मन्त्रीज्यू नमस्कार,
हजुर आरामै हुनुहुन्छ भन्ने आशा गरें, बेठीक हुनुभएको भए समाचारमा सुन्थेँ होला। हजुर नेपाली राजनीतिमा मलाई मनपर्ने थोरै नेता मध्येको एक। त्यसैले पनि यो पत्र लेख्न मलाई खास असहज लागेन।
हजुरको अभिव्यक्ति शैली मलाई निकै मन पर्छ। खैर, यो पत्रमा यी कुराहरू भन्दा पनि एउटा विषयको विनम्र अनुरोध गर्न चाहन्छु, आशा छ सम्बोधन हुनेछ।
केही समय अघि मेरा एकजना मित्र यता फिनल्याण्डबाट बिहेको लागि नेपाल जाने तरखरमा थिए तर जाने केही दिनअघि उनको पासपोर्ट समेत भएको झोला हरायो।
निकै कोशिस गर्दा पनि मित्रको झोला भेट्न सकिएन।
अब नेपाल जानको लागि तत्काल अर्को पासपोर्ट या दूतावासले जारी गरेको कागज चाहिने भयो।
सुरूमा टिकट लिएको दिनको प्लेन छुट्ने निश्चितप्राय: भएपछि उनले प्लेनको टिकट केही दिन पछिको लिए।
नजिकको डेनमार्कमा रहेको दूतावासबाट जारी गरिएको कागज कुरिएर गर्न डेनमार्कमा रहेको कुनै साथीलाई उनले भने।
तर यताको हेलसिन्की विमानस्थलमा कस्तो कागज भनि एकिन नभएसम्म सजिलै विमानस्थल भन्सारबाट छाडिएन, फलत उनको दोस्रो टिकटमा पनि जान मिलेन। अन्तत: उनी तेस्रो पटकमा नेपाल जान पाए।
उनी एक प्रतिनिधि पात्र मात्र हुन्।
यसरी दूतावास नभएर दु:ख पाउने फिनल्याण्डमा थुप्रै नेपाली छन्।
अब यस्तो समस्या अरू देशमा पनि होलान्, सबै देशमा दूतावास राखेर साध्य हुँदैन भन्ने कुरा पनि उठ्ला, तै पनि अन्य नर्डिक र बाल्टिक देशको तुलनामा यहाँको नेपालीको जनसंख्या बढी भएकाले फिनल्याण्डमा दूतावासको आवश्यकता अन्य बाल्टिक र नर्डिक देशमा भन्दा बढी देखिन्छ।
नर्डिक देशहरूमा फिनल्याण्डको मात्र दूतावास नेपालमा छ जसले आफ्नो दूतावासबाट भिसा जारी गर्छ। डेनमार्कको दूतावास काठमाडौंमा थियो तर उक्त दूतावास त्यहाँबाट सारिएपछि नेपालमा दूतावास भएका फिनल्याण्ड र नर्वे रह्यो। यी बाहेक फिनल्याण्डमा दूतावास खोल्नुपर्ने अन्य थुप्रै आधारहरू छन्।
१) नेपालमा फिनल्याण्डको सहयोग : नर्डिक देशमा फिनल्याण्डसँगै नर्वे नेपालको विकासमा धेरै सहयोग गर्ने राष्ट्रमध्ये पर्दछन्। फिनल्याण्डको एसियामा नेपाल र भियतनाम पहिलेदेखिको मित्र जस्तै भन्दा फरक नपर्ला। नेपालको खानेपानी, सरसफाइ, शिक्षा र वन क्षेत्रमा उसको सहयोग निकै धेरै रहेको छ। नर्वेको पनि सहयोग थोरै भने पक्कै छैन। यी दुवै देशसँग नेपालको कूटनीतिक सम्बन्ध ८० को दशकमा भएको कुरा परराष्ट्र मन्त्रालयको अधिकारिक वेबसाइटमा राखिएको छ।
२) काठमाडौंमा भिसा जारी गर्ने नर्डिक राष्ट्रको एकमात्र दूतावास : नर्डिक देशहरूमा हाल काठमाडौंमा भिसा जारी गर्ने एकमात्र दूतावास फिनल्याण्डको दूतावास रहेको छ। छन् त नर्वेको दूतावास पनि काठमाडौंमा छ तर भिसाको सम्पूर्ण प्रकृया दिल्लीमा रहेको दूतावासले हेर्ने गरेको छ। त्यसैले पनि नेपाल सरकारले फिनल्याण्डमा दूतावास खोल्ने कुरालाई जोड दिनुपर्ने देखिन्छ।
३) नेपाली रेस्टुरेन्ट : फिनल्याण्डमा नेपालीहरूको रेस्टुरेन्ट व्यवसाय निकै सफल मानिन्छ। अन्य देशका रेष्टुरेन्टको तुलनामा नेपाली रेस्टुरेन्टहरूको मोह पनि फिनल्यान्डका मानिसहरू माझ निकै छ। यस्तोमा नेपाली रेस्टुरेन्टहरूमार्फत् भिजिट नेपाल २०२० प्रवर्द्धन लगायतका कार्यक्रमका लागी दूतावासले यहाँ महत्वपूर्ण भूमिका खेल्न सक्छ।
४) अन्य व्यवसाय सुरूआतका लागि दूतावासको सहयोग :
फिनल्याण्ड सूचना प्रविधिको क्षेत्रमा अग्रणी देश मानिन्छ। पछिल्ला दिनहरूमा यहाँ अन्य देशका दूतावासले व्यवसाय सञ्चालनका लागि आफ्ना देशका प्रवासीलाई सहयोग गरेको खबरहरू सुन्नमा आएको छ। यस्तोमा थुप्रो नेपालीहरू यहाँ अध्ययन सकी व्यवसाय सञ्चालनको सोचमा पनि हुनुहुन्छ। उहाँहरूलाई सहयोग गर्न सके, यहाँका नेपाली मात्र हैन, आउटसोर्समार्फत् नेपालसम्म पनि राम्रो अवसर खुल्न सक्छ। यस विषयमा दूतावासको भूमिका निकै अहम रहन सक्छ।
५) दोस्रो पुस्ताको नेपाली : फिनल्याण्डमा नेपालीको जनसंख्या बढ्दै गइरहेको छ। करिब ४ हजार नेपाली हाल यहाँ बसोबास गर्छन्। यहाँको अध्यागमनमा पढाइ पश्चात यहीँ रहिरहन धेरै देशको दाँजोमा सहज नियम छ। त्यसैले पढाइ पश्चात यहीँ बस्ने नेपाली विद्यार्थीको संख्या बढ्दो छ। यस बाहेक नेपाली रेस्टुरेन्टहरूमार्फत् सिधै कामको भिसामा आउने नेपालीको संख्या पनि फिनल्याण्डमा उल्लेख्य छ। यसरी कामको भिसा हुनेहरूको परिवार पनि यता हुने भएपछि उहाँहरूको बालबच्चाको संख्या पनि बढ्दो छ। यस्तोमा दोस्रो पुस्ताको नेपालीको संख्या निकै बढ्दै गइरहेकोमा उनीहरूलाई चाहिने सरकारी सुविधा लिन सहयोग पुग्ने देखिन्छ।
६) युरोपियन युनियन अनि हालको अध्यक्षता : फिनल्याण्ड युरोपियन युनियनभित्र पर्छ त्यसमाथि हाल फिनल्याण्डले यसको अध्यक्षता पनि गरिरहेको छ। नेपालको विमानसेवालाई कालो सूचीमा राखिएको अवस्था र यो सूचीबाट नेपाललाई निकाल्न कुरा राख्नुपर्ने आवाज बेलाबेला उठिरहन्छ। दूतावास समयमै यहाँ आएमा, यो विषयमा कुरा उठाउन पनि सहज हुने देखिन्छ।
७) भौगोलिक अवस्था र बाल्टिक देशका नेपालीलाई सहज : बाल्टिक देशबाट सेवा लिन आउने सेवाग्राहीलाई हाल डेनमार्कसम्म पुग्नुपर्ने अवस्था छ। ती देशहरूमा रहेका नेपालीको आय आर्जन तुलनात्मक रूपमा कम पनि छ। यदि बाल्टिक देशहरूलाई पनि हेर्ने गरी यहाँ दूतावास खुलेमा यसले भौगोलिक रूपमा पनि नजिक रहेको फिनल्याण्डमा उनीहरूलाई सेवा लिन आउन सहज हुने कुरामा दुई मत छैन।
८) फिनल्याण्डको राष्ट्रिय ध्वजावाहकको नेपालमा उडान गर्ने चाहना : हालसालै फिनल्याण्डमा बस्ने नेपालीलाई एउटा समाचारले निकै खुसी बनायो। त्यो थियो ‘फिनल्याण्डको फिन-एयर काठमाडौंसम्म सिधा उडान गर्ने’। तर त्यो विषयमा कति प्रगति भयो, समाचार त्यति बाहिर आएको त छैन तर यो सफल भएमा नेपालको भ्रमण वर्षको लागि ठूलो सहायता पुग्ने थियो। यो विषय अगाडि बढेको भए झनै अगाडि बढाउन या बढ्न नसकेको भए यो कुरा अगाडि बढाउन दूतावासले निकै ठूलो देन पुर्याउन सक्थ्यो।
मन्त्रीज्यू, यो मेरो आफ्नो विचार मात्र भए पनि, यहाँ रहनुभएका धेरै नेपालीले चाहनु भएको विषय पनि हो। यस विषयमा फिनल्याण्डभित्र छलफलहरू चलिरहेकै पनि छ। यो पत्र तपाईंले पढ्नुभए पश्चात यस विषयमा सकारात्मक कदम लिन पहल गर्नुहुनेछ भन्ने आशासहित पत्र बन्द गर्ने अनुमति चाहन्छु।
धन्यवाद।
जय देश जय नेपाल।
उही,
प्रकाश पोखरेल
हेलसिन्की, फिनल्याण्ड