दलहरू गठबन्धन गरेरै निर्वाचनमा होमिएपछि सिन्धुपाल्चोकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन रोचक बन्दैछ। सिन्धुपाल्चोक-२ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई कांग्रेसले समर्थन गरेपछि त्यहाँको राजनीतिक सरगर्मी हलक्कै बढेको छ।
यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमाले निवर्तमान सांसद शेर बहादुर तामाङ चुनाव लडदैछन्।
सिन्धुपाल्चोक-१ मा पनि बहालवाला सञ्चारमन्त्री मोहन बस्नेत र पूर्व सञ्चारमन्त्री अग्नि सापकोटाबाट भिड्दैछन्। सिन्धुपाल्चोकका यी दुई ‘हेभिह्वेट’ बिचको प्रतिस्पर्धाले पनि माहोल कम तातेको छैन।
राणाले सिन्धुपाल्चोकबाट वर्षौंसम्म चुनाव जिते। २०४७ सालमा मुलुकमा प्रजातन्त्र स्थापना भएपछि २०४८ मा सम्पन्न पहिलो बहुदलीय चुनावमा देशभरी चार जना मात्र पूर्व पञ्चले चुनाव जितेका थिए-त्यसमध्ये एक थिए, राणा।
तर संविधानसभाका पछिल्ला दुवै चुनाव उनले हारे। उनको उमेर पनि ढल्कदै गएको छ।
तर ‘बुढेसकाल’मा पनि उनले फेरि एकपटक सिन्धुपाल्चोक जित्ने रहर गरेका छन्। राणाले सम्भवत: अन्तिम पटक भन्दै आफ्ना पुराना मतदातासँग भोट माग्नेछन्। तामाङ समुदायको बाक्लो उपस्थिति रहेको दुई नम्बर क्षेत्रमा राणाले विगतमा तामाङ मतदाताकै बलमा निर्वाचन जित्दै आएका थिए।
यसैबीच सिन्धुपाल्चोकको तामाङ भोट धेरै फेरिइसकेको छ। धेरै नयाँ मतदाता थपिएका छन्।
संविधानसभाको पहिलो निर्वाचन २०६४ र दोस्रो निर्वाचन २०७० मा राणा दुई फरक तामाङ उमेद्वारसँग पराजित भए। पहिलोमा माओवादी केन्द्रका दावा तमाङ र दोस्रोमा एमालेका शेरबहादुर तमाङले उनलाई हराए।
यसपटक शेरबहादुर सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा र दावा सोहि क्षेत्रबाट प्रदेश सभामा उठ्दैछन्।
राणाले यसपटक चुनाव जिते भने यी दुबैसँग एकै पटक बदला लिन पाउनेछन्।
तर यो क्षेत्रमा चुनाव जित्न भने उनलाई बुढेसकालमा फलामको च्यूरा चपाए सरह हुनेछ।
पछिल्लो स्थानीय तहमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतपरिणाम हेर्ने हो भने वाम गठबन्धन यहाँ धेरै बलियो देखिन्छ।
सिन्धुपाल्चोक-२ मा पाँचपोखरी गाउँपालिका, हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका सहित अधिकाशं नगर क्षेत्र छन्।
स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्षका उम्मेद्वारहरुले प्राप्त गरेको मत जोड्ने हो भने २६ हजार ५ सय ७० हुन्छ। माओवादीका उमेद्वारले यहाँ १४ हजार २ सय ८० भोट ल्याएका छन्।
जबकी यहाँ राप्रपाको जम्मा ८ हजार ५ सय ३७ र कांग्रेसको २१ हजार ४ सय ८२ भोट छ।
एमाले र माओवादी मत जोड्दा ४० हजार ८ सय ५० हुन्छ। कांग्रेस र राप्रपाको भोट जोड्दा ३० हजार १९ हुन्छ। अर्थात जितका लागि दश हजार भन्दा ठूलो मतको खाडल राणाले पुर्नुपर्ने हुन्छ।
‘अन्तिम पटक’ मौका मागेका राणालाई विगतका चुनावहरुमा भोट हालेका केही मतदाताले सहानुभूती मत दिने सम्भावना छ। तर त्यस्ता मतदाताको संख्या स्थानीय तहको चुनावमा देखिएको रूझान उल्टाउन प्रयाप्त हुने सम्भावना भने अहिले कमै छ।
सिन्धुपाल्चोकमा राणाको क्षेत्रमा मात्र होइन वर्तमान सञ्चारमन्त्री र पूर्व सञ्चारमन्त्री बिचको भिडन्त पनि रमाइलो बन्दैछ। क्षेत्र नं १ मा माओवादीका अग्नि सापकोटा र कांग्रेसबाट मोहन बस्नेत भिड्दैछन्। शेरबहादुर देउवा कांग्रेसमा शक्तिशाली बनेसँगै बस्नेत केन्द्रीय राजनीतिमा प्रभावशाली छन्। त्यस्तै प्रचण्ड निकट सापकोटामा पनि राष्ट्रिय राजनीतिमा प्रभावशाली छन्।
सिन्धुपाल्चोकको क्षेत्र नं २ रोजेका सापकोटा एमालेसँगको गठबन्धनका कारण अन्तिम समयमा १ नंम्बरमा पुगेका हुन्।
क्षेत्र नं १ मा पनि चौतारा साँगाचोक नगरपालिकाको २,३,४ र ९,१० वडा छन्। यसले सापकोटालाई सहज बनाउने छ। त्यस्तै क्षेत्र नं १ मा सिन्धुपाल्चोकका जुगल, त्रिपुरासुन्दरी, लिसंखु पाखर, भोटेकोसी, बलेफी, सुनकोसी गाउँपालिका छन् भने बाह्रबिसे सिङ्गो नगरपालिका छ।
यो क्षेत्रमा कांग्रेसका वडा अध्यक्षहरुले प्राप्त गरेको मत जोड्ने हो भने भने २१ हजार २ सय ९८ हुन्छ। राप्रपाको भने यहाँ खासै मत छैन। यो क्षेत्रमा राप्रपाले जम्मा ३ हजार ६ सय ९९ मत मात्र ल्याएको छ।
एमालेको यस क्षेत्रमा २४ हजार २ सय ६ मत ल्याएको छ भने माओवादी केन्द्रले १९ हजार ७ सय ८६ भोट छ। दुवैको मत जोड्दा ४३ हजार ९ सय ९२ मत हुन्छ। कांग्रेस र राप्रपाको मत जोड्दा २४ हजार ९ सय ९७ भोट हुन्छ।
अर्थात् यहाँ वाम गठबन्धनको कांग्रेस, राप्रपा भन्दा झण्डै २० हजार धेरै मत छ।
प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा उम्मेद्वारको योग्यता, प्रचार प्रसारले पनि ठूलो भूमिका राख्छ।
तर सिन्धुपाल्चोकमा वामगठबन्धनको पक्षमा पछिल्लो स्थानीय चुनावको मत परिणाम हेर्दा यहाँ राणा वा बस्नेतलाई जित निकाल्न धेरै कठिन देखिन्छ।