लोकतान्त्रिक फोरमसँग पार्टी एकतापछि प्रदेश नम्बर ७ को कैलालीमा यसपालिको चुनाव लड्न कांग्रेसलाई केही त्राण मिलेको छ।
विजयकुमार गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरम, कांग्रेससँग नमिलेको भए कैलालीका लगभग पाँचै निर्वाचन क्षेत्रमा एमाले-माओवादी गठबन्धनसँग प्रतिस्पर्धामा आउन पनि कांग्रेसलाई हम्मे हुने थियो।
पार्टी एकतापछिभने कांग्रेसको मत यहाँ बढ्नेछ।
२०७० सालको संविधानसभा चुनावमा ६ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा कांग्रेस र लोकतान्त्रिक फोरमले दुई-दुई सिट जितेका थिए भने एमाले र माओवादीले एक-एक सिट हात पारेका थिए।
एमाले र माओवादीले गठबन्धन गरेपछि र फोरम कांग्रेसमा मिसिएपछि यहाँ दुईपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। त्यसले कैलालीको चुनाव रोचक बनाएको छ।
पछिल्लो स्थानीय चुनावमा कैलाली जिल्लाभरि वडा तहमा यी चार पार्टीले पाएको मत विश्लेषण गर्ने हो भने यहाँ संसदका दुई निर्वाचन क्षेत्रमा वामगठबन्धन बलियो देखिन्छ भने बाँकी ३ क्षेत्रमा गठबन्धनको कांग्रेससँग तीब्र प्रतिस्पर्धा देखिन्छ।
क्षेत्र नम्बर १
कैलाली क्षेत्र नम्बर १ मा २३ वडाहरू छन्। यो क्षेत्रमा टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका पर्छन्। त्यस्तै जानकी गाउँपालिकाका ५ वडा र भजनी गाउँपालिकाका २ वडा पनि यही क्षेत्रमा पर्छन्।
२३ वडामै चार पार्टीले पाएको मत विश्लेषण गर्दा यहाँ फोरम लोकतान्त्रिक अग्रपङ्तिमा छ। फोरमभन्दा ६२ मतले कांग्रेस पछि छ। स्थानीय तहका वडाहरुमा यी दुवै दलको मत जोड्ने हो भने २३ हजार ५ सय २ हुन्छ।
यो क्षेत्रमा वाम गठबन्धन पनि कमजोर देखिन्न। यहाँ माओवादीको बलियो उपस्थिति छ।
यहाँ माओवादीले १० हजार ७ सय २० मत पाएको छ। यो क्षेत्रमा माओवादी र एमालेको भोट जोड्ने हो २० हजार ६ सय ३३ मत हुन्छ।
यसरी हेर्दा यहाँ वाम गठबन्धन कांग्रेसभन्दा करिब तीन हजार मतले पछि छ।
क्षेत्र नम्बर २
१० वडा भएको लम्कीचुहा नगरपालिका, जानकी नगरपालिकाका ४ वडा, बर्दगोरियाका गाउँपालिकाका ६ वटै वडा र मोहन्याल गाउँपालिकाका ६ वडा यो निर्वाचन क्षेत्रमा पर्छन्।
स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमाले राम्रो भोट ल्याएको छ।
यो क्षेत्रका २६ वटै वडामा स्थानीय निर्वाचनमा आएको मतलाई आधार मान्दा एमाले यहाँको पहिलो पार्टी हो। एमालेले यहाँ ११ हजार ८ सय १५ मत ल्याएको छ। यो क्षेत्रमा कांग्रेस एमालेभन्दा ७ सय मतले पछाडि छ। यहाँ माओवादीको पनि बलियो उपस्थिति छ। पछिल्लो स्थानय चुनावमा यो क्षेत्रका वडामा माओवादीले ८ हजार १ सय २२ मत ल्याएको थियो।
गठबन्धन बनाएर चुनावी तालमेल गरेका एमाले र माओवादीको मत जोड्ने हो भने यो क्षेत्रमा उनीहरुको मत १९ हजार ९ सय ३७ हुन्छ।
क्षेत्रमा नम्बर २ मा लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा ६ हजार १ सय ६७ मत ल्याएको थियो। यो मत पनि जोड्दा कांग्रेसको १७ हजार २ सय ६९ मत पुग्छ।
यसरी हेर्दा यो निर्वाचन क्षेत्रमा काँग्रेस र वाम गठबन्धनबीच दुई हजार मतको अन्तर देखिन्छ। स्थानीय निर्वाचमा दुई हजार मतको अन्तर भनेको संसदको चुनावमा कडा प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्र मान्नु पर्छ।
त्यसैले यहाँ वाम गठबन्धन र कांग्रेसको रोचक प्रतिस्पर्धा हुने छ।
क्षेत्र नम्बर ३
यो क्षेत्रमा भने माओवादी धेरै बलियो छ। घोडाघोडी नगरपालिका, भजनी नगरपालीकाका ७ र कैलारी गाउँपालिकाका ७ गरी २६ वडा भएको यो निर्वाचन क्षेत्रबाट स्थानीय तह निर्वाचनमा माओवादीले १४ हजार १ सय २५ ल्याएको थियो।
कांग्रेसले १२ हजार ९ सय ५७ मत ल्याएर दोस्रो भएको थियो। तेस्रो दल एमालेले १० हजार ९ सय ४८ मत ल्याएको थियो।
यो क्षेत्रमा फोरम र राप्रपाको पनि राम्रै उपस्थिति छ। यि दुई पार्टीले यहाँ ८ हजारभन्दा बढी मत ल्याएका थिए।
स्थानीय तहको नतिजाअनुसार, एमाले र माओवादी मत जोड्दा यो निर्वाचन क्षेत्रमा २५ हजार ७३ मत पुग्छ भने कांग्रेस, फोरम र राप्रपाको मत जोड्दा २१ हजार हजार १ सय ३८ सय मत आउँछ। कांग्रेसभन्दा चार हजार मत धेरै भएको वाम गठबन्धन यो क्षेत्रमा बलियो मान्नु पर्छ।
क्षेत्र नम्बर ४
यो क्षेत्रमा वाम गठबन्धन धेरै नै बलियो देखिन्छ।
यो निर्वाचन क्षेत्रमा गौरीगंगा र गोदावरी नगरपालिका, चुरे गाउँपालिका का ६ र मोहन्याल गाउँपालिकाको एउटा वडा पर्छन्। सबै गरी यहाँ ३१ वटा वडा छन्।
यी सबै वडामा स्थानीय निर्वाचनको नतिजा हेर्दा वा गठबन्धनका दुवै दलको मत कांग्रेस, फोरम र राप्रपाको भन्दा झण्डै १० हजार मत धेरै छ।
यहाँ माओवादी र एमालेको जम्मा भोट ३० हजार पुग्छ जबकी कांग्रेसले जम्मा १६ हजार ७ सय ५० मत ल्याएको छ।फोरम लोकतान्त्रिकले पाएको ७७९ र राप्रपाको १५३७ म जोडदा पनि कांग्रेसको पक्षमा जम्मा १९ हजार ६६ मत हुन्छ।
क्षेत्र नम्बर ५
धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका दुई वडा मिलेर बनेको यो निर्वाचन क्षेत्रमा पनि कांग्रेस र वाम गठबन्धनको चुनावी भिडन्त रोचक हुनेछ।
स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसको मत धेरै आएको थियो। उसले १७ हजार ६ सय ४४ मत पाएको थियो। यहाँ फोरमले १ हजार ३ सय ८३ र राप्रपाले ३ हजार ८ सय ३९ मत ल्याएका थिए।
यी तिनै दलको मत जोड्ने हो भने २२ हजार ८ सय पुग्छ।
यो मत वाम गठबन्धनको मतभन्दा झण्डै २ हजारले कम हो।
यहाँ एमालेको मत कांग्रेसको भन्दा झण्डै ५ हजार कम आएको छ। तर माओवादीलाई आएको ११ हजार मत जोड्ने हो यी दुई दलले पाएको मत २४ हजार २ सय ८१ पुग्छ।
यसरी हेर्दा कैलालीका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धनको कांग्रेस, फोरम र राप्रपाको तुलनामा चार हजारभन्दा बढीको अग्रता छ भनेअरु तीन निर्वाचन क्षेत्रमा यी दुई राजनीतिक शक्तिबीच स्थानीय तहको निर्वाचनमा दुईदेखि तीन हजार मतको मात्र फरक छ। यो फरक उम्मेद्वारको लोकप्रियताका आधारमा भर्न सकिने खालको हो।