आसन्न प्रतिनिधिसभा चुनावका लागि रोल्पाबाट वर्षमान पुनले उम्मेदवारी दिने भएपछि माओवादीका अर्का प्रभावशाली नेता तथा रोल्पाबाट पछिल्लो संविधानसभा निर्वाचन जितेका कृष्णबहादुर महरा विस्थापित भए।
उनले आफूले २०६४ सालमा चुनाव जितेको बहुसंख्यक क्षेत्र समेटेर बनेको दाङ क्षेत्र नम्बर २ रोजे। दाङ जिल्लाका दुई उपमहानगर पर्ने यो क्षेत्र वाम बाहुल्य क्षेत्र हो।
तर जब मुलुकका दुई प्रमुख वाम शक्ति एमाले र माओवादीबीच गठबन्धन गर्ने र पछि पार्टी नै एक बनाउने सहमति भयो। दाङ क्षेत्र नम्बर-२ मा महराको दाबी धरापमा पर्यो।
त्यही क्षेत्रमा एमालेका प्रभावशाली नेता शंकर पोखरेलको पनि दाबी छ। पोखरेलको घर पनि यही निर्वाचन क्षेत्रको विजौरी गाउँमा पर्छ।
२०७०को निर्वाचनमा यो क्षेत्रबाट पराजित पोखरेलले यसपालिको स्थानीय निर्वाचनमा यही क्षेत्रमा लामो समय बसेर मिहिनेत गरेका थिए।
एमाले उप-महासचिवको चुनाव हारेका पोखरेलका लागि सुरक्षित निर्वाचन क्षेत्रको खोजी महत्वपूर्ण छ। एमालेको विद्यार्थी संगठन अखिलका पूर्वअध्यक्ष पोखरेल तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका सीमित विश्वासपात्र हुन्। उनी भविष्यमा एमालेको नेतृत्वको दाबेदारमध्ये पर्छन्।
सुरक्षित निर्वाचन क्षेत्र नहुँदा नेताहरुलाई पार्टीभित्र पनि कमजोर बनाउँछ।
त्यसैले आफूले दु:ख गरेर बनाएको दाङ क्षेत्र नम्बर २ छाड्ने पक्षमा उनी छैनन्।
अर्कातिर महराले पनि दाङ-२ नपाए चुनावै नलड्ने पार्टीलाई भनिसकेको एक माओवादी नेताले बताए।
दाङ-२मा टिकट नपाए घरै बस्ने महराको टिप्पणी सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ।
दुबै नेताले आ-आफ्नो दाबी नछाडेपछि दुई पार्टीको कार्यदलले दाङ-२ विवाद मिलाउने जिम्मा शीर्ष नेतालाई दिएको छ।
दाङ-२ मा दुबै नेताले दाबी गर्नुको मूल कारण यो क्षेत्रमा दाङका अन्य क्षेत्रभन्दा धेरै गठबन्धनको मत धेरै छ।
सदरमुकाम घोराही उपमहानगरकाका १५ वडा, तुलसीपुर उपमहानगरकाका ४ वडा र बंगलाचुली गाउँपालिका यो क्षेत्रमा पर्छन्।
वाम गठबन्धनका दुबै पार्टीमध्ये गाउँपालिकामा माओवादी भोट राम्रो छ भने उपमहागरमा एमाले भोट राम्रो छ। यी तिनै स्थानीय तहमा कांग्रेस भने दोस्रो पार्टी हो। अरू पार्टी यहाँ नगन्य छन्।
स्थानीय तह चुनावमा यो क्षेत्रका २७ वडाबाट सबभन्दा धेरै मत एमालेलाई आएको छ। उसले २२ हजार ६ मत पाएको छ। यहाँ कांग्रेसको २१ हजार १ सय ४६ मत छ भने माओवादीले १७ हजार ५ सय ३५ ल्याएको छ।
एमाले-माओवादीले गठबन्धन नबनाएर दलहरु छुट्टाछुट्टै चुनाव लडेका भए यहाँ कांग्रेस र एमालेको प्रतिस्पर्धा घमासान हुने थियो।
गठबन्धनपछि एमाले र माओवादीको मत जोड्दा ३९ हजार ५ सय ४१ पुग्छ। यो कांग्रेसको भन्दा १८ हजार ३ सय ९५ मत बढी हो।
महरा र पोखरेलले दाङका अरू दुई क्षेत्र छाडेर यही क्षेत्र रोज्नुको कारण पनि कांग्रेससँगको यही फराकिलो मतान्तर हो।
क्षेत्र नम्बर १ मा एमालेको १६ हजार १ सय ३४ मत आएको छ। कांग्रेस र माओवादीको मत भने यहाँ झन्डै उस्तै देखिन्छ। कांग्रेसको १५ हजार ५ सय ५६ आएको छ भने माओवादीको १५ हजार १ सय ३३ मत छ।
कांग्रेससँग मिसिएको लोकतान्त्रिक फोरमको समेत मत जोड्ने हो भनेचाहिँ कांग्रेसको मत धेरै हुन्छ।
यहाँ लोकतान्त्रिक फोरमको ३ हजार ३ सय ५४ मत आएको छ। यो क्षेत्रबाट स्थानीय चुनावमा राप्रपाले झण्डै १५ सय पाएको छ।
कांग्रेसले राप्रपासँग चुनावी तालमेल गरेकाले उसको पक्षमा २० हजार ३ सय ८२ मत पुग्छ।
एमाले माओवादीको मत जोड्दा भने कांग्रेस पछि नै छोडिन्छ। दुबै दलको मत जोड्दा वाम गठबन्धनको पक्षमा ३१ हजार २ सय ६७ मत छ। यो कांग्रेस-राप्रपाको भन्दा ११ हजार बढी हो।
दाङका ३ क्षेत्रमध्ये कांग्रेस बलियो भएको ३ नम्बर क्षेत्रमा हो। यहाँ तुलसीपुर उपमहानगरका १५ वडा, देवीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिका पर्छन्।
यी ३६ वडामा कांग्रेसको मत अरु पार्टीको भन्दा धेरै छ। स्थानीय चुनावमा यो क्षेत्रका वडाबाट कांग्रेसलाई २७ हजार ८३ थियो मत आएको थियो। एमालेले कांग्रेसभन्दा २ हजार कम भोट पाएको थियो। उसले यहाँका वडाहरुबाट २५ हजार ६ सय २७ मत पाएको थियो। यो क्षेत्रमा माओवादीको मत १५ हजार ३ सय ५४ थियो।
साना दलमध्ये राप्रपाको हजार मत छ। अरू दलको नगन्य मत छ।
छुट्टाछुट्टै हुँदा कांग्रेस बलियो भए पनि गठबन्धनको मत जोड्ने हो भने झण्डै १३ हजार मतले उ पछि पर्छ। यहाँ वाम गठबन्धनको मत ४० हजार ९ सय ८१ छ। कांग्रेस र राप्रपाको मत भने २८ हजार ८६ मात्र पुग्छ।
यसरी हेर्दा दाङमा कांग्रेसले वाम गठबन्धनलाई जित्न हम्मेहम्मे देखिन्छ। त्यसमा पनि क्षेत्र नम्बर २ मा कांग्रेससँगको मतान्तर निकै फराकिलो छ। त्यसैले वाम गठबन्धनको जित सहज हुनेछ। त्यसैले पोखरेल र महरा दुबैका लागि यो सुरक्षित क्षेत्र हो।