नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले मंगलबार चुनावी तालमेल र त्यसपछि विधिवत् पार्टी एकीकरणको घोषणा गर्दा पाँच पूर्व प्रधानमन्त्री एउटै मञ्चमा थिए।
दुईपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई मञ्चमा लहरै बसे। मञ्च व्यवस्थपन एमाले कार्यलय सचिवसमेत रहेका कृष्णगोपाल श्रेष्ठले गरे। सुरुमा मञ्चको अघि र पछि सिट राखिएको थियो। नेताहरु आएपछि श्रेष्ठले सबैलाई एउटै लहरमा राख्ने व्यवस्था मिलाए।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल सहमतिपत्र हस्ताक्षर गर्ने बेला मात्र मञ्चमा आइपुगेका थिए। पार्टी एकीकरणका लागि बनाइएको संयोजन समितिमा खनाललाई समावेश गरिएको छैन। अन्य चार जना पूर्व प्रधानमन्त्री भने समितिमा छन्।
कार्यक्रम सञ्चालन एमाले उपमहासचिव विष्णु पौडेलले गरे। तीन दलबीचको छबुँदे सहमतिपत्र भने गृहमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माले वाचन गरेर सुनाए।
पौडेलले एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल र नयाँ शक्तिका संयोजक भट्टराईलाई पालैपालो आसन ग्रहण गराए। आसन ग्रहण निम्ति आग्रह गर्दा भट्टराईले मुठी बटारेर लालसलाम गरे। हलमा ताली गुञ्जियो। कार्यक्रम सुरु भएपछि बल्ल ब्यानरको फ्लेक्स टाँसियो।
खचाखच भरिएको कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा केही नेताहरु कुर्सी नपाएर उभिएका थिए। केही कार्यकर्ता दसैंको रातो टीका र जमरा लगाएरै सहभागी भएका देखिन्थे।
सहमतिपत्र साटासाटसहमतिपत्र हस्ताक्षरपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले एकअर्काले हस्ताक्षर गरेको प्रति आदानप्रदान गरेका थिए। त्यसलगत्तै ओलीले दाहालले हस्ताक्षर गरेको प्रति बाबुराम भट्टराईलाई दिए र उनको हातमा भएको प्रति आफूसँग राखे। भट्टराईले आफूसँग भएको प्रति दाहाललाई दिए र दाहालसँग भएको प्रति आफूसँग राखे।
ओलीको दायाँ भट्टराई र बायाँ दाहाल बसेका थिए। ओलीलाई बीचमा राखेर माओवादीबाट छुट्टिएका भट्टराई र दाहालले सहमति साटासाट गर्दा समारोहमा सहभागीले ताली बजाएका थिए।
सहमतिपत्र हस्ताक्षरसँगै नेताहरुले हात मिलाए। हात उचालेर एकता प्रदर्शन गरे। माओवादी केन्द्रका नेता तथा यो सहमतिमा मुख्य भूमिका खेलेका नारायणकाजी श्रेष्ठले अगाडि बसेका सबै नेतासँग हात मिलाउन भ्याए। उनी यो सहमतिबाट सबभन्दा खुसी देखिन्थे।
हँसाउन भुलेनन् ओलीलेराजनीतिक व्यंग्य र वाकपटुतामा चतुर एमाले अध्यक्ष ओलीले पार्टी एकता कार्यक्रममा पनि हँसाउन भुलेनन्।
उनले तीन पार्टीबीचको एकताले कतै निन्द्राको ट्याबलेट बढी बिक्ने हो कि भन्ने आफूलाई डर रहेको बताए। ओलीले कांग्रेस लक्षित व्यंग्य गरिरहँदा चुनावी मुखमा एकताको सहमतिबाट उत्साहित नेता कार्यकर्तामा हाँसो फैलिएको थियो। ओलीले देशको जन्मकुण्डलीमा २०७४ सालमा देशभक्त वामपन्थी सरकार बन्ने लेखेकाले कसैले मेट्न नसक्ने दाबी गरे।
पुसपछि रातको समय समेत दिदीबहिनी राति एक्लै हिँड्न सक्ने वातावरण बन्ने गरी अवाञ्छित गतिविधि नयाँ सरकारले रोक्ने ओलीको दाबी थियो।
तालमेल कांग्रेसविरुद्ध होइन, निरन्तरतामा क्रमभंगता: दाहालमाओवादी अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएजस्तै पार्टी एकताको सहमतिलाई निरन्तरताको क्रमभंगताको उपमा दिए।
उनले दस वर्षअघि समेत एकताको गृहकार्य भएको उल्लेख गर्दै अहिले अधुरो काम पूरा गरेको बताए। उनले वस्तुगत आवश्यकता र मनोगत चाहना मिलेपछि बल्ल एकताका लागि समय आइपुगेको उल्लेख गरे।
दाहालले तालमेल कसैका विरुद्ध परिलक्षित नभएको स्पष्ट पारे। 'यो स्वाधिनता र समृद्धिको पक्षमा छ,' उनले भने, 'लोकतान्त्रिक शक्ति र परिवर्तन पक्षधर शक्तिसँग तालमेल हुनसक्छ।' उनले मधेसकेन्द्रित दलहरुसँग पनि तालमेल गर्न सकिने बताए।
एकता र तालमेल घोषणा कांग्रेसविरुद्ध नभएको उल्लेख गर्दै उनले निर्वाचन प्रयोजनका लागि राजनीतिक उद्देश्यले एकता प्रक्रिया अघि बढेको उल्लेख गरे। एकता प्रक्रियामा चुनौती र समस्या आउन सक्ने भए पनि एकतापछि समृद्ध समाजको मोडल बन्न सक्ने उनले बताए।
भट्टराईको उद्घोष – समृद्धिका लागि एकतानयाँ शक्तिका संयोजक भट्टराईले पार्टी एकता समृद्धि लक्षित रहेको बताए।
एउटा पुस्ताले मुलुकको एकीकरण गरेको, अर्को पुस्ताले मुलुकलाई लोकतान्त्रीकरण गरेको र यो पुस्ताले समृद्ध बनाउने उनको भनाइ थियो। उनले निर्वाचनमा दुईतिहाइका साथ प्रत्यक्ष निर्वाचित प्रणाली स्थापना गर्नुपर्ने बताए।
बाबुराम सूर्य चिह्नका उम्मेदवारएमाले अध्यक्ष ओलीले बाबुराम भट्टराई प्रतिनिधि सभा निर्वाचनमा सूर्य चुनाव चिह्न लिएर सहभागी हुने उद्घोष गरे। यो घोषणाले हलमा ताली गुञ्जियो भने मञ्चमा बसेका भट्टराई मुस्कुराए।
उनले ह्रदयेश त्रिपाठी सूर्य चिह्नमा उम्मेदवार बन्न लागेको प्रसंग पनि कोट्याए। माओवादी केन्द्रका नेता पनि सूर्य चिह्नबाट चुनाव उठ्न कानुनी अप्ठेरो हल गर्ने तयारी भइरहेको उनले उल्लेख गरे। 'सूर्य यस्तो चिज हो जुन यसको खेतमा लाग्छु उसको खेतमा लाग्दिनँ भन्दैन,' ओलीले आफ्नो पार्टीको चुनाव चिह्नको प्रचारसमेत गर्न भ्याए।
'जनयुद्ध'का सहिद सम्झिए दाहालले, सहिद मात्र भने ओलीलेमाओवादी केन्द्रका अध्यक्ष दाहालले 'जनयुद्ध'का सहिद र सम्पूर्ण सहिद भन्दै बेपत्ता योद्धालाई समेत सम्झिए। एमाले अध्यक्ष ओलीले भने सहिदहरुलाई सम्झिए। ओलीले माओवादी कार्यकर्तालाई कतै पार्टीले क्रान्तिकारी र जुझारुपन छाड्यो कि भन्ने लागेको भए त्यो भ्रम नराख्न आग्रह गरे। भने, 'कसैले केही छाडेको छैन। एमालेले पनि क्रान्तिकारी, जुझारुपनसँगै जिम्मेवार भूमिका छाडेको छैन।'
एकतामा दाहालको कम, बढी ओलीको जोडपार्टी एकताको विषयमा दाहाल कम बोले। उनले इतिहासको आवश्यकता भएको उल्लेख गर्दै राष्ट्रिय सहमतिको प्रयास यथावत् राख्नुपर्ने बताए।
ओलीले भने आफ्नो पार्टीको नाम हालसम्म नेकपा एमाले रहे पनि भविष्यमा अर्कै हुनसक्ने उल्लेख गरे। दाहालले एकतामा भविष्यमा चुनौती आउन सक्ने बताए। ओलीले भने कार्यकर्तालाई एकता प्रक्रियाबाट उत्साहित र खुसी रहन आग्रह गरे। उनले माओवादी केन्द्र र नयाँ शक्तिका कार्यकर्तालाई समेत खुसी हुन आग्रह गरे। उनले कहिले देश बनाउन त कहिले देश बचाउन कम्युनिस्ट पार्टीहरु एक भएको उल्लेख गरे।
'बडी ल्याङ्ग्वेज' देखाए ओलीलेकार्यक्रमको अन्तिम वक्तासमेत रहेका एमाले अध्यक्ष ओलीले एकताको सहमतिपछि नेताहरुको 'बडी ल्याङ्ग्वेज' हेर्न सुझाए।
नेताहरुले कोट मिलाए र मुस्कुराए। ओलीले मञ्चमा बसेका नेताहरुतर्फ इसारा गर्दै सबै उत्साहित रहेको देखाए।