संविधानसभाबाट रुपान्तरित बनेको संसदको बैठक शनिबार अन्तिम पटक बस्ने भएको छ।
संविधान अनुसार नयाँ निर्वाचनको मनोनयसँगै संसद अन्त्य हुनेछ। निर्वाचन कार्यतालिका अनुसार आइतबार दलहरूले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउनेछन्।
संसदको शनिबारको बैठकअघि नेताहरूको २ बजे फोटो सेसन हुनेछ। त्यसपछि ३ बजेको बैठकमा प्रमुख दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्नेछन्। संसद सचिवालयले संसद भवन परिसरमा साँझ भोज समेत राखेको छ। बिदाईका बेला सांसदले बाटो खर्च समेत पाउनेछन्।
संसदमा हरेक सत्रको सुरूवात र अन्त्यमा सांसदलाई बाटो खर्च दिने प्रचलन छ। यसअघि सभामुखले अर्को सूचना नभएसम्मका लागि संसद बैठक आज अन्त्य गर्ने तयारी गरेकी थिईन्। तर, दलका नेताहरूले हार्दिकताका साथ नै शनिबार संसद बैठकको अन्त्य गरेर अगाडि जाने तयारी गरेका हुन्।
यसअघि दलहरूबीच निर्वाचन विषयमा संशयका कारण संसदको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने तयारीमा सभामुख थिइन्।भोलिको बैठकमा संसदका कुनै विधेयक पेश हुने छैनन्। संसदको व्यवस्थापन र विधेयक पास गर्ने हिसाबले भने आज अन्तिम बैठक हुने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए। संसद बैठकको अन्त्यसँगै सांसदहरू शनिबार राती देखि निर्वतमान हुनेछन्।