मुलुक संघीयतामा गएपछि नवलपरासी जिल्ला दुई प्रदेशमा बाँडिएको छ। बर्दघाट सुस्तापूर्वी नवलपरासी प्रदेश नम्बर ४ मा छ भने बर्दघाट सुस्ता पश्चिमी नवलपरासी प्रदेश नम्बर ५ मा छ।
२०७० सालको निर्वाचनमा ६ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा अहिले चार क्षेत्र छन्। प्रदेश ४ मा दुई र प्रदेश ५ मा दुई क्षेत्र छन्।
प्रदेश ४ का दुई क्षेत्रमध्ये सुस्ता पूर्वको गैंडाकोट, बुलिङ्गटार, देवचुली र कावासोतीको अधिकांश वडा समेटेर एउटा निर्वाचन क्षेत्र तोकिएको छ।
त्यस्तै हुप्सेकोट, बुङ्दिकाली, मध्यविन्दु, विनयी त्रिवेणी र कावासोतीका ३, ४, १४, १५, १६ र १७ भने अर्को निर्वाचन क्षेत्रमा छन्।
प्रदेश नम्बर ४ मा पर्ने यी दुई क्षेत्रमा स्थानीय तहको पछिल्लो मतपरिणाम हेर्ने हो भने नेपाली कांग्रेस सबभन्दा बलियो देखिन्छ।
नवलपरासीको क्षेत्र नम्बर १ मा वडागत तहमा पार्टीहरुले पाएको मत हेर्ने हो भने यहाँ ३१ हजार ६ सय ५९ भोट कांग्रेस पक्षमा देखिन्छ। त्यस्तै एमाले पक्षमा २७ हजार ६ सय ६६ भोट छ। गैंडाकोट, बुलिङ्गटार, देवचुली, कावासोतीमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा छ।
माओवादीले पनि यहाँ ४ हजार ९ सय ५१ भोट ल्याएको छ।
एमाले-माओवादी चुनावी गठवन्धनसँगै यो क्षेत्रमा उनीहरु कांग्रेसलाई हराउने हैसियतमा पुगेका छन्। एमाले-माओवादी भोट जोड्ने हो भने त्यहाँ ३२ हजार ५ सय १७ हुन्छ, अर्थात कांग्रेसको भन्दा ९ सय ५८ मत बढी।
चुनावको रिङमा यहाँ तीन दल मात्र खेलाडी हैनन्। राप्रपाको पनि यहाँ केही मत छ।
राप्रपाले त्यहाँ १ हजार ६ सय ८९ मत पाएको छ।
कांग्रेस-राप्रपा पनि देशै भरी आपसी चुनावी तालमेल गर्ने प्रयासमा छन्। यी दुई पार्टीको मत जोड्दा ३३ हजार ३ सय ४८ पुग्छ।
राप्रपा स्थानीय तहको निर्वाचनमा विभाजित भने थिएन। दुवै राप्रपा विभाजन पछि पनि अहिले कांग्रेस गठवन्धनमा छन्। कांग्रेस र राप्रपा मिलेको खण्डमा वाम गठवन्धन भन्दा उनीहरुको भोट ७ सय ३१ ले बढी हुन्छ।
प्रदेश ४ अन्तर्गतकै नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि कांग्रेस बलियो छ। यो निर्वाचन क्षेत्रमा कांग्रेसका वडा अध्यक्षहरुले पाएको मत जोड्ने हो भने त्यहाँ ३० हजार ५ सय ४७ मत पुग्छ।
कावासोती नगरपालिकाका वडाहरु ३, ४, १४, १५, १६, १७, हुप्सीकोट, मध्यविन्दुनगरपालिका, बुङ्गदिकाली र विनयी त्रिवेणीमा पनि कांग्रेस बलियो छ। तर, माओवादीको साथ पाउँदा त्यहाँ एमाले नेतृत्वको वाम गठवन्धनको मत धेरै हुनेछ।
राप्रपाको साथले कांग्रेस प्रतिस्पर्धामा भने आउन सक्छ।
यहाँ एमालेले २८ हजार ४ सय ३७ मत ल्याएको छ। माओवादीले ४ हजार ५ सय ९२ भोट ल्याएको छ। दुवैको मत जोड्दा ३३ हजार २९ भोट हुन्छ।
यस्तोमा राप्रपाको ६ सय ५३ भोट जोड्दा कांग्रेसको पक्षमा भने ३१ हजार २ सय हुन्छ। जुन वाम गठवन्धनभन्दा १ हजार ८ सय २९ ले फरक हुन्छ। त्यहाँ वाम गठवन्धनले फाइदा उठाउने सम्भावना छ।
प्रदेश नम्बर ५ मा रहेको सुस्ता पश्चिमको नवलपरासीमा पनि कांग्रेस बलियो छ। त्यसमाथि फोरम लोकतान्त्रिकसँगको एकतापछि त्यो मत कांग्रेसमा जोडिने हो भने कांग्रेसले वाम गठवन्धनलाई समेत पछार्ने हैसियत राख्दछ।
प्रदेश नम्बर ५ को नवलपरासीको क्षेत्र नं १ मा सुस्ता, प्रतापपुर, बर्दघाट र सरावल नगरपालिकाका वडा नं ४, ५, ६, ७ छन्।
यो क्षेत्रमा कांग्रेसका वडा अध्यक्षहरुले पाएका मत जोड्ने हो भने २१ हजार ६ सय ९७ हुन्छ। एमालेको मत १८ हजार ५ सय ८० छ। यहाँ माओवादीसँग ६ हजार ६ सय ५ मत छ। वाम गठवन्धनसँग स्थानीय तहको मत हेर्ने हो भने २५ हजार १ सय ८५ पुग्छ।
वाम गठवन्धनभन्दा कांग्रेस एक्लैको ३ हजार ४ सय ८८ मत कम हुन्छ। तर फोरम लोकतान्त्रिकसँगको एकतापछि मत जोड्ने हो भने कांग्रेस अगाडि बढ्ने छ।
फोरम लोकतान्त्रिकले त्यहाँ ४ हजार ५ सय ९० मत ल्याएको छ। कांग्रेससँग सो मत जोड्दा २६ हजार २ सय ८७ हुन्छ। त्यहाँ राप्रपाको पनि मत २ हजार १ सय ४२ छ। त्यो मत पनि कांग्रेस पक्षमा भए २८ हजार ४ सय २९ हुन्छ। जुन वाम गठबन्धनभन्दा ३ हजार २ सय ४४ बढी हो।
प्रदेश नम्बर ५ मै पर्ने नवलपरासीको क्षेत्र नम्बर २ मा पाल्हिनन्दन, रामग्राम, सुनवल सरावलको वडा नम्बर १,२,३ छन्। सरावल र प्रतापपुरमा फोरम लोकतान्त्रिकको राम्रो मत छ। नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ मा पनि राप्रपा र फोरम लोकतान्त्रिकको साथले कांग्रेस बलियो बन्ने छ।
त्यहाँ कांग्रेसको अन्य पार्टीभन्दा राम्रो अग्रता छ। स्थानीय तहमा वडा अध्यक्षहरुले पाएको मत हेर्ने हो भने कांग्रेस एक्लैले २० हजार ८ सय ७६ मत ल्याएको छ। दोश्रो स्थानमा रहेको एमलेको १४ हजार ९ सय २३ छ। माओवादीले ९ हजार ५ सय १९ मत ल्याएको छ। राप्रपाको ५ हजार ६ सय २६ र फोरम लोकतान्त्रिकको मत २ हजार १ सय ६४ छ।
वाम गठवन्धनको पक्षमा यहाँ २४ हजार ४ सय ४२ मत पुग्छ। यदि कांग्रेसले राप्रपाको साथ लिने हो भने उसले सजिलै गठवन्धनलाई जित्ने छ।
तर यहाँ कांग्रेस, राप्रपा र लोकतान्त्रिक फोरमको मत जोड्ने हो भने कांग्रेस गठवन्धनको पक्षमा २८ हजार ६ सय ६६ हुन्छ। जुन वाम गठवन्धनभन्दा ४ हजार २ सय २४ मत बढी हो।
यसरी हेर्दा वाम र लोकतान्त्रिक गठवन्धन बन्यो भने नवलपरासीका चारमध्ये ३ क्षेत्रमा कांग्रेस गठवन्धनले जित्ने सम्भावना छ। एउटामा क्षेत्रमा भने वाम गठवन्धनले जित्ने सम्भावना छ।
तर कांग्रेसले राप्रपाको साथ जुटाउन सकेन भने नवलपरासीका चारमध्ये तीन वटा क्षेत्रमा जित्न सक्छ।