रियाकलाप गर्न सकिन्छ।
यदाकदा इन्टरनेटबाट पठनपाठन गरे पनि यो प्रभावकारी भने देखिएको छैन। हामीकहाँ इन्टरनेटको पहुँच मात्र होइन कम्प्युटरलगायत पूर्वाधारको पनि अभाव छँदैछ। माध्यमिक शिक्षा परीक्षा एसईई लगायत परीक्षा स्थगित हुँदा विद्यार्थी तनावमा छन्।
यस्तो बेला के गर्ने त? सरकारलाई सात सुझाव यस्तो छ:
१. भर्चुअल कक्षाका लागि नि:शुल्क इन्टरनेटको व्यवस्था गर्नु पर्दछ।
२. कक्षा १० को परीक्षा सम्बन्धित विद्यालयमा लिने वा सोही विद्यालयले परीक्षा लिने र नतिजा प्रकाशनसम्मको अधिकार पाउनु पर्दछ।
३. कक्षा ११ को परीक्षा लिने र नतिजा प्रकाशन गर्नेलगायतको सबै जिम्मेवारी सम्बन्धित विद्यालयलाई दिनु पर्दछ।
४. कक्षा १२ को परीक्षा सम्बन्धित विद्यालयमै लिने वा पूरानै अनुसार सञ्चालन गर्ने प्रवन्ध मिलाउनु पर्दछ।
५. विद्युत र इन्टरनेट नभएको ठाउँमा घुम्ती कक्षा सञ्चालन गर्नु पर्दछ।
६. विद्यार्थीको पढाइ र सिकाइको बारेमा सञ्चारमाध्यम र सबै प्रकारका फोनमा अभिभावकको जिम्मेवारी बारेका सूचनामुलक सन्देश दिनु पर्दछ।
७. शिक्षित अभिभावकलाई घरमै कक्षा लिन अनुरोध गर्नु पर्दछ।