चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले संसारका करिब २०९ मुलुकमा फैलिसकेको छ। कोरोना भाइरसले करिब १२ लाख ७३ हजार ७०९ जनालाई संक्रमित गरिसकेको छ भने करिब ६९ हजार ४५६ को ज्यान लिईसकेको छ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार यस रोगले संयुक्त राज्य अमेरिकामा मात्रै करिब १.६-२.१ लाखको ज्यान लिन सक्ने बताएको छ। हाम्रो छिमेक भारतमा पनि यसको संक्रमण बढ्दो छ र दिन दिनै अवैद्य रूपमा नाकाबाट छिरेका समाचार पनि सुनिरहेका छौँ।
विश्वभर फैलिरहेको यो महामारी हाम्रो देशमा पनि छिट्टै फैलिने छैन भन्न सकिँदैन। देशैभरीका नागरिक त्रसित र आतंकित भएका छन्। संक्रमण फैलने प्रचुर सम्भावना भएको बेलामा हाम्रो शिक्षा बोर्डले कक्षा १०, ११ र १२ को परीक्षा लिनु कत्तिको उचित छ?
राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को बोर्ड वैशाख ८ गतेदेखि नै सँगै गर्न सकिने बताएको छ। तथ्यांक हेर्ने हो भने करिब ४ लाख ७२ हजार ७०७ ले एसईई परीक्षा दिने छन् भने करिब ४ लाख कक्षा १२ को परीक्षाको लागि बस्ने छन्। यो परीक्षा सञ्चालन गर्न गरीब ७० हजार शिक्षक, कर्मचारी, सुरक्षाकर्मी खटिने छन्।
यो सबै तथ्यांकलाई हेर्ने हो भने एक साताभित्र नेपालभर करिब एक लाख भेला हुनेछन्, सबै एउटै ठाउँमा नभए पनि। विश्वले दुई जनाभन्दा बढीको जमात प्रतिबन्ध लगाउँदै गर्दा हामी यत्रो जमात जम्मा गर्नु कति को उचित होला? लाखौं विद्यार्थी, शिक्षक, कर्मचारी र सुरक्षा कर्मी को ज्यान खत्रामा राखी परीक्षा गर्नु कति उचित भनेर सोचेका त छौँ?
माथिको तथ्यांक त प्रतक्ष्य रूपमा संलग्न हुने हरुको मात्र हो। घर टाढा भएर परीक्षा केन्द्रसम्म जाँदा बस अथवा आफ्नो कुनै परिवारको सदस्यसँग जानु पर्ने हुन्छ। अझ लकडाउनको खबर आएर काठमाडौं अथवा अन्य कुनै सहर मा पढ्न बसेका तर घर निकै टाढा भएका विद्यार्थी घर फर्किसकेका छन्। उनीहरू परीक्षा दिन फेरि काठमाडौंस्थित परीक्षा केन्द्र आउन नै पर्दछ।
यदि लक डाउन खुल्यो तर सवारी साधन सुलभ पाइएन भने त्यो विद्यार्थी आफ्नो परीक्षा केन्द्र आउने कसरी? पाईहल्यो भने पनि टाढाबाट बस चडेर आउँदा उ अरुसँग सम्पर्कमा पर्ने जोखिम बढ्छ र कोरोनाबाट संक्रमित हुने सम्भावना बढ्न पुग्छ।
विश्वले सतर्कता अपनाइ रहेको बेला हामी एक विद्यार्थीको ज्यान जोखिममा राखी उसलाई परीक्षा दिन बाध्य त परिरहेका हुने छैनौँ? यो सोच्न जरुरी छ। यी बाहेक लेख्ने कपी, प्रश्न पत्र, प्रतक्ष्य रूपमा भेटबाट कोरोना संक्रमण हुने जोखिम बढ्छ।
अब कुरा गरौं सतर्कताको, परीक्षा बोर्डले भन्ला- 'हामी सबै परीक्षार्थीको ज्वरो नापी, स्वास्थ्य परीक्षण गर्छौँ।' कोरोना रोग कस्तो पनि हुन सक्छ भने, एक व्यक्तिलाई लाग्दा लाग्दा पनि उसमा केही लक्षण देखा नपरेको हुन सक्छ। यदि एउटा विद्यार्थीमा ज्वोरो जस्ता केही लक्षण देखा नपरी कोरोना लागेको रहेछ भने उसले आफ्नो साथीहरूलाई कोरोना सार्न सक्छ।
अझ उसको उत्तरपुस्तिकाबाट अन्य व्यक्तिमा पनि। यसको जिम्मा कसले लिने? ल मानौं सबैको परीक्षण गरियो र एक विद्यार्थीमा ज्वरो जस्तै कोरोनाको लक्ष्यण देखियो तर कोरोना लागेको छैन। यस्तो विद्यार्थी भेटिँदा उसलाई अवश्य पनि परीक्षा दिनबाट रोक्न पर्दछ। अब त्यो विद्यार्थीले परीक्षा दिन पाउने छैन, किनभने उसलाई केही लक्षण मात्र देखेको छ।
नियमित परीक्षाबाट वञ्चित गर्दा यसको असर उसको पूरा जीवन कालसम्म रहिरहनेछ। त्यही भएर यो सोच्न जरुरी छ, के हामी विद्यार्थीको भविष्य जोगाउने भनेर उसको भविष्य खराब त गर्दै छैनौँ? अझ विश्वमा हजारौंको संख्यामा ज्यान गइरहेका बेला एक विद्यार्थी आफ्नो परीक्षा केन्द्रमा परीक्षा दिन जाँदा त्रसित हुनु स्वभाविक हो।
त्रास व्यक्ति व्यक्तिमा फरक पर्छ। कोही विद्यार्थी कम त्रसित हुन सक्छन् भने कोही अलि बढी। अब मानौं एक विद्यार्थी पढाईमा अब्बल छ तर अलि बढी त्रसित हुन्छ। त्यो विद्यार्थीले त्यस्तो अवस्थामा अवश्य पनि सन्त भएर परीक्षा दिन सक्ने छैन र त्यसको असर उसको परीक्षाफलमा देखिन पुग्छ। सधैं परीक्षामा राम्रो अंक ल्याउने एक विद्यार्थीको बोर्ड परीक्षामा राम्रो अंक ल्याएन भने हिनताबोध हुन्छ। यो हिनताबोध हुन पुग्यो भने यसको जिम्मा कसले लिने? हिनताबोध ले आत्महत्या निम्त्यायो भने नि? सोच्न जरुरी छ।
हामी मानिस स्वार्थी हुन्छौँ, प्रायः जीवनको एउटा पाटा मात्र हेर्न पुग्छौँ। यो निर्णय लिने बेलामा पनि परीक्षा सम्पन्न गर्ने पाटो त हेरिरहेका छैनौँ?
विश्वभर हजारौंको ज्यान गैरहेका बेला, छिमेकी भारतमा संक्रमण बढिरहेका बेला, सबै नागरिक आतंकित भइरहेका बेला, यति धेरै जमात संलग्न हुनेगरी परीक्षा सञ्चालन गर्न हतास नगरौं। यो माहोललाई शान्त हुन दिउँ र ढुक्कसँग परीक्षा सञ्चालन गरौं। त्यसैले परीक्षा १-२ महिना टाढा सारे केही फरक पर्दैन।
पछिका शिक्षा तालिका समायोजन गर्दा केही फरक पर्दैन। विश्व अर्थतन्त्र लगायत कयौं कुराको समायोजन हुने नै हुँदा आगामी वर्षहरुको पनि परीक्षा समायोजन गर्दा केही फरक पर्दैन। अहिले हाम्रो प्राथमिकता एसईई र कक्षा १२ को परीक्षा हैन, कोरोना को संक्रमण रोक्ने हो।
यसको लागि सरकारलाई साथ दिउँ, सरकारले लकडाउनलाई निरन्तर दिने छ भन्ने विश्वस्त छु।