मिलन त्रिताल
देशभरको अनुमानलाई गलत साबित गर्दै हालै धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी बने। इतिहासमै धरान नेकपाको सबैभन्दा सुरक्षित गढको रुपमा परिचित छ। झन् नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपश्चात बनेको नेपाल कम्युनिस्ट पार्टीलाई धरानमा हराउनु चानचुने कुरा थिएन।
धरानका राजनितिक विश्लेषक प्राध्यापक डा. राजेन्द्र शर्माको बुझाइमा यसपटकको निर्वाचनमा अप्रत्यासित परिणाम आउनुमा नेकपाको बेमेलसँगै अंकगणितीय हिसाब-किताब भएको बताउँछन्। उनको बुझाइमा बामपन्थीले धरानलाई आफ्नो बिर्ता ठान्नु, आफ्नो दलबाट जस्तोसुकै उम्मेदवार उठाए पनि जित्छ भने मानसिकता हुनु, विभिन्न गुट उपगुटको उदय हुनु र धरानका जनप्रतिनिधिले जनताका आकांक्षा पूरा गर्न नसक्नु नै धरानमा कम्युनिस्टको हारको कारण भएको शर्माको ठम्याइ छ।
अर्का राजनितिक विश्लेषक तथा भाषाविद् प्रा.डा टंकप्रसाद न्यौपानेको दृष्टिकोणमा संगठन बलियो हुँदाहुँदै काम गर्ने तौरतरिकामा जनप्रतिनिधिहरूले ध्यान दिन नसक्दा र त्यसतर्फ समयमै पाटीको समेत ध्यानाकर्षण हुन नसक्दा नेकपाविरुद्ध अभिमत जाहेर भएको दाबी गर्छन्।
मुलुकमा नयाँ संविधान जारी भएर स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुँदा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीले सबै तहमा प्रचण्ड मतका साथ करिब दुई तिहाइ बहुमत प्राप्त गरेको अवस्थामा धरानमा समेत २०७४ को निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार तारा सुब्बाले उनै तिलक राईलाई ४ हजार ८ सय ७३ मतले पराजित गरेका थिए। उक्त समयमा माओवादी उम्मेदवारले ११ हजारको हाराहारीमा मत हासिल गरेका थिए।
विगतको मतपरिणामलाई हेर्ने हो भने अहिलेको उपनिर्वाचनमा नेपाली कांग्रेसभन्दा नेपाल कम्युनिस्ट पार्टी १६ हजार मतको सुविधाजनक अग्रतामा रहेको अवस्थालाई उल्ट्याउँदै तिलक राईले आफूले विगतमा पाएको मतमा उल्लेखनीय सुधार गरे। २ हजार ७ सय ९५ मतका साथ उनले जित दर्ता गराएका छन्। धरानको नजिताले सत्तारुढ दल नेकपालाई गम्भीर धक्का लागेको छ।
यो पटकको निर्वाचनमा धरानका जनताले क्रमभङ्ग गर्दै नेपाली कांग्रेसका उम्मेदवार तिलक राईलाई मत दिएर धराने जनतामा रहेको परिवर्तनको चाहना प्रकट गरेका छन्। कांग्रेसले धरान उपमहानगरपालिकाको प्रमुख पदमा आफ्नो घर झगडालाई साम्य पार्दै आफ्ना नगर सभापति तिलक राईलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णयको फाइदा उठाउँदै राई धरानका हरेक मतदाताहरूको घर-घरमा धरानका समस्या समाधान गर्न आफ्ना चुनावी एजेण्डा बोकेर घरदैलो कार्यक्रममा पुगे। धरानमा स्थानीय सरकारले बढाएको अचाक्ली कर, खानेपानी समस्या र गुम्दै गएको धरानको करिश्मा फर्काउन एक पटक धराने जनताले राईलाई छनोट गरेका छन्।
धरानको मेयरमा नेपाली कांग्रेसले जित हासिल गरे पनि अझै धरानको विकास र समृद्धिलाई नतिजामा परिणत गर्ने निर्णायक शक्ति नेकपामै छ। यही परिप्रेक्ष्यमा धरानका नयाँ मेयर तिलक राईलाई नेकपालाई रिझाँउदै आफूले जनतालाई गरेका बाचा तथा संकल्प पूरा गर्नु छ। जनताको परिवर्तनको चाहनालाई पूरा गर्ने अभियानमा बाँकी रहेको करिब अढाइ वर्षे कार्यकालमा नयाँ मेयरका संभावित मुख्य चुनौतीहरू निम्न हुन सक्लान्।
नेकपाको बहुमत
भारी मतान्तरले धरानको नगर प्रमुख पदमा निर्वाचित भए पनि अढाइ वर्षे कार्यकाल पूरा गर्न नयाँ मेयरलाई फलामे च्युरा चपाउनु सरह छ। यसको मुख्य कारण धरान उपमहानगरपालिकाको कार्यपालिकामा रहेको नेकपाको सुविधाजनक बहुमत हो। आफूले गरेको संकल्प पूरा गर्दै कार्यकाल बिताउन नेकपालाई रिझाउदै छिमेकी नगर इनरुवा र सुन्दर-हरैँचाका मेयर राजन मेहता र शिवप्रसाद ढकालकै पदचाप पछ्याउन जरुरी छ। धरानको विकास र समृद्धिका लागि आफूले जनतालाई दिएका सबै बाचा पूरा गर्ने र स्थानीय सरकारमा सत्तारुढ र प्रतिपक्ष कोही नहुने भएकाले सबै दल, सरोकारवाला र जनतालाई साथ लिएर अघि बढ्नुपर्ने देखिन्छ।
कर समायोजन
जब अघिल्लो निर्वाचनमा धरानमा हालको नेपाल कम्युनिस्ट पार्टीले सुविधाजनक बहुमतका साथ निर्वाचन जित्यो, तब धरानमा स्थानीय सरकारले उठाउने करमा अस्वाभाविक बृद्धि भयो। कर बृद्धिविरुद्ध आन्दोलनको जेहाद नै छेड्नुपर्ने देखिन्छ। तत्कालीन मेयर तारा सुब्बाको निधन भएसँगै रिक्त रहेको मेयर पदमा भएको निर्वाचनमा समेत नवनिर्वाचित मेयरले कर समायोजनकै विषयलाई मुल चुनावी एजेण्डा बनाएका छन्। बिहानीले दिनलाई संकेत गर्छ भनेझैं पदबहालीकै दिन नवनिर्वाचित मेयर राईले कर घटाउने प्रस्ताव कार्यपालिका बैठकमा पेश गर्न हस्ताक्षर गरिसकेका छन्। यद्यपि, नेकपाको सहयोग तथा समर्थनबिना उनी एक्लै र कांग्रेसबाट निर्वाचित पाँच जना वडाध्यक्षको प्रयासमा मात्र कर घटाउन असम्भवप्राय: छ। कर घटाउँदै जनतालाई राहत दिन सकेको खण्डमा उनले जनतालाई दिएको बाचा पूरा हुन सक्छ र आफ्नो राजनीतिक कद थप उचाइमा पुग्नेमा दुई मत छैन।
खानेपानी समस्या
भौगोलिक सुन्दरता र वातावरणीय दृष्टिकोणले धरान अत्यन्त सुन्दर र बसोबासयोग्य सहर हो। यद्यपि, धरानको मुख्य समस्या भनेको खानेपानीकै हो। हरेक पटकको निर्वाचनमा खानेपानी समस्या सबै दल र उम्मेदवारहरूको चुनावी एजेण्डा हुने गरेको छ। यसपटक पनि तिलक राईले धराने जनतालाई आफू मेयर पदमा निर्वाचित भए धरानको खानेपानी समस्या समाधान गर्ने संकल्प गरेका छन्। लामो समयदेखि निष्कर्षमा पुग्न नसकिरहेको धरानको खानेपानी आयोजनालाई निर्धारित मापदण्ड अनुरुप नै पूरा गर्नु नयाँ मेयरको अर्को चुनौती हो।
व्यवस्थित बसपार्क
पछिल्ला केही वर्षयता धरान साँघुरो सहरको रुपमा परिणत हुँदै गइरहेको छ। यहाँको व्यवस्थित बसपार्क निर्माण गर्नु नयाँ चुनौती बनेको छ। हरेक चुनावी एजेण्डामा रहने गरेको बसपार्कको समस्या समाधान गर्दै धरानलाई थप व्यवस्थित र आकर्षणको केन्द्र बनाउँदै धरानको पुरानो गुल्जार फर्काउन उनको एकल निर्णयले मात्र सम्भव छैन। यसका लागि सहयात्री सबै दल, सरोकारवाला, नागरिक समाज र धराने जनतालाई विश्वासमा लिनु जरुरी छ।
सुकुम्बासी समस्या समाधान
धरान यस्तो निर्वाचन क्षेत्र हो जहाँ हरेक निर्वाचनमा सुकुम्बासीको मत निर्णायक हुने गरेको छ। यसपटकको निर्वाचनमा समेत सुकुम्बासीकै मतका कारण तिलक राईले धरानको मेयर पदमा विजय गरेका छन्। सुकुम्बासी समस्या तत्कालीन समस्या होइन, यो वर्षौंदेखिको समस्या हो। यसअघि यस क्षेत्रबाट निर्वाचित हुने मेयर तथा सांसदले पनि त्यहाँका सुकुम्बासीलाई सुकुम्बासी समस्या समाधान गर्ने बचन नदिएका होइनन् तर सुकुम्बासीलाई जहिल्यै भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने परिपाटीलाई नयाँ मेयरले तोड्छन् वा निरन्तरता दिन्छन् त्यो भने भावी दिनहरूले देखाउनेछ।
अन्त्यमा, निर्वाचन लोकतान्त्रिक व्यवस्थाको प्राण हो। जुनसुकै क्षेत्रमा निर्वाचनको जस्तोसुकै परिणाम आए पनि त्यो सर्वोपरी निर्णय हो। किनकि, लोकतन्त्रका सबैभन्दा ठूला हिमायती जनता हुन्। प्राचीन सभ्यता र आधुनिक सहरका हिसाबले ऐतिहासिक नगर धरानमा पनि जनमतमार्फत नेतृत्व परिवर्तन भएको छ। अब हिजोका चुनावी प्रतिस्पर्धालाई बिर्सिएर धरानको समृद्धि र धरानबासीको हितमा सबैलाई समेटेर अघि बढ्दै नेतृत्वप्रति जनताको विश्वास बढाउने दायित्व समेत नयाँ मेयरमा रहेको छ।