काठमाडौंमा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा केहीसाताअघि सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंले ‘कुनैबेला आफूलाई शिक्षक बन्ने रहर जागेको’ बताउनु भएको थियो। अझ थप्दै, ‘गुरुहरूलाई देखेर मास्टर बन्ने रहर’ पलाएको पनि बताउनुभयो।
तर ‘दुर्भाग्यवश’ तपाईं शिक्षक बन्नु भएन। नत्र हामीले जस्तै नियति भोग्नुपर्ने थियो होला। तर तपाईंले गुरुहरू देखेर शिक्षक बन्ने रहर पलाउँदा मलाई भने दलित झुपडीमा हुर्केका पिछडिएका जनजातिका लोग्नेमान्छेहरू कमाइ गर्न विदेशतिर अनि आमाहरू गाउँमै ज्यालादारीमा काम गर्नेहरूका ती बच्चा धुलो माटोमा खेलेर स्कुल नगएको देख्दा शिक्षक बन्ने रहर पलाएर आयो।
फरक त्यति हो तपाईंले देश बनाउने सपना देख्नुभयो, मैले बच्चाको भविष्य।
मैले आदर्श मानेको व्यक्तित्व अहिले प्रधानमन्त्री हुनुहुन्छ। म तपाईंका प्रत्येक भाषण र भनाइ प्राय: छुटाउदिनँ। तपाईंको स्वास्थ्यको सधैंजसो कामना गरिरहेको हुन्छु।
प्रधानमन्त्रीज्यू,
तपाईंले सधैं भन्दै आइरहनु भएको कुरा हो ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ, भ्रष्टाचार गरे, सहन्नँ’ तर तपाईंलाई थाहा छ, प्रधानमन्त्रीज्यू
शिक्षा क्षेत्रका कति भ्रष्टाचार व्याप्त छ?
आर्थिक वर्ष ०७५/ ७६ को प्रतिवेदनले पनि भ्रष्टाचार हुने क्षेत्रमा शिक्षाले दोस्रो स्थान ओगटेको देखिन्छ।
यो निष्कर्ष आयोगमा दर्ता भएका उजुरीका आधारमा निकालिएको हो। शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी १६.९५ प्रतिशत र नक्कली शैक्षिक प्रमाणपत्रलगायत लाइसेन्सबिनाका शिक्षकहरूको संख्या ८.५३ प्रतिशत रहेको देखिन्छ।
प्रष्ट छ,हामीले हाम्रा सन्ततीलाई योग्य नागरिक बनाउने हो भने, देशलाई भ्रष्टाचारमुक्त बनाउने हो भने, हामीले पढाएका सिकाएका बालबच्चाले भोलि देश चलाउने हो भने उनीहरू भ्रष्ट नबनुन् र नहुन् भन्ने सोच्ने हो भने आजैदेखि आफैंले पढाएको क्षेत्रमा हुने विकृति र विसंगतिविरूद्ध आवाज किन नउठाउने?
प्रधानमन्त्रीज्यू,
कतै पढेको थिएँ।
‘बाबु, आमा र शिक्षक जसले देशलाई भ्रष्टाचारमुक्त र सुन्दर बनाउन सक्दछन्’ यो भनाइ भारतीय पूर्वराष्ट्रपति स्वर्गीय अब्दुल कलामको हो।
हामी अब्दुल कलाम जस्तो नभए पनि उहाँले देखाएको मार्गदर्शनलाई पछ्याउन त सक्छौं। यसमा के बिग्रन्छ र!
नागरिकको दायित्व पूरा गर्ने हो भने, यदि हामी नै भ्रष्टलाई आँखा चिम्लिन्छौं भने, भ्रष्टाचारका विषयमा बोल्दैनौं भने पारदर्शिता जान्न र बुझ्न हाम्रो पनि हक अधिकार हो भन्ने हेक्का राख्दैनौं भने अवश्य पनि हामीले देशका लागि योग्य कर्णधार नागरिक उत्पादन गर्न सक्दैनौं।
प्रधानमन्त्रीज्यू, यी अधिकार उठाउने अधिकार शिक्षक/ शिक्षिकाको हुन्छ कि हुन्न? सोध्न मन लाग्यो।
भ्रष्टाचारका विषयमा जान्न आम नागरिकको दायित्व सम्झेर उजुरी गरिसकेपछि त्यो यथाशिघ्र छानबिन हुनुपर्दछ कि पर्दैन ? सोध्न मन लाग्यो।
प्रधानमन्त्रीज्यू, तपाईं बालबालिकाहरूसँग रमेको, बालबालिकालाई माया गरेको, बालबालिकामा भविष्य देखेको देख्दा ठूला मानिस सानासाना कुरामा कति संवेदनशील हुन्छन् भन्ने लाग्छ।
शिक्षा आयोग पास गरेर सेवा सुरू गरेका हामी जस्ताले खुरुखुरु विद्यार्थी मात्र पढाउने हो कि विद्यार्थीलाई योग्य बनाउन पहिला आफू योग्य हुनुपर्ने हो ? योग्य योग्यतामा मात्र हुँदैन।
पाँच वर्षसम्म भ्रष्टाचारमा लिप्त भएपछि बारबार शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालयलगायत शिक्षासम्बन्धी निरीक्षकहरूलाई गुनासो गर्दासमेत नभएपछि अख्तियारलाई समेत जानकारी गराउँदा नसुनेपछि प्रधानमन्त्रीज्यूले नै गठन गरेको भ्रष्टाचार सुशासन प्रवर्द्घनमा पठाएको हो। यस्ता विषय लिखितमात्रै गरिँदैन मौखिक जानकारी पनि दिइन्छ।
तर यहाँ त लिखित नै दिइएन भनेर भनिन्छ, यो कुनै तरिका हो?
प्रधानमन्त्रीज्यू,
प्रत्येकले आफ्नो क्षेत्रबाट विशेषगरी शिक्षा क्षेत्रबाट आफूले कार्यरत रहेको पाठशालाबाट आवाज उठाउनु आजको आवश्यकता होइन र? विद्यार्थीलाई राष्ट्रको ढुकुटी र भ्रष्टाचारको विषय जानकारी गराउन जरुरी छ। भ्रष्टाचार गर्नु भनेको अपराध हो भन्ने हेक्का दिलाउनु जरुरी छ।
तर हुँदैन किनभने तिनै शिक्षक/शिक्षिकाहरू भ्रष्टाचारी छन्।
भ्रष्टाचारीले पढाएका विद्यार्थीहरू भविष्यमा भ्रष्ट नबनेर के बन्लान्? सोचनीय प्रश्न छ।
केही दिनअघि वर्तमान शिक्षा मन्त्रीलाई सम्बोधन गर्दै एउटा ब्लक सेतोपाटीमा प्रकाशित भएपछि महोत्तरी जिल्लाकै एक प्रवुद्ध शिक्षाविद् भेट्न आउनु भयो। उहाँ लेखबाट प्रभावित हुनुभएछ। आउँदै गर्दा बाटोमा उहाँले दुई विद्यालयमा छड्के जाँच गर्नुभएछ। त्यहाँ सतप्रतिशत विद्यार्थी थिएनन्। तर हाजिरीमा सबै उपस्थित थिए। उहाँले सुनाउनु भयो।
प्रधानमन्त्रीज्यू,
अब भन्नुस् यी साना-साना कुरामा भ्रष्टाचार भएका कुरालाई त हामीले देखेको नदेखेझैं गर्छौं भने ठूला ठूलाको त कुरौं छाडौं।
जुनदिनबाट विद्यार्थीहरूले सरकारबाट अनुदान पाउन थाले प्रधानाध्यापिकाले सतप्रतिशत हाजिरी उपलब्ध गराउँछिन्।
विद्यालय निरीक्षक, शिक्षा अधिकारी सबैलाई थाहा छ विद्यार्थीहरू सतप्रतिशत उपस्थित हुँदैनन्।
प्रत्येक विद्यार्थीका दैनिक खाजा, भत्ता, शौचालयलगायत दैनिक स्टेशनरी सामानहरूमा सानासाना भ्रष्टाचार अनेकौं छन्। खै अनुगमन ? खै खबरदारी?
यी सबै कुरामा भ्रष्टाचार हुने कुरामा निरीक्षकदेखि शिक्षा अधिकारीलाई समेत थाहा हुन्छ तर उनीहरू ह्या… भैहाल्छ नि किन रिस्क मोल्ने ? किन बाठो हुने? किन टेन्सन लिने? भन्नेतिर लाग्छन्। यो त भएन नि। होइन र?
प्रधानमन्त्रीज्यू,
सबै विद्यालयमा भ्रष्टाचार व्याप्त छ भन्दिनँ म। सुनेको छु म कार्यरत स्कुल नजिकै जनयुद्धका श्रद्धेय शहिदका नाममा खोलिएको स्कुलको व्यवस्थापन चुस्तदुरुस्त छ। बर्दिबास नगरप्रमुखको प्रत्यक्ष निगरानीमा रहेको निर्मल लामा पोलिटेक्निकको व्यवस्थापन उच्च छ। त्यहाँ विभिन्न जिल्लाबाट पढ्न आएका छन् त्यतिभित्र र पहाडको खोंचमा भए पनि नगरप्रमुखको चाहना र निगरानीले त्यो स्कुलको चर्चा अरु जिल्लामा समेत हुनु, पढ्न त्यहाँ आउन रहर गर्नु यी राम्रा पक्ष होइनन् र?
हामीले खोजेको पनि त्यही हो। मैले खोजेको पनि त्यही हो ।
तर यसभन्दा पहिलाको सरकारले नियुक्त गरेको राहत कोटामा प्रधानाध्यापिका रहेको मेरै स्कुलमा बारबार मैले पारदर्शिताका विषयमा कुरा उठाउँदा प्रत्येक दिन मिटिङ हुनुपर्ने कारण के छ ? सम्बन्धित निकायबाट छानबिन हुने सूचना प्राप्त भैसकेपछि त्यतिबेलासम्म नबसेर किन आत्तिनुपर्ने?
प्रधानमन्त्रीज्यू, शिक्षामा संस्कार बसाल्नु छ भने हाम्रालाई भन्दा राम्रालाई प्राथमिकता दिन जरुरी छ।
स्थायी शिक्षकको हालसम्म ८० हजार तीनसय १२, अस्थायी ३० हजार १ सय अठ्ठाइस र राहत ८० हजार तीन सय आठ रहेका छन्। यिनै अस्थायी र राहतबाट परीक्षा लिएर स्थायी शिक्षकको बढाइयो भने धेरै हदसम्म ‘राम्रा’ आउन सक्छन्। र बारबार विभिन्न आयोग फेल भएकाहरूको चलखेल गर्ने र हालीमुहाली गर्ने प्रवृति घट्ने छ।
(लेखक शिक्षिका हुन्।)