नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले आफ्नो पार्टीले सरकार छोडने निर्णय नलिएको स्पष्ट पारेका छन्।
उपप्रधानमन्त्री महराले पार्टीले एमालेसँग चुनावी तालमेल र एकीकरण गर्ने सहमति भएसँगै सरकारबाट हट्ने विषयमा छलफल र बहस भएपनि सरकारबाटै बाहिरिने निर्णय भने नलिइएको स्पष्ट पारे।
मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने सहमतिका साथ सरकारमा सहभागी भएकाले सो राष्ट्रिय कार्यभार पूरा गरेर मात्रै सरकारबाट हट्ने कुरा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइएको पनि स्मरण गराए।
उपप्रधानमन्त्री महराले पार्टीले निर्णय गरे एक मिनेट पनि सरकारमा नबस्ने पनि स्पष्ट पारे। उनले सत्ता साझेदार आफ्नो दलसँग छलफल समेत नगरी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना गरे।
प्रधानमन्त्री देउवाले एमालेसँग एकीकरण गर्ने सहमति भएयता माओवादी केन्द्रलाई सरकारबाट बाहिरिन दबाब दिने उद्देश्यका साथ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराएका थिए।