सिन्धुपाल्चोकमा वाम गठवन्धनले अन्तिम समयमा उम्मेदवारको सिट हेरफेर गर्दै सहमति जुटाएको छ।
शुक्रबारसम्म प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं १ मा एमालेका अरुण नेपाल र क्षेत्र नं २ अग्नि सापकोटा उठाउने तयारी दलहरूले गरेका थिए।
तर, अन्तिम समयमा क्षेत्र नं २ बाट हटेर अग्नि सापकोटा क्षेत्र नं १ मा पुगेका छन्। अरुण नेपाल भने क्षेत्र नं १ कै प्रदेश सभा (क)बाट उम्मेदवार बन्ने भएका छन्।
क्षेत्र नं २ मा भने एमालेका शेरबहादुर तामाङ उम्मेदवार बन्ने भएका छन्। शनिबार रातीमात्र दलहरूबीच सिन्धुपाल्चोकमा उम्मेदवारीका विषयमा सहमति जुटेको हो।
तामाङ सोही क्षेत्रका निर्वतमान सांसद हुन्। यसअघि तीन क्षेत्र रहेको सिन्धुपाल्चोकमा अग्नि सापकोटाको यसअघिको क्षेत्र नं २ अहिले विभाजित भएर क्षेत्र नं १ र २ मा आधाआधा परेको छ।
अग्नि सापकोटाको क्षेत्रको दुवै प्रदेश सभामा एमालेका उम्मेदवार हुने भएका छन्। अरुण नेपाल (क)बाट र सुरेश नेपाल (ख)बाट उम्मेदवार बन्ने भएका छन्। अरुण नेपाल २०७० को निर्वाचनमा काँग्रेसका मोहन बस्नेतसँग पराजित भएका थिए।
शेरबहादुर तामाङको क्षेत्रको दुवै प्रदेश सभा सिटमा माओवादी उम्मेदवार हुने भएका छन्। २ को (क)बाट युवराज दुलाल र (ख)बाट दावा तामाङ उम्मेदवार बन्ने भएका छन्। पहिलो संविधानसभामा तामाङ सभासद् थिए। तर दोश्रो संविधानसभामा मोहन बैद्य नेतृत्वको पार्टीले चुनाव बहिष्कार गरेपछि उनी उम्मेद्वार बनेका थिएनन्।
नेपाली कांग्रेसले भने क्षेत्र नंम्बर १ बाट मोहन बस्नेतको उम्मेद्वारी दिने भएको छ। क्षेत्र नं २ मा भने कांग्रेसले राप्रपाका पशुपति शमशेर राणालाई समर्थन गर्ने भएको छ।