नेकपा माओवादी केन्द्रले सरकार छाड्ने वा रहने भन्ने विषयमा आज निर्णय लिने भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकारबारे निर्णय लिने बताएका हुन्।
अखिल क्रान्तिकारीको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले राप्रपाबाट मन्त्री थप भएको अवस्थामा अब काँग्रेससँग छलफल गर्ने बताएका हुन्। ‘यो बीचमा प्रधानमन्त्रीले राप्रपाका नेताहरूलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ। हाम्रा मन्त्रीहरूको अवस्था के हुन्छ ? भन्ने चासो पनि व्यक्त हुन थालेको छ’, प्रचण्डले भने, ‘आजै प्रधानमन्त्रीसँग भेट्छु, उहाँले चाहेको के हो? त्यसैका आधारमा हामी निर्णयमा पुग्छौं।’
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले निर्वाचनसम्मको लागि काँग्रेसलाई सरकारमा समर्थन गरेको उल्लेख गर्दै अझैपनि सहमतिमा इमान्दार रहेको बताएका छन्। राप्रपाका मन्त्रीहरूलाई विनाविभागिय राखेर सरकारमा भित्र्याएका प्रधानमन्त्री देउवाले उसका मन्त्रीहरूलाई अझै मन्त्रालय दिएका छैनन्।
त्यसो त संसदबाटै प्रधानमन्त्री देउवाले केही दिन भित्रै मन्त्री घट्ने बताएका थिए। देउवाले माओवादी आफैँले सरकार छाडोस् भन्ने चाहना काँग्रेसका नेताहरूसँग राखेका थिए। राप्रपालाई भित्र्याएसँगै माओवादीलाई सरकार छाड्न देउवाले दबाब दिएका हुन्। स्रोतका अनुसार सरकारमा माओवादीको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महराले पनि सरकार छाड्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डलाई बताएका छन्।