प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार संसदको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष सामना गर्नुपर्यो।
देउवाले संसद अन्त्य हुनु ठिक अघि शनिबारै राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित ४ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रीमण्डल विस्तार गरेकोमा व्यंग्य गर्दै ओलीले संसद बैठकमा भने, 'मन्त्रीकै जुलुस गर्नुहुन्छ कि क्या हो? म प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु, तपाईंलाई थप मन्त्री किन चाहिएको हो? कुस्ती खेल्न त होइन होला?'
लगत्तै संसदको रोष्ट्रममा बोल्न पुगेका प्रधानमन्त्री देउवाले सुरुआतमा औपचारिक सम्बोधन गरे पनि ओलीको कटाक्षपूर्ण प्रश्नको जवाफ दिन चुकेनन्।
'संविधानमा संख्या यतिउति भन्या छैन,' देउवाले भने, 'तपाईं संख्या बढ्या कुरा गर्नुहुन्छ, घट्न पनि सक्छ, दुई-चार दिनमा थाहा पाउनुहुनेछ।'
एमालेसँगको गठवन्धनपछि सत्ता साझेदार माओवादी केन्द्रले सरकार छाड्ने शंकाबीच सुविधाजनक बहुमत कायम राख्न देउवाले अन्तिम समयमा मन्त्रिपरिषद विस्तार गरेको बालुवाटार स्रोतको भनाइ छ। माओवादीले शनिबारै बैठक गरेर तत्काल सरकार नछाड्ने निर्णय गरिसकेको छ। प्रधानमन्त्री देउवाले भने दुई-चार दिनमै मन्त्रीमण्डल संख्या घट्नसक्ने बताएर माओवादी सरकारबाट बाहिरिने संकेत गरेका छन्।
देउवा मन्त्रिपरिषदमा ८ मन्त्री थपेपछि ६४ मन्त्री पुगेका छन्।
ओलीले संसदको अन्तिम बैठकमा बोल्दै देउवालाई मन्त्रिपरिषद विस्तारका लागि राष्ट्रपतिसमक्ष पठाइएका नाम फिर्ता लिन आग्रह पनि गरे।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई आचारसंहिता विपरित मन्त्रिपरिषद विस्तार नगर्न सुझाव दिएको ओलीले बताए। 'मैले राष्ट्रपतिलाई भनेँ, आचारसंहिता विपरित मन्त्रिपरिषद विस्तारमा प्रतिपक्षको असहमति छ, विरोध छ,' उनले भने।
'प्रधानमन्त्रीज्यू आठ वटा नाम चिप्लिएर गएछन्, म फिर्ता लिनुहोस् भनी आग्रह गर्न चाहन्छु,' उनले भने, 'निर्वाचन गराउन ५६ मन्त्रीले पुगेन र?'
ओलीले ६ सय १ सदस्यीय संसदको १० प्रतिशतभन्दा ठूलो मन्त्रिपरिषद बनेको टिप्पणीसमेत गरे। 'कांग्रेसमा प्रतिशतको हिसाब बुझाइदिने कोही छैन? सभापतिलाई बुझाइदिनुहोस् न,' उनले भने।
ओलीले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने योजना भए/नभएको जिज्ञासासमेत राखे। 'माओवादी मन्त्रीलाई विनाविभागीय बनाउने योजना होला, छकाई छकाई किन गर्नुहुन्छ?' उनले प्रश्न गरे।
देउवाले आफ्नो सम्बोधन क्रममा ओलीको कटाक्षको जवाफ दिँदै 'एमालेले राष्ट्रपतिलाई मन्त्रिपरिषद विस्तारमा उचाल्न खोजेको' आरोप लगाए।
'म राष्ट्रपतिलाई धन्यवाद भन्न चाहन्छु, उहाँले संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गर्नुभएको छ,' देउवाले भने, 'दुई नम्बर प्रदेशको निर्वाचनअघि पनि सरकार परिवर्तन भयो। केही बोल्नुभएन। अहिले किन?'
आक्रोशपूर्ण अभिव्यक्ति दिएका देउवाले 'राष्ट्रपति जति उचाल्दा पनि नउचालिएको र निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारमा प्रश्न नउठाएको' मा खुसी व्यक्त गरे। 'प्रमुख निर्वाचन आयुक्तले मन्त्रिपरिषद विस्तारले निर्वाचनमा कुनै असर पर्दैन भन्नुभएको छ,' देउवाले भने, 'यसमा मेरो सम्मान छ।'
देउवाले मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सबै पक्षलाई निर्वाचनमा होमिन आग्रह गरे।
हेर्नुहोस्: