प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री देउवाले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न आम नागरिकबाट आफूले साथ र सहयोग पाउने विश्वास समेत व्यक्त गरे।
नेपाल संवत ११३८ को अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले मुलुकलाई संक्रमणकालबाट मुक्त गर्दै राजनीतिक स्थायित्व दिने दिशामा सरकार लागि परेको पनि स्पष्ट पारे। प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबलीकरण, आर्थिक समृद्धि र नागरिकको अधिकार रक्षाका लागि सरकारले सक्दो पहल गरिरहेको पनि बताए।
प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास पनि व्यक्त गरे।