राजपा नेपालका महामन्त्री जितेन्द्र सोनलले अब हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा राजपा र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धनले झापादेखि कञ्चनपुरसम्म बहुमत ल्याउने दाबी गरेका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘२ नम्बर प्रदेशमा त राजपा र फोरमको सरकार बन्छ, म ठोकुवा गरेर भन्न सक्छु हामी बहुमत ल्याउँछौं।’
कार्यक्रममा बोल्दै नेता सोनलले भने,‘२ नम्बर प्रदेशमा राजपा र फोरमको संयुक्त सरकार बन्छ, त्यही धरातल टेकेर अगाडि बढ्छौँ, १, ५ र ७ नम्बर प्रदेशमा पनि हामी बिना राजनीति अगाडि बढ्न सक्दैन्, त्यसैले हामी चुनाव जित्छौँ।’
साक्षात्कारमा बोल्दै उनले आफूहरू संविधान संशोधन र समग्र मधेशको विकासका एजेण्डा लिएर चुनावमा जाने स्पष्ट पारे। उनले थपे,‘२ नम्बर प्रदेशलगायत समग्र मधेशमा फोरम र राजपाबीच बराबरीको हैसियतमा सिट बाँडफाँट गर्ने सहमति भैसकेको छ, यही अनुसार हामी अघि बढ्छौं।’
उनले संविधान संशोधनको पक्षमा उभिने अन्य शक्तिहरूसँग पनि आफूहरूको चुनावी तालमेल हुन सक्ने विश्वास दिलाए। उनले थपे,‘ग्राउण्ड रियालिटी हेरेर चुनावी सिट संख्याको टुँगो लगाउनुपर्छ, २ नम्बर प्रदेशमा राजपा र फोरमबीचको गठबन्धनलाई काँग्रेस लचक हुनुपर्छ, अरु प्रदेशमा हामी लचक हुन्छौँ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाँस्न र रुने काम एकैचोटी गरेको भन्दै नेता सोनलले व्यंग्य गरे । उनले भने,‘प्रचण्डजीले काँग्रेससँग सरकारमा पनि रहने र विपक्षी एमालेसँग पनि तालमेल गर्ने काम गर्नुभयो, यो कुन नैतिकता र राजनीतिक सिद्धान्तभित्र पर्छ मलाई प्रश्न गर्न मल लागेको छ।’
त्यस्तै, उनले कम्युनिज्मको नाममा अहिले जनतालाई भ्रम छर्ने काम भैरहेको समेत उनले आरोप लगाए। उनले भने,‘चुनाव सार्न लागिएकोले हामी सरकारबाट बाहिरिन नचाहेको भनेर माओवादी केन्द्रका मन्त्री साथीहरूले अभिव्यक्ति दिनुभयो यो नाटक हो।’ उनले अब चुनाव कसैले रोकेर पनि नरोकिने र चुनाव जनताको माग भएको जिकिर गरे।