स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी केन्द्रका मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार मन्त्रालय गुमाए। प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरेलको मन्त्रालय खोसेर राप्रपाबाट मन्त्री बनेका दिपक बोहोरालाई जिम्मा दिए।
पोखरेल मंगलबारबाट बिना विभागीय मन्त्री बनेका छन्। उनी मन्त्री त छन् तर कुनै जिम्मेवारी छैन।
पोखरेलजस्तै माओवादी केन्द्रबाट हाल सरकारमा सामेल ९ मन्त्री र ८ राज्यमन्त्री मन्त्रालयविहीन छन्। उनीहरूले सरकारी गाडी र सैनिक सुरक्षा सुविधा त पाएका छन्, तर उनीहरू जिम्मेवारीविहीन छन्।
बिनाविभागीय मन्त्री बनेपछि फुर्सदिला बनेका पोखरेलले बुधबार बिहानै नवनियुक्त स्वास्थ्य मन्त्री बोहोरालाई टेलिफोन गरेर बधाई दिए।
पोखरेललाई मन्त्रालय पुगेर कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्न उनको सचिवालयका सदस्यहरूले सुझाएका थिए। उनले पनि बिहानै मन्त्रालय पुगेर नयाँ मन्त्री आउनुभन्दा अगाडि बाहिरिने सोच बनाए।
बोहरालाई फोन गरेर मन्त्रालय कति बजे जाने भनी बुझे।
‘तपाईं कतिखेर मन्त्रालय जिम्मेवारी सम्हाल्न आउने हो, कर्मचारीलाई धन्यवाद पनि दिन पाएको छैन भनें’, पोखरेलले भर्खरै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका बोहरालाई सोधे।
‘बोहोराजीले सँगै मन्त्रालय जाउँ। तपाईंलाइे बिदाइ गर्ने र मलाई स्वागत गर्ने कार्यक्रमसँगै होस् भन्नुभयो,’ पोख्रेलले सेतोपाटीसँग भने।
तर बोहोराको प्रस्तावले उनलाई 'अप्ठेरो महसुस गरायो’। उनले मन्त्रालय नजाने निर्णय गरे।
उनी दिनभर आज फुर्सदमा छन्। आफूले मन्त्रालयमा रहँदा गरेको कामबारे जानकारी दिन उनले मन्त्रालय बाहिर पत्रकार सम्मेलन राखेका छन्, तिनकुनेस्थित सिद्धार्थ कटेजमा।
त्यसो त मन्त्रालयको जिम्मेवारी नपाए पनि सकारले बिना विभागीय मन्त्रीका लागि सिंहदरबारमा कार्यकक्षको व्यवस्था भने गरेको छ। यस्तो कार्यकक्ष प्रधानमन्त्री कार्यालयमै रहने गरेको छ।
मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीले प्रधानमन्त्री कार्यालयमा बिना विभागीय मन्त्रीहरूका लागि कार्यकक्षको व्यवस्था गरिएको बताए।
तर कुनै पनि बिनाविभागीय मन्त्रीहरू कार्यकक्षमा गएका छैनन्। उनीहरु सिंहदरबार बाहिरै छन्।
मन्त्रालय नभएपछि मन्त्रीहरु फुसर्दिला बनेका छन्। गृहमन्त्रीबाट बिनाविभागीय भएका जनार्दन शर्मा निवासमै छन्। उनकी सहयोगी लक्ष्मी पुनका अनुसार शर्मा पुल्चोकस्थित सरकारी निवासमा सामान्य भेटघाटमा छन्। ‘आज कुनै कार्यक्रम पनि छैन’, पुनले भनिन्। शर्माले सरकारी निवासबाट निजी निवासमा सामान सार्न समेत सुरू गरिसकेका छन्।
माओवादी केन्द्रका मन्त्रीहरुले मंगलबार सरकार छाड्दै थिए। पार्टी अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिने जानकारी प्रधानमन्त्री र पार्टीका मन्त्रीहरूलाई दिएका थिए। तर दिउँसो चुनाव सार्ने प्रपञ्च भएको भन्दै माओवादी मन्त्रीहरूले सरकार छाडेनन्। प्रचण्ड आफैंले मन्त्रीहरुलाई मन्त्रालय फर्कन निर्देशन दिए। सरकारमा नबाहिरिने निर्णयसँगै माओवादी मन्त्रीहरुलाई प्रधानमन्त्रीले ‘विना विभागीय’ बनाइदिए।
तर कतिपय माओवादी मन्त्रीहरुभने त्यसअघि देखि नै सरकार छाड्ने मनस्थितिमा थिए। कांग्रेससँग बढ्दो दुरीले सरकारमा माओवादीको तर्फबाट नेतृत्व गरेका महरा अप्ठेरोमा थिए। उनी तीन दिन यता मन्त्रालय पुगेका थिएनन् भने झण्डा नभएको गाडी प्रयोग गरिरहेका थिए।
महराको सचिवालयमा रहेका हरि लामिछानेका अनुसार राष्ट्रसंघको मानवअधिकार परिषदमा नेपाल सदस्य निर्वाचित भएपछि धन्यवाद दिन मात्र मन्त्रालय पुगेका थिए। त्यसअघिदेखि नै उनले मन्त्रालयमा जान छाडेका थिए। महराले सरकारी निवास भने छाडेका छैनन्।
माओवादीका अन्य मन्त्रीहरू पनि बिना विभागीय बनेसँगै फुर्सदिला बनेका छन्।