प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही वामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन्।
पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए।
प्रधानमन्त्री देउवाले भने, ‘कम्युनिष्टहरू प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ।’
प्रधानमन्त्री देउवाले लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन काँग्रेस एकजुट हुनुपर्ने बताए। ‘लोकतन्त्र सिध्याउनु भनेको काँग्रेसलाई सिध्याउनु हो,’ उनले भने।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेवि संघको जगमा उभिएको पार्टी भएकाले काँग्रेसलाई जोगाउने काम नेवि संघको भएको बताए।
‘पार्टी संकटमा परेको छ यसलाई जोगाउन नेवि संघ एक ढिक्का भएर अगाडि बढ्नुपर्छ,’– नेता पौडेलले भने।
उनले संसारबाट हराउँदै गएको कम्युनिष्ट व्यवस्था नेपालमा लागू हुननसक्ने बताए। ‘कम्युनिष्टहरूको कुनै आदर्श, मूल्य मान्यता र सिद्धान्त छैन,’– उनले भने। एक दलीय शासन लागू भए लोकतन्त्र र राष्ट्रियता खतरामा पर्ने उनको भनाइ थियो।
पार्टीका महामन्त्री डा शशांक कोइरालाले नेपालको लोकतन्त्रलाई समाप्त पार्न वाम गठबन्धन भएको बताए। उनले इतिहास, सिद्धान्त र कार्यकर्ता भएकाले काँग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गरे।
सूचना तथा सञ्चारमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन विद्यार्थीलाई आवश्यकताअनुसार परिचालन गनुपर्ने बताए।