पञ्जावको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का नेता रविन्दर गोसाईंको मंगलबार हाफ्नै घर बाहिर गोली हानी हत्या भएको छ। मोटरसाइकलमा सवार दुई व्यक्ति गोली हानेर फरार भएका थिए।
भारत अधिनस्थ पञ्जावमा विगत दुई वर्षदेखि यसरी नै विभिन्न राजनीतिक तथा सामाजिक अगुवाहरूको हत्याको क्रम चलिरहेको छ। यसै क्रममा भएको यो नवौं हत्या हो। प्रहरी यीमध्ये कुनै पनि हत्यारासम्म पुग्न सकेको छैन।
हालसम्मका सबै हत्याकाण्डको रहस्य पत्ता लगाउन विशेष जाँच दल पनि गठन भएको थियो। आखिर ती सबै टोली पनि अन्तिम निष्कर्षमा पुग्न सकेका छैनन्। मंगलबारको हत्याको दुई ‘सुटर’ तथा योजनाकार अझै अज्ञात छन्।
पञ्जावका विगत केही समयदेखि भएका राजनीतिक अपराधको रूपरेखा१.जुन १६, २०१७ मा इसाई पादरी सुल्तान मसिहाको हत्या भयो। उनीमाथि मोटरसाइकलमा सवार दुई व्यक्तिले गोली चलाएका थिए। लुधियानामा चर्च बाहिर भएको सो अत्याको हत्यारा अझै पत्ता लागेका छैनन्।
२.जुन २५,२०१७ मा लुधियानामा डेरा सच्चा सौदाका सञ्चालक ७० वर्षीय सतपाल शर्माको हत्या गरे। हत्या उनकै ४० वर्षे पुत्र रमेशले गरेका थिए।
३.जनवरी १४, २०१७ मा ‘हिन्दु तख्त’का जिल्ला नेता ३० वर्षीय अमित शर्माको हत्या भयो। लुधियानाकै स्थानीय दुर्गा मन्दिरछेउ उनीमाथि गोली हानिएको थियो।
४.अगस्ट ६, २०१७ मा सेनाका अवकाशप्राप्त ब्रिगेडियर जर्नेल तथा आरएसएस नेता जगदीश गगनेजामाथि गोली प्रहार गरियो, जालन्धरमा। उपचारका क्रममा उनको मृत्यु भयो।
५.अप्रिल २३, २०१६ मा शिवसेनाको श्रमिक संगठनका २८ वर्षीय नेता दुर्गाप्रसाद गुप्ताको हत्या भयो। लुधियानाकै ललहेडी चोकमा उनीमाथि गोली हानियो।
६.अप्रिल ६, २०१६ मा ‘नामधारी पन्थ’का पूर्वप्रमुख चन्द कौरको पनि हत्या गरियो। लुधियानाबाट करिब ३० किलोमिटर टाढा गुरुद्वारा नजिक उनीमाथि गोली हानिएको थियो।
७.जनवरी १९, २०१६ मा पञ्जाबको शहीदी पार्कमा अर्का एक आरएसएस नेतामाथि गोली दागियो। गम्भीर घाइते उनको भने उपचार भयो।
८.जनवरी ३१, २०१६ निर्वाचन उम्मेदवार हरमिन्दर सिंह जस्मीलाई लक्षित गर्दै कारबम विष्फोट गराइयो।
पञ्जावमा बढेको यस किसिमको डरलाग्दो अपराध श्रृङखलाले आसपासका राज्यमा सन्त्रास फैलिएको छ।