चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा डा. जगदीश अग्रवाललाई डिन नियुक्त गरिएको छ। वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षामा संवेदनशील बन्दै त्रिभुवन विश्वविद्यालयले शनिबारदेखि लागू हुने गरी अग्रवालाई डिन नियुक्त गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले अग्रवाललाई डिन नियुक्त गर्ने निर्णय गरेको बालुवाटार स्रोतले बतायो। डा. केसीले वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने माग राखेका थिए। प्रधानमन्त्री निवासमा केसीको प्रतिनिधित्व गर्दै पुगेका वार्ता टोली सदस्यले अग्रवाललाई डिन नियुक्त गर्ने निर्णय भएको बताए।
तर, आइओएममा कनिष्ठ व्यक्ति केपी सिंहलाई नियुक्त गरिएको भन्दै केसी अनसनमा बसेका थिए। केसी अनसनको २० औं दिन शुक्रबार सिंहले राजीनामा दिएका थिए। वरिष्ठताका आधारमा डिन नियुक्ति हुँदा अग्रवाल नै हुनुपर्ने हो।
डा. केपी सिंह र अग्रवाल को वरिष्ठ?
यता, स्वास्थ्यमन्त्री गगन थापाले शनिबारै वरिष्ठ चिकित्सक केसीलाई भेटेर अनसन तोड्न अनुरोध गरेका छन्। तर, केसीले त्रिविको निर्णय पर्खेर बसिरहेका छन्। ‘अहिलेसम्म आधिकारिक जानकारी आएको छैन,’ डा. केसीले भने।
राजनीतिक दलको भागबन्डामा सिंहलाई नियुक्त गरिएको र देशमा सक्रिय मेडिकल माफियाहरूलाई सहयोग गर्न त्रिवि, दलका नेता लागेको केसीले बताउँदै आएका छन्। संसदमा विचाराधिन चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, मेरिटका आधारमा तोकिएको शुल्कमा मेडिकल कलेजहरूले एमबिबिएस भर्ना लिइनुपर्नेलगायत दस बुँदे माग राखी केसी अनसन बसेका हुन्। विगतमा सत्याग्रह तोडिँदा पटक–पटक सम्झौता भए पनि सरकारले केसीका माग पूरा गरेको छैन।
शनिबार केसी अनसनको २१ दिन हो। लामाे समयसम्म अनसन बस्दा केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। डा. केसीले सिंहलाई नियुक्त गर्ने त्रिवि उपकुलपति तीर्थ खनियालाई बर्खास्त गर्न माग गरिरहेका छन्।