२०७० सालको संविधानसभा चुनावमा धनुषा जिल्लामा ७ वटा निर्वाचन क्षेत्र थिए। तिमध्ये पाँचवटा क्षेत्र नेपाली काँग्रेस एक्लैले जितेको थियो। २०६४ सालमा माओवादी र मधेसी पार्टीहरूको पक्षमा लहर चलेको बेलापनि यो जिल्लामा नेपाली काँग्रेसले ३ वटा निर्वाचन क्षेत्र जितेको थियो।
यस पटक भने धनुषामा ४ वटा निर्वाचन क्षेत्र रहेका छन्। असोजमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने नेपाली काँग्रेस नै यो जिल्लामा सबैभन्दा बलियो देखिन्छ।
तर मधेसमा प्रतिस्पर्धामा रहेका अन्य चार पार्टीमध्ये एमाले र माओवादीले एउटा चुनावी गठबन्धन र संघीय समाजवादी फोरम र राजपाको अर्को गठबन्धन निर्माण गरेपछि काँग्रेस रक्षात्मक अवस्थामा पुगेको छ।
काँग्रेसले मधेसमा फोरम-राजपा गठबन्धनसँग चुनावी तालमेल गर्ने प्रयास जारी राखेको छ।
यदि यो प्रयास सफल भयो भने धनुषामा काँग्रेस नेतृत्वको चुनावी गठबन्धनकै धनुषामा पल्ला भारी हुनेछ।
वडा तहको भोट जोड्दा धनुषाको क्षेत्र नं १ मा वडाहरूमा काँग्रेसले ११ हजार ५ सय ५७ मत पाएको छ। दोश्रोमा रहेको एमालेको ९ हजार ६९ मत छ। माओवादी केन्द्रको ८ हजार २४ मत छ भने फोरमको ६ हजार ४ सय ५३ र राजपाको ४ हजार २ सय २६ मत छ।
यो पनि हेर्नुहोस्:
यहाँ राप्रपाको २ हजार ७ सय ४७ मत र जनमुक्ति पार्टीको १ हजार ६ सय २४ मत रहेको छ।
सबै दलहरु छुट्टछुट्टै निर्वाचन लड्ने हो भने नेपाली काँग्रेस बलियो देखिन्छ।
तर एमाले र माअोवादीले गठवन्धन बनाइसकेकोले यो निर्वाचन क्षेत्रमा उसको पक्षमा १७ हजार मत पुग्छ।
त्यसैले, यो क्षेत्रमा चुनाव जित्न काँग्रेसलाई फोरम-राजपा गठबन्धनसँग तालमेल आवश्यक छ। काँग्रेसले यहाँ फोरम–राजपासँग चुनावी गठबन्धनको गर्यो भने उनीहरूको पक्षमा २२ हजार भन्दा बढी मत पुग्छ।
यो क्षेत्रमा गणेशमान चारनाथ नगरपालिका,धनुषाधाम नगरपालिका लगायतका स्थानीय तह पर्छन् ।
धनुषा क्षेत्र नं २ का स्थानीय तहहरूको वडामा नेपाली काँग्रेसकै जनमत बढी छ। नेपाली काँग्रेसले यहाँ १८ हजार ७ सय १ मत पाएको छ भने दोश्रोमा रहेको नेकपा माओवादी केन्द्रको ११ हजार ६ सय ५९ मत रहेको छ। नेकपा एमालेको ११ हजार २ सय ८१, संघीय समाजवादी फोरमको १० हजार ५ सय ३०, राजपाको ९ हजार ७० र लोकतान्त्रिक फोरमको ३ हजार ७ सय ९ रहेको छ ।
यो क्षेत्रमा लोकतान्त्रिक फोरमको पनि मत रहेकोले काँग्रेसका लागि यो क्षेत्र थप सहज हुनसक्छ । लोकतान्त्रिक फोरमको काँग्रेससँग एकता भैसकेको छ।
उपमहानगरमा काँग्रेस राजपाको प्रतिस्पर्धा हुन्छ भने उपमहागर बाहिरका स्थानीय तहहरूमा काँग्रेस र एमालेको प्रतिस्पर्धा हुन्छ । उपमहानगरमा राजपा हुनु तर उपमहानगर बाहिर नहुनु अनि उपमहानगर बाहिर एमाले हुनु र उपमहानगरमा एमालेको प्रभाव नहुनु नै काँग्रेसका लागि यो क्षेत्र सहज बनेको हो ।
शहिदनगर नगरपालिका, विदेह नगरपालिका लगायतका स्थानीय तहहरू भएको यो क्षेत्रमा एमाले र माओवादीको मत जोड्दा झण्डै २३ हजार मत पुग्छ।
त्यहि भएर यहाँ पनि जित्नका लागि राजा-फोरम र काँग्रेस बीच चुनावी तालमेल आवश्यक हुन्छ। यी तीन पार्टीबिच चुनावी तालमेल भयो भने उनीहरूको जम्मा मत (लोकतान्त्रीक समेत गरेर) ४० हजार भन्धा धेरै पुग्छ।
धनुषा क्षेत्र नं ३ काँग्रेसका नेता विमलेन्द्र निधि निर्वाचन लड्ने क्षेत्र हो । यो क्षेत्रमा भने काँग्रेस अन्य क्षेत्रमा भन्दा धेरै नै बलियो छ। यहाँ काँग्रेस एक्लैको मत एमाले-माओवादी र राजपा-फोरम गठबन्धनको भन्दा धेरै छ।
यो क्षेत्रका स्थानीय तहका वडाहरूमा काँग्रेसको मत १८ हजार ५ सय ६६ रहेको छ । दोश्रोमा रहेको राजपाको मत १३ हजार ३ सय ३ रहेको छ । तेश्रोमा रहेको नेकपा एमालेले १२ हजार ४ सय ३९ मत ल्याएको थियो । संघीय समाजवादी फोरमको मत ३ हजार ६ सय ७५ र माओवादी केन्द्रको २ हजार १ सय ६८ मत रहेको छ ।
यो क्षेत्रमा जनकपुर उपमहानगरका १८ वटा वडा र महानगर बाहिरका नगराइन नगरपालिका,धनौजी गाँउपालिका लगायतका स्थानीय तहहरू पर्छन् । उपमहानगरमा काँग्रेस राजपाको प्रतिस्पर्धा हुन्छ भने उपमहागर बाहिरका स्थानीय तहहरूमा काँग्रेस र एमालेको प्रतिस्पर्धा हुन्छ । उपमहानगरमा राजपा हुनु तर उपमहानगर बाहिर नहुनु अनि उपमहानगर बाहिर एमाले हुनु र उपमहानगरमा एमालेको प्रभाव नहुनु नै काँग्रेसका लागि यो क्षेत्र सहज बनेको हो ।
राजपा–फोरम गठबन्धनको मत जोड्दा पनि काँग्रेस अगाडि देखिन्छ भने एमाले–माओवादी गठबन्धनको मत जोड्दा पनि काँग्रेसकै मत बढी छ ।
धनुषा क्षेत्र नं ४ मा जनकपुरका ६ वटा वडा, लक्ष्मीनिया गाँउपालिका लगायतका स्थानीय तहहरू पर्छन् । यो क्षेत्रमा भने फोरम–राजपा गठबन्धन काँग्रेस र एमाले–माओवादीभन्दा अगाडि रहेको तथ्यांकले देखाएको छ।
यद्यपी यो क्षेत्र अन्तर्गत पर्ने स्थानीय तहका वडाहरूको मत भने काँग्रेसको सबैभन्दा बढी छ। नेपाली काँग्रेसले ११ हजार ७ सय ६३ मत पाएको छ भने दोश्रोमा रहेको एमालेले ९ हजार २ सय ४१ मत पाएको थियो । फोरमको ७ हजार ७ सय २९ र राजपाको ५ हजार २ सय ७८ मत रहेको छ। माओवादी केन्द्रको २ हजार ४ सय ३४ मत रहेको छ।
यहाँ राजपा फोरम मिल्ने बित्तिकै उनीहरूले काँग्रेस वा एमाले-माओवादी गठबन्धनलाई जित्न सक्छ।