विश्व सर्बहारा वर्गका महान गुरु मार्क्सले- 'युवाहरू हो! जिते संसार छ, हारे केही पनि छैन' भनेर जित्नका लागि संसारभरका युवा वर्गमा आव्हान गरेका थिए। यो यथार्थता बहुसंख्यक श्रमजीवी किसान मजदुरहरुले भरिएको नेपालका श्रमिकका सन्तति युवाहरुको सन्धर्भमा उत्तिकै सान्दर्भिक थियो, छ र रहिरहने छ।
युवाहरूलाई नै लक्ष्यित गर्दै सर्वहारा वर्गका अर्का महान गुरु क. माओले- 'यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरुकै हो' भनेर संश्लेषण गरेका थिए।
वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन्। त्याग, निष्ठा, बलिदान र नव-निर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमुल्य निधि एवम् उदयीमान् शक्ति मानिन्छ। युवाहरू स्वभावैले विद्रोही हुन्छन्। उनीहरुको नशा-नशामा क्रान्तिकारी परिवर्तनको नविन उर्जाहरु सल्बलाईरहेको हुन्छ।
यथास्थितिबाट आफू र आफ्नो समाजमा मुक्ति दिँदै सामाजिक रुपान्तरणको महाअभियानमा समेत युवा वर्गले अग्रिम भूमिका निर्वाह गरिरहेका हुन्छन्।
विश्व इतिहासलाई सिमहा अवलोकन गर्दै नेपालको गौरवमय इतिहासको पाना पल्टायौं भनेपनि विसं. १९९६ को राणाविरोधी आन्दोलनमा गंगालालहरुको भूमिकादेखि यता विसं. २००६, विसं. २०१५, विसं. २०३६, विसं. २०४६ को जनआन्दोलन, विसं. २०५२ देखि संचालित सशस्त्र जनयुद्ध र मुख्यत: विसं. २०६२/६३ को जनआन्दोलनमा युवाहरुको योगदान अतुलनीय थियो।
मूलत: विगतदेखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजीविका अनि राज्य स्वाधीनताका लागि निरंकुश शासनका दानवीय छायालाई परास्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवम् ऐतिहासिक सन्देश बन्न पुगेको थियो।
यस्ता इतिहासका कठिन मोडमा समेत विचलित नभईकन रास्ट्र निर्माणको महा-अभियानमा समर्पित बन्न चाहने अपरिमित शक्ति र सामार्थ्यका धनी नेपाली युवाहरूले आज बेरोजगारीको पीडासँगै स्वदेशको माटोमा भन्दा विदेश यात्राको लामो बाटो तताउन विवश बनेका छन्।
मुटुमाथी ढुंगा राखेर भन्नुपर्छ कि आज ८० लाख उर्जाशील युवायुवती विदेशी भूमिमा श्रम बेच्न बाध्य छन्। कुनै पनि स्वाभिमानी राष्ट्रको लागि यो राम्रो संकेत मानिँदैन।
वैदेशिक रोजगारमा गएका युवा-युवतीहरुको रगत र पसिनाबाट प्राप्त हुने सिमित आर्थिक लाभांशको आधारमा समग्र मुलुकको विकास गर्न सकिन्छ भन्ने आत्मारती अनि गलत मनोविज्ञानबाट अब छिट्टै ब्युँझनु पर्छ।
नत्र इतिहासमा गम्भीर दुर्घटना हुन्छ। त्यसैले यसमा राज्यपक्ष बेखबर र निरीह नबनोस्।
आजको परिस्थिति र युवा राजनीति:
आज विश्व नै कोरोनाको कहरले थलिएको छ। नेपाल पनि निकै जटिल र असहज परिस्थितिबाट गुज्रिरहेको छ। एकातिर भूकम्पले ध्वस्त संरचनाको पुनःनिर्माण अपेक्षित ढंगले अघि बढ्न सकिरहेको थिएन।
अर्को, देशले नयाँ संविधान पाएपनि सबै जातिले अपनत्व महशुस गर्न पाएनन्। वर्षौंदेखिको उही पुरानो संसदीय व्यवस्थाभित्र सरकार अदलबदल, पार्टी टुटफुटका श्रृंखला चलिरह्यो।
राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुग्यो। अवस्था उही रहेन। नेकपालाई जनताले ५ वर्षको म्यान्डेड दिएर पठाए। झन्डै दुई-तिहाईको इतिहासकै बलशाली स्थिर सरकार केपी ओलीको नेतृत्वमा निर्माण भयो।
नेपाली जनताको आशाको सीमा रहेन। तर विगत दुई वर्षयता ओली सरकारले यो सम्झनालायक काम गर्यो है भन्ने कुनै पनि काम गर्न सकेन। उपहारस्वरुप कान्डै-कान्ड पायौँ।
३३ किलो सुन कान्ड, निर्मला हत्या तथा बलात्कार कान्ड, सिन्डिकेट कान्ड, मार्सीभात कान्ड, वाइडबडी कान्ड, पप्पु कान्ड, मेलम्ची ठेकेदार कान्ड, पोलपोलमा प्रधानमन्त्री कान्ड, यती होल्डिंस कान्ड, कालापानी लिपुलेकमा भारतसामु ओली सरकारको आत्मासमर्पण, मेडिकल विद्यार्थी कान्ड, गूठी विधेयक कान्ड,
संचारमन्त्री गोकुल बास्कोटा ७० करोड स्विच प्रिन्टिङ मेसिन खरिद प्रकरण, प्रम आइटी सल्लाहकार अस्गर अलीको अनलाइन ह्याक प्रकरण, कोरोनाको कहरकै बीच मेडिकल सामाग्री खरिद प्रकरण, संबैधानिक निकाय लगायत संचारक्षेत्र, न्यायलयलाई राजनीतिक अखडा केन्द्र हुँदै पछिल्लो डा. सुरेन्द्र यादव अपहरण प्रकरणसम्म..।
दुर्भाग्य, यी सबै गतिविधिको अगाडि युवापंक्ति मुकदर्शक बनिरह्यो। अझ बिशेषत: यिनका मातृपार्टी संबद्ध भातृ संगठनहरु! विद्यार्थी आन्दोलन सधैं प्रतिपक्षी आन्दोलन हुनुपर्ने। दु:खद त्यस्तो रहेन।
इतिहासमा असफलसिद्ध तिनै लम्पट नेतृत्वहरुप्रति बिना सर्त निकै लामो संघर्ष र बलिदानी गरेर आएका लाखौं कार्यकर्ताहरु मलामी जान तयार भईरहे। भए।
इतिहासमै पहिलोपल्ट कुनै व्यक्ति विरुद्ध सत्ता संगठनकै विद्यार्थी नेताहरु थिए या थिएनन्, सत्ता बचाउन लकडाउनको समयमा सडक आन्दोलनमा जानुले उदांगो पारिदियो।
यसले पुष्टि गर्छ कि युवा जमातमा स्वविवेक भन्ने नै छैन। पुरानो पुस्ताबाट राजनीतिक बागडोर खोसेर आफ्नो हातमा लिन सक्ने अवस्थामै छैनन्। जान्दछन् त केवल जय जयकार!
राजनीति भनेको व्यापार बुझेका छन्। पेट पाल्ने माध्यम हो भन्ने बुझेका छन्। यो कुरा आज कुनै विज्ञ मानव नजरबाट छिपेको विषयवस्तु हो जस्तो मलाई लाग्दैन।
युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो। देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो। युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो।
तसर्थ अब युवा शक्तिलाई निराशामा होइन, आशामा बदल्नुपर्छ। जे-जे भयो, भयो। अब विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्नुपर्छ। जय-जयकार होइन, स्वविवेक प्रयोग गर्नुपर्दछ।
राजनीति फोहोरी खेल हो भन्दै पन्छिने होइन, फोहोर पोखरीमै पसेर सफा गरेर निस्कने आँट गर्नु पर्दछ। पूर्व-मेचीदेखि पश्चिम-महाकाली सम्मको विशाल सेरोफेरोमा फैलिएको नेपाली भूगोलको सुन्दर, सभ्य, समुन्नत एवम्ं विकसित मार्गचित्र तयार गरी कर्णाली, जाजरकोट, मुस्ताङ लगायत देशका विकट वस्तीहरुमा बसोबास गर्ने आम-नागरिकहरुको दुखान्त कथा र व्यथालाई समेट्न सक्नु पर्दछ।
महान् तथा अमर सहिदहरुको त्याग र बलिदानको कदर गर्न सक्नुपर्छ। मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकास निर्माण लगायत हर क्षेत्रमा नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ।
सम्पूर्ण युवाहरूलाई म यो कुरा अवगत गराउन चाहान्छु कि, मण्डेला, ओबामा, गान्धी, बुद्ध, जनक, आइन्स्टाइन, वीपी, गणेशमान, केपी, जीपी, प्रचण्ड, बाबुराम, मदन, मनोमोहन सबैले आ-आफ्नो युवा अवस्थामा गरेको ऐतिहासिक कार्यबाट आज विश्व आश्चर्यचकित मात्रै होइन लाभान्वित समेत भएको छ।
त्यसैले आउनुस्, हामी पनि युवा अवस्थामा केही रचनात्मक काम गरौँ। युवा छनजेल् चोरी-डकैती, ढाकछोप, जालझेल, लुटपाट, चम्चागिरी, हनुमानगिरी अनि जीवनको उत्तरार्धमा राजनीतिक, आध्यात्मिक कुरा??
अविद्याकृत प्रपञ्चबाट मुक्ति पाउन मोक्ष प्राप्तिको कुरा?
अझै जिवनको अन्तिममा हरे राम! हरे कृष्णा??
हरे राम, हरे कृष्णा समेत बदनाम भाको छ। बेलैमा सोचौँ।