रौतहटका चार निर्वाचन क्षेत्रमा पछिल्लो स्थानीय तह चुनावमा वडा स्तरमा पार्टीहरूले ल्याएको मतको विश्लेषण गर्दा वाम गठबन्धन दुई क्षेत्रमा अगाडि देखिन्छ।
नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिएपछि असन्तुष्ट बनेका सांसद मुस्ताक आलम एमाले प्रवेश गरेका छन्। उनको प्रवेशले पनि वाम गठबन्धनलाई यहाँ केही लाभ हुने देखिन्छ।
क्षेत्र नम्बर १
रौतहट क्षेत्र नम्बर १मा कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ। कांग्रेसको ११ हजार २ सय ४२ मत रहेको छ। माओवादी केन्द्रको १० हजार ७ सय २० रहेको छ। राजपाको ९ हजार ९ सय ४५, एमालेको ९ हजार १ सय ४७ र फोरमको मत ७ हजार ९ सय ५९ रहेको छ।
एमाले–माओवादी मत जोड्ने हो भने १९ हजार ८ सय ६७ हुन आउछन। राजपा–फोरमको मत १७ हजार ९ सय ४ हुन आउछ।
यी दुई गठबन्धन र कांग्रेस छुट्टाछुट्टै चुनाव लडे भने वाम गठवन्धन र राजपा-फोरम बिच यहाँ प्रतिस्पर्धा हुनेछ। तर कांग्रेसको राजपा-फोरमसँग चुनावी तालमेलको प्रयास सफल भयो भने यी तीन पार्टीको मत वाम गठवन्धनको भन्दा झण्डै १० हजार बढी हुन्छ।
क्षेत्र नम्वर एकमा गौर नगरपालिका, दुर्गाभवती गाउपालिका लगायतका स्थानीय तहहरु पर्छन् ।
क्षेत्र नम्बर २
यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा कांग्रेसले सबैभन्दा धेरै मत ल्याएको थियो। नेपाली कांग्रेसले १६ हजार ९ सय ५७ र दोस्रोमा माओवादी केन्द्रले ११ हजार ४ सय ५८ मत ल्याएको थियो।
यहाँ एमालेले ७ हजार ७ सय ८१, लोकतान्त्रिक फोरमले ८ हजार ६ सय ८१, संघीय समाजवादी फोरमले ५ हजार ६ सय ३१ र राजपाले ३ हजार ९ सय ७२ मत ल्याएका थिए।
एमाले र माओवादीको मत जोड्दा यो क्षेत्रमा १९ हजार २ सय ३९ हुन आउछ । राजपा र फोरमको मत ९ हजार ६ सय ३ मत रहेको छ। त्यसैले राजपा-फोरम गठवन्धन यहाँ वाम गठवन्धन भन्दा कमजोर देखिन्छ।
तर केहि गरी कांग्रेससँग तालमेल भयो भने नेपाली कांग्रेस–राजपा–फोरमको मत जोड्दा २६ हजार ५ सय ६० हुन आउछ। त्यो मत वाम गठवन्धनको भन्दा सात हजारले बढी हो।
यहाँ लोकतान्त्रीक फोरमले पाएको मत कता जान्छ भन्ने पनि महत्वपुर्ण छ। लोकतान्त्रीक फोरम काँग्रेससँग मिसिएको छ। तर आलम फोरम छोडेर एमाले छिरेका छन्। आलम सँगै लोकतान्त्रीक फोरमको मत वामगठबन्धनलाई गयो भने यो गठबन्धन र कांग्रेस-राजपा-फोरम बिच प्रतिस्पर्धा हुनेछ।
आजका अन्य समाचार तर फोरमको मत दुबै तिर बाढियो भने काँग्रेस-राजपा-फोरमलाई चुनाव जित्न सजिलो हुनेछ।
क्षेत्र नम्बर ३
रौतहट क्षेत्र नम्बर ३ मा भने नेकपा माओवादी केन्द्र सबैभन्दा बलियो देखिएको छ। मन्त्री प्रभु साहको प्रभाव क्षेत्र यहाँ गजुरा नगरपालिका, कटहरीमा नगरपालिका लगायतका स्थानीय तहहरु पर्छन्।
यो क्षेत्रका वडाहरुमा माओवादी केन्द्रले १८ हजार ७ सय ६४ मत पाएको छ । कांग्रेसले १३ हजार २ सय ९७, एमालेले १२ हजार २ सय ५० मत पाएको छ । फोरमको ६ हजार ७ सय ५३ र राजपाको ६ हजार ५ सय ८० मत रहेको छ।
यहाँ माओवादी र एमाले पाएको मत जोड्ने हो भने ३१ हजार १४ मत हुन्छ । राजपा र फोरमको मत १३ हजार ३ सय १५ हुन्छ। कांग्रेस–राजपा–फोरम बिच चुनावी तालमेल भयो भने २६ हजार ६ सय १२ हुन आउछ ।
त्यसैले यो क्षेत्रमा वाम गठवन्धन बलियो देखिन्छ।
क्षेत्र नम्बर ४
रौतहट क्षेत्र नम्बर ४ मा बृन्दाबन नगरपालिका, चन्द्रपुर नगरपालिका लगायतका स्थानीय तहहरु पर्छन् । यो क्षेत्र अन्तर्गत पर्ने वडाहरुमा नेपाली कांग्रेसले सबै भन्दा धेरै मत ल्याएको छ। कांग्रेसको २१ हजार २ सय ८५ मत रहेको छ । एमालेले १८ हजार १ सय ८८ र माओवादी केन्द्रले १२ हजार ६ सय ४० मत ल्याएको छ ।
यहाँ राजपाले ५ हजार २ सय ५ र फोरमले १ हजार१ सय ३४ मत ल्याएको छ। कांग्रेस पहिलो पार्टी बनेको भएपनि एमाले र माओवादीको मत जोड्ने हो भने यहाँ पनि गठबन्धननै बलियो देखिन्छ । बाम गठबन्धनको मत ३० हजार ८ सय २८ रहेको छ ।
यो क्षेत्रमा कांग्रेस–फोरम–राजपा मिले भने मात्रै उनीहरु वाम गठवन्धनसँग प्रतिस्पर्धामा आउछन्। उनिहरुको संयुक्त मत २७ हजार २ सय २४ हुन आउछ।
यसरी हेर्दा रौतहटका ४ क्षेत्र मध्ये क्षेत्र नम्बर ३ र ४ मा वाम गठबन्धन बलियो देखिएको छ। क्षेत्र नम्बर २ मा लोकतान्त्रिक फोरमलाई गएको मत कता जान्छ भन्ने कुरा निर्णायक रहन्छ। क्षेत्र नम्बर १ मा राजपा–फोरमको मात्रै तालमेल भयो तर कांग्रेससँग उनीहरु मिलेनन् भने वाम गठबन्धनको पल्ला भारी हुनेछ।
तर कांग्रेस-राजपा-फोरम मिल्ने बित्तिकै उनीहरुनै यहाँ बलियो बन्नेछन्।