यो श्रृंखलाको दोस्रो भागमा हामी दुई नम्बर प्रदेशको सिरहा जिल्लाको चुनावी सम्भावनाको विश्लेषण गर्ने छौं।
वाम गठवन्धन गर्ने निर्णयपछि दुई नम्बर प्रदेशमा एमाले-माओवादी सबैभन्दा बलियो देखिएको जिल्ला सिरहा हो सिरहाका ४ निर्वाचन क्षेत्रमध्ये ३ मा एमाले र एउटा क्षेत्रमा माओवादी अगाडि छ।
सिरहा क्षेत्र नम्बर १ मा लहान नगरपालिका, भगवानपुर गाउँपालिका, धनगढीमाई नगरपालिकाको २ वटा वडालगायत पर्छन।
यो क्षेत्रमा एमालेले १९ हजार ५ सय ८७ मत पाएको छ। दोश्रोमा रहेको नेपाली कांग्रेसको १४ हजार ४ सय ७८ मत रहेको छ।
त्यस्तै संघीय समाजवादी फोरमले १३ हजार ९ सय २६ मत पाएको छ। माओवादी केन्द्रको ४ हजार २ सय ६० मत रहेको छ । राप्रपाले ३ हजार ७ मत ल्याएको छ भने राजपाले १ हजार १ सय ६९ मत पाएको छ।
यो क्षेत्रमा एमाले- माओवादी गठवन्धनलाई हराउन राजपा-फोरमको चुनावी तालमेलले मात्र पुग्ने छैन। एमाले र माओवादीको मत जोड्दा यहाँ २३ हजार ८ सय ४७ मत पुग्छ। जबकी राजपा-फोरमको जम्मा मत १५ हजार ९५ मात्र पुग्छ।
कांग्रेस-राजपा-फोरमबीच चुनावी तालमेल भयो भने मात्र यहाँ यो गठवन्धनले जित्ने बलियो सम्भावना रहन्छ। यी तीन पार्टीको मत जोडदा भने २९ हजार ५ सय ७३ पुग्छ।
सिरहा-२ मा पनि एमालेको नै मत बढी छ। एमालेले १४ हजार ७ सय ६३ मत पाएको छ। दोश्रोमा रहेको कांग्रेसको १२ हजार १ सय ९३ मत रहेको छ। तेश्रोमा रहेको माओवादी केन्द्रले ११ हजार ४० मत रहेको छ।
एमाले र माओवादीको मत जोडदा यो गठवन्धन यहाँ पनि बलियो देखिएको छ किनभने यो क्षेत्रमा फोरमले ११ हजार ७ सय ८९ मत पाएको छ भने राजपाले २ हजार १ सय ९३ मत पाएको छ। यो क्षेत्रमा धनगढीमाई नगरपालिकाका १२ वटा वडा, सुखीपुर नगरपालिका लगायतका स्थानीय तह पर्छन्।
यो पनि हेर्नुहोस्:
सिरहा क्षेत्र-३ मा पनि एमाले नै बलियो रहेको तथ्यांकले देखाएको छ। स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा रहेका वडाहरुमा एमालेले १४ हजार ५ सय ६५ मत पाएको छ। संघीय समाजवादी फोरमको ११ हजार ४ सय ५३ मत छ। कांग्रेसले पाएको मत ११ हजार ४ सय ३९ छ भने माओवादी केन्द्रको ८ हजार ७ सय ३४ मत छ।
यहाँ राजपाको १ हजार ७ सय ५६ मत छ। लोकतान्त्रिक फोरम र राप्रपाले भने १ हजार मत पनि कटाएका छैनन्। सिराहा क्षेत्र ३ मा सिरहा , गोलबजार नगरपालिकाका १२ वटा वडा लगायतका स्थानीय तह पर्छन ।
यो क्षेत्रमा एमाले–माओवादी गठवन्धनसँग राजपा-फोरम प्रतिस्पर्धामा आउँदैनन्। अन्य सबै दल एक ठाँउमा आए मात्रै प्रतिस्पर्धा हुनेछ।
सिराहाको क्षेत्र नम्बर ४ मा मिर्चैया, कर्जन्हा नगरपालिका लगायतका स्थानीय तह पर्छन्। यो क्षेत्रका स्थानीय तहका वडाहरुको मतलाई आधार मन्ने हो भने माओवादी केन्द्र अगाडि छ।यहाँ माओवादी केन्द्रले १२ हजार ८ सय ७४ मत पाएको थियो भने एमालेले ११ हजार ५ सय ४० मत पाएको छ। फोरमले ८ हजार ७ सय ३३ मत,कांग्रेसले ७ हजार ६ सय ३ मत र राजपाले ६ हजार ५ सय ९६ मत पाएको छ ।
यो निर्वाचन क्षेत्रमा मुलत: गत संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जितेको सिराहा क्षेत्र नम्बर ५ पर्छ।
यहाँ पनि एमाले र माओवादीको मत मिलाउँदा अरु पार्टीभन्दा यो गठवन्धन नै बलियो देखिन्छ।
यी चारै निर्वाचन क्षेत्रका स्थानीय तहको चुनावमा खसेको मत परिणामले भन्छ- यो जिल्लामा एमाले-माओवादीको गठवन्धनले राजपा-फोरम गठवन्धनलाई सजिलै जित्ने सामर्थ्य राख्छ। राजपा-फोरमसँग कांग्रेस र अन्य पार्टीले चुनावी तालमेल गरे भने मात्र एमाले-माओवादी गठवन्धनलाई चुनौती थपिन्छ।