दुई नम्बर प्रदेशको सर्लाही राष्ट्रिय जनता पार्टी(राजापा) नेपालका अध्यक्ष मण्डलका तीन नेताको गृहजिल्ला हो।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर,अध्यक्ष मण्डलका राजेन्द्र महतो र महेन्द्र राय यादव पनि यहीँका बासिन्दा हुन्।
यही जिल्लाबाट २०७० सालको संविधान सभा चुनावमा राजपाआवद्ध दलले दुई सिट जितेका थिए जबकी त्यतिबेला दुई नम्बर प्रदेशमा रहेका मधेसका ८ जिल्लाबाट राजपाआवद्ध दलले ३ सिट मात्र जितेका थिए।
मधेस केन्द्रीत दलका केन्द्रीय नेताहरूको गृहजिल्ला भए पनि पछिल्लो स्थानीय निर्वाचनमा भने उनीहरूले राम्रो प्रभाव देखाउन सकेका छैनन्।
राजपासँगै अर्को मधेसवादी दल संघीय समाजवादी फोरमको अवस्था पनि यहाँ कमजोर देखिन्छ। बरु यो जिल्लामा नेकपा एमाले र माअोवादी केन्द्रको वाम गठबन्धनको उपस्थिति बलियो छ।
यसअघि ६ निर्वाचन क्षेत्र रहेको सर्लाहीमा अहिले ४ वटा क्षेत्र कायम गरिएका छन्। यी चार निर्वाचन क्षेत्रमा असोज २ गते भएको स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्ने हो भने राजपा–फोरम एउटा क्षेत्रमा मात्रै वाम गठबन्धनभन्दा बलियो देखिएको छ।
राजपा–फोरम गठबन्धनमा कांग्रेस मिसियो भने पनि वाम गठबन्धन दुई क्षेत्रमा बलियो देखिन्छ। राजपा–फोरम र कांग्रेस सहितको गठबन्धन बनेन भने सर्लाहीका ३ क्षेत्रमा वाम गठबन्धनले पकड जमाउने देखिन्छ।
सर्लाहीको क्षेत्र नम्बर–१ मा पर्ने स्थानीय तहका वडामा पार्टीहरूले पाएको मत जोड्ने हो भने यो क्षेत्रमा एमाले बलियो देखिएको छ। लालबन्दी,चन्द्रनगर नगरपालिका लगायतका स्थानीय तहहरु पर्ने यो क्षेत्रमा एमालेले १७ हजार ८ सय ४३ मत ल्याएको छ।
यो क्षेत्रका वडा तहमा नेपाली कांग्रेसको १५ हजार ६ सय ९३ मत रहेको छ। नेकपा (माओवादी केन्द्र)को कांग्रेसको भन्दा केही कम मत रहेको छ । यो क्षेत्रमा माओवादीले १५ हजार १ सय ९९ मत रहेको छ ।
यहाँ राजपाको १० हजार ४ सय ६२ र फोरमको १ हजार ६ सय ७३ रहेको छ।
यसरी हेर्दा क्षेत्रमा एमाले–माओवादी गठबन्धन धेरै बलियो देखिन्छ। यी दुई दलको मत जोड्दा गठबन्धनको पक्षमा यो क्षेत्रमा ३३ हजार ४२ मत पुग्छ जुन मत कांग्रेस, राजपा र फोरमको भन्दा ६ हजार बढी मत हो। यहाँ राजपा– फोरम र कांग्रेसको मत जोड्दा २७ हजार ८ सय २८ हुन्छ।
सर्लाहीको क्षेत्र नम्बर दुईमा भने वाम गठबन्धन कमजोर देखिन्छ। यो क्षेत्रका स्थानीय तहको वडाहरुमा पाएको मतलाई आधार मान्ने हो भने एमाले–माओवादी दुवैको मतभन्दा राजपा एक्लैको मत धेरै छ।
यो क्षेत्रमा सबैभन्दा बलियो देखिएको राजपाको मत १७ हजार १ सय ८९ रहेको छ। यहाँ कांग्रेसको १२ हजार १ सय ५ र संघीय सामजवादी फोरमको ७ हजार ६ सय ७ मत छ। यो क्षेत्रका वडामा माओवादीको ७ हजार ३७ र एमालेको ४ हजार २ सय ४३ र कांग्रेससँग एकता गरिसकेको लोकतान्त्रिक फोरमको १ हजार ६ सय ७३ छ।
राजपा एक्लै बलियो रहेको यो क्षेत्रमा फोरमको मत थप्ने हो भने २४ हजार ८ सय १६ पुग्छ। राजपा–फोरम गठबन्धनमा कांग्रेसको समेत मत जोड्दा ३८ हजार ५ सय ९४ हुन्छ। जबकी एमाले–माओवादी गठबन्धनको मत ११ हजार २ सय ८० मात्रै हुन्छ । यो क्षेत्रमा सर्लाही सदरमुकाम मलंगवा नगरपालिका, पर्सा गाउपालिका लगतायतका स्थानीय तहहरु पर्छन्।
सर्लाही क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको बढी प्रभाव बढी देखिन्छ। यो क्षेत्रमा पर्ने हरिवन ,बागमती नगरपालिका लगायतका स्थानीय तहका वडाको मतलाई आधार मान्ने हो भने माओवादी केन्द्रले सबैभन्दा बढी १७ हजार ८ सय ३७ मत ल्याएको छ।
दोश्रोमा एमालेले १५ हजार १ सय ७५ मत पाएको छ। तेस्रोमा रहेको कांग्रेसले १४ हजार ७ सय ७२ मत ल्याएको छ। राजपाले ७ हजार १ सय ८३ मत र फोरमको ३ हजार २ सय ९३ मत रहेको छ। राप्रपाको १ हजार ३४ मत छ भने लोकतान्त्रिक फोरमले १ हजार मत पनि ल्याएको छैन।
एमाले र माओवादीको मत जोड्दा यहाँ गठबन्धनको पक्षमा ३३ हजार १२ मत पुग्छ। राजपा–फोरमको मत १० हजार ४ सय ७६ मतमा कांग्रेस,राप्रपा र लोकतान्त्रिक फोरमको मत पनि जोड्दा २६ हजार ८ सय ७६ मत पुग्छ।
सर्लाही क्षेत्र नम्बर ४ मा भने कांग्रेस बलियो देखिएको छ। यो क्षेत्रमा बरथहवा नगरपालिकाको ७ वटा वडा, बलरा नगरपालिका,गोडौरा नगरपालिका लगायतका क्षेत्रहरु पर्छन्।
यो क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरुमा कांग्रेसले १६ हजार २ सय ९० पाएको छ। यहाँ माओवादी केन्द्रको १३ हजार ५ सय ८४, एमालेको १२ हजार ५ सय ९४ मत छ । राजपाले ९ हजार १ सय २६ र फोरमले २ हजार ४ सय ७३ मत पाएका छन्।
यहाँ कांग्रेसको मत बढी रहे पनि ऊ एक्लै एमाले र माओवादी गठबन्धनसँग प्रतिष्पर्धामा आउने अवस्थामा देखिदैँन। यहाँ गठबन्धनका दुई पार्टीको मत जोड्दा २६ हजार १ सय ७८ हुन्छ।
वाम गठबन्धनसँग प्रतिष्पर्धाका लागि ११ हजार ५ सय ९९ मत पाएका राजपा–फोरमसँग तालमेल गर्नुपर्छ।
तीन पार्टीबीच तालमेल भएमा भने यहाँ उनीहरुको मत २७ हजार ८ सय ८९ पुग्छ। जसले चुनावी मैदानमा उनीहरु वाम गठबन्धनसँग कडा टक्करमा उत्रिन सक्छन्।
यो पनि हेर्नुहोस्:
कैलालीका २ सिटमा वाम गठबन्धन बलियो, ३ वटामा कांग्रेससँग प्रतिस्पर्धा