प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिँदै जाँदा एमालेका अधिकांश नेताहरूले प्रत्येक प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने आकांक्षा देखाउन थालेका छन्।
नेकपा एमाले भित्रका केही आकांक्षीको नाम पनि सार्वजनिक भएको छ। पहिले केन्द्रका मन्त्री बनिसकेका कतिपय चर्चित नेताहरूले समेत प्रदेशको मुख्यमन्त्री बन्ने चाहना राखेका छन्।
एमालेबाट प्रदेश नम्बर १ मा पूर्वसञ्चारमन्त्री शेरधन राई र पूर्व पर्यटन मन्त्री भीम आचार्यले दाबी गरेका छन्। दुवैको नाम प्रदेश सभा सदस्य निर्वाचनका लागि सर्वसम्मत रूपमा सिफारिस पनि भएको छ। राई भोजपुर २ र आचार्य सुनसरी १(क)बाट सिफारिस भएका हुन्।
२ नम्बर प्रदेशमा एमालेको उपस्थिति कमजोर रहेकाले मुख्यमन्त्रीको उम्मेदवारबारे चर्चा भइरहेको छैन। नेताहरू सत्यनारायण मण्डल, नागेन्द्र चौधरी र रघुवीर महासेठलाई यहाँ मुख्यमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ।
राजधानी काठमाडौंसमेत रहेको प्रदेश नम्बर ३ मा भने कुनै नेताले खुलेर दाबी गरेका छैनन्। एक एमाले नेताका अनुसार राजेन्द्र पाण्डे र शेरबहादुर तामाङको नाम यो प्रदेशको मुख्यमन्त्रीका लागि चर्चामा छ। तर, दुवैको नाम प्रदेश सभाका लागि नभएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिफारिस भएको छ।
'उहाँहरूले इच्छा देखाए पनि प्रदेश सभाका लागि सिफारिस हुनुभएको छैन,' ती नेताले भने, '२६ गतेदेखि बस्ने पार्टीको बैठकले निर्णय गरेर उहाँहरूमध्ये एकजनालाई प्रदेश सभामा पठाउन सक्छ।'
२०७० को संविधान सभा निर्वाचनमा धादिङ-३ मा विजयी भएका सांसद राजेन्द्र पाण्डेको नाम कतैबाट सिफारिस भएको छैन। उनको नाम सिफारिस नभएपछि धादिङको उम्मेदवारी सिफारिस विवादित भएको छ। पाण्डेले केन्द्रीय समितिमा लिखित उजुरीसमेत दिएका छन्।
शेरबहादुर तामाङको नाम भने सिन्धुपाल्चोकबाट सिफारिस भएको छ।
प्रदेश नम्बर ४ मा विकास समिति सभापति रविन्द्र अधिकारीले इच्छा देखाइरहेका छन्। अधिकारीले इच्छा देखाए पनि उनको नाम भने प्रतिनिधि सभा निर्वाचनका लागि मात्रै सिफारिस भएपछि उनको सम्भावना कमजोर बनेको छ। अधिकारी कास्की क्षेत्र नम्बर २ बाट सर्वसम्मत सिफारिस भएको छ। प्रदेश सभामा भने उनको नाम सिफारिस भएको छैन।
उनले प्रदेशको विकासका लागि आफूले भूमिका खेल्न सक्ने भन्दै आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन पार्टीमा लबिङ गरिरहेका छन्। उनी पार्टीले मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेर पठाएमा प्रदेश सभा निर्वाचन लड्ने तयारीमा छन्। पृथ्वीसुब्बा गुरूङ र किरण गुरूङले पनि मुख्यमन्त्री बन्ने इच्छा राखेका छन्।
पृथ्वीसुब्बा लमजुङबाट आफूले चाहेजसरी उम्मेदवार बन्न पाउने गरी सिफारिस भएका छन्। प्रतिनिधि सभाको प्रत्यक्ष वा समानुपातिक वा प्रदेश सभाका लागि क्षेत्र नम्बर २ बाट निर्वाचन लड्न पाउने गरी उनी सिफारिस भएका हुन्। यी तीन विकल्पमध्ये जहाँ पनि उनी उम्मेदवार बन्न सक्ने छन्। यो सिफारिसले मुख्यमन्त्री बन्ने बाटो खुला राखेको छ।
यो प्रदेशको सबैभन्दा बलियो सम्भावना किरण गुरूङको छ। उनी तनहुँ क्षेत्र नम्बर २ बाट प्रदेश सभाका लागि सर्वसम्मत सिफारिस भएका छन्। यसले ४ नम्बर प्रदेशको मुख्यमन्त्रीमा उनको दाबी बलियो बनाएको छ। यी तीन नेतामध्ये किरण सबैभन्दा वरिष्ठ नेता भएकाले पनि उनको सम्भावना बलियो छ।
प्रदेश नम्बर पाँचमा भने कुनै पनि केन्द्रीय नेता प्रदेश सभाका लागि सिफारिस भएका छैनन्। यहाँको मुख्यमन्त्रीमा विष्णु पौडेल र गोकर्ण विष्टको नाम चर्चामा छ। पौडेलले प्रदेश सभा निर्वाचन लड्न अनिच्छा देखाएकाले विष्टलाई नै यहाँको बलियो दाबेदार मानिएको छ। तर, विष्टको पनि नाम गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको छ।
पार्टीले मुख्यमन्त्री बनाउने निर्णय गरे उनी प्रदेशमा जाने ‘मुड’मा छन्। ६ र ७ नम्बर प्रदेशमा भने माओवादीले मुख्यमन्त्री दाबी गरिरहेको एमाले स्रोतले जनाएको छ। स्थानीय तह निर्वाचनमा माओवादीले अन्यत्रको तुलनामा यही दुईवटा प्रदेशमा राम्रो मत ल्याएको थियो। तर, यी दुवै प्रदेशको स्थानीय निर्वाचनमा एमाले नै सबैभन्दा ठूलो दल बनेको छ।
६ नम्बर प्रदेशमा एमालेले मुख्य मन्त्री पाएमा प्रकाश ज्वालाले दाबी गरिरहेका छन्। यस्तै, ७ नम्बर प्रदेशमा गणशे ठगुन्ना र कर्णबहादुर थापाको नाम एमाले वृत्तमा चर्चामा छ।
आउने मंसिर १० र २१ मा हुने प्रदेश सभा निर्वाचनले मुलुकमै पहिलो पटक प्रदेश सरकार गठनको बाटो खोल्ने छ। मंसिर १० मा हुने निर्वाचनका लागि कात्तिक ५ र २१ मा हुने निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ। प्रदेशमा बहुमत ल्याउने दल वा गठबन्धनले प्रदेशको मुख्यमन्त्री निर्वाचित गर्ने छ।
उम्मेदवारीका विषयमा एमाले स्थायी समितिले २६ गते बिहिबारदेखि छलफल सुरू गर्ने एमाले स्रोतले जनाएको छ।
अहिले चर्चामा रहेका सबै केन्द्रीय सांसद भइसकेका व्यक्ति हुन्। उनीहरूमध्ये कतिपय त मन्त्रीसमेत भइसकेका छन्। त्यसैले, उनीहरूमध्ये को-को प्रदेश सभा निर्वाचनको उम्मेदवार बन्छन्, यसले एमालेको मुख्यमन्त्री उम्मेदवार पनि थाहा हुन्छ।