पटक-पटक मन्त्री भएका र पछिल्लो दुईपटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित कांग्रेसका प्रभावशाली नेता नरहरि आचार्य आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नै क्षेत्रबाट सिफारिसमा परेनन्।
काठमाडौं जिल्ला सभापति सबुज बानियाँले आचार्यको सिफारिस जिल्ला समितिमा नआएको पुष्टि गरे।
'हामीले क्षेत्रबाट जस्तो आएको थियो, त्यस्तै सिफारिस केन्द्रमा पठाएका हौं। उहाँको नाम क्षेत्रको सिफारिसमा थिएन,' उनले भने।
आचार्य अहिले पनि काठमाडौं क्षेत्र नम्बर ५ का सांसद र वर्षौंदेखि त्यहीँका बासिन्दा हुन्।
दुई वर्षअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्यु भएपछि उनको निवास महाराजगन्ज पुगेकै बेला आचार्यलाई ब्रेन ह्यामरेज भएको थियो। त्यसपछि उनी लामो समय अस्पताल र त्यसपछि बेडरेष्टमा थिए।
उनी आफ्नो दैनिक काम र राजनीतिमा फर्किएको एक वर्ष मात्र भयो।
उनको क्षेत्रबाट यसपालि रमेश खड्का, प्रेमबहादुर खड्का, श्रीविनोद भट्टराई र दामोदर खड्काको नाम सिफारिस भएर आएको छ।
मंसिरमा हुने चुनावका लागि सो क्षेत्रका धेरै वडा समितिले उनलाई सिफारिस गरेका थिए। तर, क्षेत्रीय समितिबाट भने उनको नाम काटियो।
धेरैपटक सांसद र मन्त्री भैसकेका, कांग्रेसभित्र पार्टीले निर्णय गर्नु धेरै अघिदेखि गणतन्त्रको वकालत गरेका र संविधान निर्माणबेला सुशील कोइराला नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी निभाएका आचार्यको नाम क्षेत्रीय समितिले नै काटेर उनीमाथि अन्याय भएको भन्दै कतिपय कांग्रेसजन असन्तुष्ट छन्।
काठमाडौं क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति रमेश खड्काले भने आचार्यले नै अनिच्छा देखाएपछि सिफारिस नगरिएको बताए।
'अमेरिका जानुअघि म उहाँलाई सोध्न गएको थिएँ। म पछि भन्छु भन्नु भयो, पछि कुरै गर्नुभएन। चुनावै लड्दिन भन्नुभएकै त होइन तर नयाँ साथीहरुले उठ्ने इच्छा देखाए म सहयोग गर्छु भन्नु भएको थियो,' उनले भने, ‘उहाँ बिरामी नै हुनुहुन्छ, किन सिफारिस गर्ने भनेर नाम काटिदिएको हो।'
आचार्य उपचारका लागि गत भदौमै अमेरिका गइसकेका छन्। उनी तिहारलगत्तै फर्किने उनका स्वकीय सचिव श्रीराम केसीले बताए।
उनले अमेरिका उडनुअघि प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवासँग भेट गरेका थिए। देउवालाई आफू प्रत्यक्ष निर्वाचनमा उठ्ने-नउठ्नेबारे उनले के भने भन्नेबारे जानकारी छैन।