नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग मिसिएपछि असन्तुष्ट बनेका लोकतान्त्रिक फोरमका सांसद तथा पूर्वराज्यमन्त्री मोहमद मुस्ताक आलम एमाले प्रवेश गरेका छन् ।
अध्यक्ष विजयकुमार गच्छदारले पार्टी कांग्रेसलाई बुझाएकोले आफू एमालेमा प्रवेश गरेको आलमले सेतोपाटीलाई बताए।
‘मैले गच्छदारलाई साथ दिएको हो तर उहाँले पार्टी जोगाउन सक्नुभएन,’ उनले भने, ‘ मलाई कांग्रेस नेताहरुले पनि राम्रो ‘रेस्पोन्स’ गरेनन्। त्यही भएर म एमालेमा आवद्ध भएँ।’
पुराना कांग्रेसी नेता शेख इद्रिसका नाति आलम आफ्ना मामा तथा कांग्रेसका नेता मोहमद अफताव आलमसँगको 'शत्रुता'का कारण एमाले प्रवेश गरेका हुन्। उनको मामा आलमसँग राम्रो सम्बन्ध छैन।
गत संविधान सभा निर्वाचनमा उनी विजय गच्छदार नेतृत्वको मधेसी लोकतान्त्रिक फोरम प्रवेश गरेर आफ्ना मामाविरुद्ध रौतहट-२ बाट संविधान सभा सदस्यको चुनाव लडेका थिए। उनले अफताव आलमलाई उनकै निर्वाचन क्षेत्रमा हराएपछि मामा-भान्जाबीचको 'शत्रुता' झनै चर्किएको थियो।
रौटहटमा शेख इद्रिसको राजनीतिक विरासत उनका भतिजा अफताव आलमले सम्हाल्ने कि उनका छोरीपट्टिका नातिले सम्हाल्ने भन्ने झगडा छ।
गच्छदार नेतृत्वको फोरम केही दिनअघि कांग्रेसमा समाहित भएपछि आलम अप्ठेरोमा परेका थिए।
लोकतान्त्रिक फोरमको कांग्रेससँगको शत्रुता सकिए पनि आलमको आफ्ना मामासँग फाटेको मन टालिएकै थिएन। लोकतान्त्रिक फोरम नै कांग्रेसमा मिसिएपछि पनि मामा अफतावले भान्जालाई वास्ता गरेनन्।
अफताव आलमको पकड रहेको रौतहट कांग्रेस आलम प्रति सकारात्मक देखिएन। मामाले पनि आफूलाई कुनै वास्ता नगरेको गुनासो उनले सेतोपाटीसँग गरे।
मुलुक दुईवटा बलिया राजनीतिक ध्रुवमा बाँडिएपछि कांग्रेसइतर ध्रुवको नेतृत्व गरिरहेका भान्जा आलम एमालेतिर आकर्षित भए। आइतवार बिहान एमाले अध्यक्ष केपी ओलीले आलमलाई आफ्नै निवासमा पार्टी प्रवेश गराए। एमाले पार्टीले केहीबेरमै बीचमा अध्यक्ष ओली उभिएको र अर्का एमाले नेता गौतमले आलमसँग अगाँलो मारेको तस्बिर पार्टीको वेवसाइटमा राख्यो।
एमालेमा आवद्ध हुन आफूले कुनै सर्त नराखेको आलमले बताए ।
‘पूर्वप्रधानमन्त्री माधव नेपाल र मेरो एउटै जिल्ला हो। मैले एमाले अध्यक्ष केपी ओलीको मन्त्रिपरिषदमा रहेर काम पनि गरेको छु,’ उनले भने,‘मलाई ओली र नेपाल दुबैले माया गर्नुहुन्छ।’
ओली नेतृत्वको सरकारमा मुस्ताक स्वास्थ्य राज्यमन्त्री थिए ।
एमालेआवद्ध हुने बेलामा भने शुरुमा उपाध्यक्ष वामदेव गौतमसँग कुराकानी गरेको उनले बताए।
आफ्नो निर्वाचन क्षेत्रमा फोरम लोकतान्त्रिकको जति पनि प्रभाव छ त्यो आफ्नै कारणले भएको उनले दाबी गरे।
‘रौतहटमा लोकतान्त्रिक फोरमको प्रभाव भएको मेरै कारणले हो। मेरो क्षेत्रमा म बलियो छु,’ उनले भने, ‘टिकटको सर्त राखेर म एमाले प्रवेश गरेको होइन। पार्टीले न्याय गर्छ भन्नेमा म विश्वस्त छु। टिकट पाएमा मैले जित्छु।’
मधेशवादी दलले एमालेलाई मधेस विरोधीको आरोप लगाए पनि एमाले मधेश विरोधी नरहेको उनले दाबी गरे।आफ्नो प्रवेशले एमाले–माओवादी गठवन्धनले जिल्लाका चारै क्षेत्र जित्ने दाबी गरे।
अाजका अन्य समाचार :रौतहटमा मामा- भान्जा आलमको क्षेत्रमा एमाले कमजोर छ। रौतहट जिल्लाभरिमा एमाले सबैभन्दा कमजोर रहेको क्षेत्र यही हो। त्यसैले एमाले प्रवेश गरेका आलमले यो क्षेत्रमा टिकट पाउने लगभग पक्का छ।
तपाईंले टिकट पाउनुभयो भने फेरि मामा-भान्जाको मुकाविला पर्ने भयो हैन भन्ने सेतोपाटीको प्रश्नमा आलमले भने, ‘ राजनीति हो, यस्तो भैहाल्छ। हो, फेरि मामा भान्जाकै पर्ने भयो।'