प्रिय दिलीप महतो। तिम्रो मृत्यु (हत्या) भन्दा अगाडिसम्म तिमी को हौं भनेर मैले चिनेको पनि थिइनँ। मृत्युसँगै तिमी सामाजिक सन्जालहरूमा जुझारु, साहसिक, समाजसेवी युवाको रुपमा भाइरल भएका छौ। तिम्रो गाउमा कहिल्यै नपुगेका, तिम्रो गाउँको नाम पनि नसुनेका नेता तथा मन्त्रीहरू अहिले तिम्रो घरमा पुगेर परिवारलाई सान्त्वना दिरहेका छन्।
सरकारले तिम्रो मृत्युलाई पैसासँग हिसाब गरिरहेका छन्। तिम्रा आफन्त तथा साथीभाइहरू सडक तताइरहेका छन्। पत्रकारहरूले तिम्रो नाममा लेखिएको समाचारको हेडलाइन बनाइरहेका छन्। तिमी अहिले हिरो बनेका छौ, यत्रतत्र तिम्रै चर्चा चलिरहेको छ।
तर, थाहा छ दिलीप! मलाई तिमीमाथि रिस उठिरहेको छ। तिम्रो परिवारलाई देखेर दया लागिरहेको छ। तिम्रो बलिदान बालापनजस्तो लागिरहेको छ।
तिमीले के सोचेर आफ्नो बलिदान दियौ मैले बुझ्न सकिरहेको छैन। तिमीलाई के लाग्छ- तिमी एक जनाले गरेर, एक जनाले बलिदान दिएर समाज परिवर्तन गर्न सक्थ्यौ? बेतिथि रोक्न सक्थ्यौ? कदापि पनि सक्दैन थियौ। यहाँ समाज परिवर्तनका ठेकेदारहरूले नै तिम्रो बोली बन्द गरे।
तिमीले सकेसम्म बोल्ने हिम्मत गर्यौ। त्यो तिम्रो साहस होइन, मुर्खता थियो। तिमीले थोरै इतिहासको पाना पल्टाएर हेर्नपर्थ्यो। तिमीले केही कुरा बुझ्नु पर्थ्यो। तिमी थोरै स्वार्थी बन्नु पर्थ्यो। तिमी थोरै कायर बन्नु पर्थ्यो।
खेतीपाती गरेर घरपरिवार चलाएर जोगाएको पैसाले तिम्रो बुबाले तिमीलाई इन्जिनियरिङ पढाइरहनु भएको थियो। जसो तिम्रो अध्ययन अगाडि बढिरहेकै थियो। तिम्रो आमाबुबाको सपना बुनिँदै थियो। बहिनीहरूको भविष्यको कल्पना सङ्गालिँदै थियो। तिमी आमाबुबाको बुढेसकालको सहारा हुन्थ्यौ। बहिनीहरूको भविष्य राम्रो बनाउँथ्यौ। जीवनस्तर उकास्थ्यो।
यी सबै सपनाहरू तिम्रो पढाइसँगै जोडिएको थियो। सायद यी कुराको बारेमा तिमीले बुझेनौं अथवा बुझ्ने प्रयास गरेनौं।
समाजसेवा वा सामाजिक कार्य भनेको समाजका लागि गर्ने काम हो। जो आफ्नो व्यक्तिगत कामभन्दा फरक हुन्छ। जसले आफ्नो घर परिवार भन्दाबाहिर अन्य घर परिवारका पारिवारिक सदस्यहरूदेखि समुदाय हुँदै सिंगो राष्ट्रलाई पनि सहयोग गरिरहेका हुन्छन्। सायद तिमीले पनि त्यस्तै गर्ने प्रयास गर्यौ तर त्यो भन्दा अगाडि तिमीले आफ्नो घर परिवारप्रति रहेको आफ्नो उत्तरदायित्व पूरा गर्न पर्थ्यो। घरपरिवारको बारेमा सोच्न पर्थ्यो, तिमीले आफ्नो बारेमा सोच्न पर्थ्यो।
घरपरिवारको सेवाबिनाको समाजसेवाले कुनै अर्थ राख्दैन। तिमीले सामाजिक जिम्मेवारीभन्दा परिवारिक जिम्मेवारीलाई प्राथमिकतामा राख्नु पर्थ्यो। यदि तिमीले आफ्नो परिवारको बारेमा मात्र सोचेको भए सायद तिमीलाई कसैले चिन्दैन थियो होला। सर्वत्र तिम्रो चर्चा चल्दैन थियो होला।
तर, तिम्रो आमाको आँखाबाट अविरल बगिरहेको आँशु रोकिन्थ्यो होला। तिम्रो बुबाको वैशाखी भाँचिदैन थियो होला। बहिनीहरूको ओठमा रोदन हैन मुस्कान रहन्थ्यो होला।
तिमीलाई यी सब कुरा भनिरहँदा कतिले मलाई स्वार्थी भन्लान्। कतिले मलाई कायर, डरपोख भनिरहेका होलान्। तर, मलाई यस्तो कुराले केही फरक पर्दैन। किनभने म स्वार्थी छु र त जिउँदो छु। कायर छु, डरपोख छु र त जिउँदो छु। मलाइ दिलीप महतो बन्नु छैन र म चाहन्न। फेरि कोही दिलीप महतो नबनोस्।