नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज (सोमबार) पार्टी एकता हुने भएको छ।
लोकतान्त्रिक फोरमका महामन्त्री एवं पूर्वसांसद योगेन्द्र चौधरीले सेतोपाटीलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बिहान ११ बजे दुई पार्टीको एकता घोषणा हुनेछ।
आइतबार नै एकता घोषणाको तयारी गरिएको भए पनि नेताहरु समानुपातिकको बन्द सूचीका उम्मेदवार छान्न व्यस्त हुँदा समय अपुग भएको थियो।
चौधरीले उपप्रधान तथा संघीय मामिला मन्त्री विजयकुमार गच्छदार कांग्रेसमा जाँदा उपसभापतिको हैसियतमा जाने दाबी गरे।
फोरमले प्रत्यक्षतर्फ माग्यो ६ सिटआगामी मंसिर १० र २१ गते हुने केन्द्रीय संसदका लागि प्रत्यक्षतर्फ फोरमले कांग्रेससँग ६ सिट मागेको छ।
चौधरीका अनुसार कैलाली– १ मा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरी, २ मा रामजनम चौधरी र बर्दियामा गोपाल दहितलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु पर्ने फोरमको माग छ। त्यस्तै पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा र अर्का नेता मुस्ताफ आलमलाई रौतहटमा उम्मेदवार बनाउनु पर्ने फोरमको माग छ।
फोरमले दाङ –१ बाट महामन्त्री योगेन्द्र चौधरीलाई प्रत्यक्ष उम्मेदवार बनाउनु पर्ने माग गरेको छ। ‘यो हाम्रो प्रस्ताव मात्रै हो, अन्तिम टुंगो लाग्न अझै बाँकी छ,’ चौधरीले भने। पार्टी एक भएपछि गच्छदार कांग्रेसले उम्मेदवार छान्न बनाएको संसदीय बोर्डमा सहभागी हुन सम्भावना भएको उम्मेदवार चयनको विषयमा धेरै विवाद नहुने चौधरीले बताए।
फोरमले मागेका ६ मध्ये जनकराज चौधरी, रामजनम चौधरी, विजय गच्छदार र मुस्ताफ आलमले गत संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जितेका थिए।
उनले आफूले टिकट पाएमा दाङ –१ मा जित सुनिश्चित भएको दाबी गरे। ‘माओवादी केन्द्रबाट कृष्णबहादुर महारा र मेरा प्रतिपर्धा हुनेछ, तर मेरो ठाउँ भएकाले मैले जित्नेमा शंका छैन,’ चौधरीले भने।